काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
मुद्दा दर्ता भइसकेकाले मंगलबार अदालतले बयान लिने र पुर्पक्षका लागि थुनामा पठाउने वा अन्य आदेश गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखले जानकारी दिए ।
प्रसाईंले महिलामाथि गरेका अभद्र टिप्पणी युटुब च्यानलसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐनको उल्लंघन गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।
नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरी बुझाइको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलले मुद्दा दायर गरेको हो । मागदाबी ठहर भए अदालतबाट प्रसाईंलाई पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।