
स्तूपको विकास क्रम भनुं वा बौद्ध कलाको विकास भनुं बुद्ध वचन सर्वप्रथम शारिपुत्र र मौद्गल्यायनको संस्मृतिमा वहाँहरूको अस्थि धातु राखी स्तूप प्रतिष्ठापन हुँदा बौद्ध दर्शनमा सर्वप्रथम वास्तुकलाको सूत्रपात भयो भने श्री भगवान् बुद्धकै अस्थिधातु राखी विभिन्न राज्यमा स्तूप बनाइँदा महान् व्यक्तिहरूको अस्थि धातु राखी वहाँहरूको स्मृतिमा स्तूप निर्माण गर्नु अक्षय पूण्य संचित गर्नु हो भन्ने श्रद्धा जनमानसमा तीव्र रूपले उत्पन्न हुन थाले । यहाँ एउटा स्मरणीय कुरा के छ भने भगवान् बुद्धले आफ्नो अस्थिधातु राखी स्तूप बनाउनु भनी आज्ञा हुँदा तथा शारिपुत्र मौद्गल्यायनको स्मृतिमा उहाँहरूको अस्थिधातु राखी चैत्य बनाउनु उपयुक्त छ भनी बनाउने आज्ञा हुँदा त्यहाँ उपस्थित कसैले पनि स्तूप कसरी बनाइन्छ भनी प्रश्न नगर्नुबाट बुद्धभन्दा अगाडि वैदिककालमा पनि स्तूपको प्रचलन रहेछ भन्ने कुरा स्पष्ट हुन आउँछ । तथा स्तूप एउटा सुपरिचित, सर्व प्रख्यात स्मारक रहेछ भन्ने कुरा ज्ञात हुन्छ ।
वैदिक युगका स्तूपहरूको चर्चा विभिन्न साहित्यिक स्रोतहरूबाट उपलब्ध गर्न सकिन्छ । अत: वैदिक युगमा स्तूप एउटा एकदम जनसमाजमा सुपरिचत वस्तुको रूपमा लिन सकिन्छ । वेदमा स्तूपलाई हिरण्य गर्भ भन्ने उल्लेख गरेको पाइन्छ । वैदिक साहित्य अनुसार यूपको अर्थ बली रहेको ज्वाला र सूर्यको किरण भन्ने बुझिन्छ । संस्कृत भाषामा ‘यूप’ भनेको मौलो हो । “यूप” शब्दबाटै स्तूप शब्द बनेको हुनुपर्छ भन्ने धेरै विद्वान्हरूको विचार छ । वैदिक कालमा मानिस मर्दा गाड्ने वा जलाउने दुवै प्रचलन थिए । विशिष्ट व्यक्ति जस्तै राजा महाराजा, साधु-सन्त आदि मर्दा गाड्ने वा उनीहरूको शरीर जलाई बाँकी हुन आएको अस्थिधातु खरानी गाडेर पुरेको भागमा मण्डलाकार ढिस्को जस्तो बनाई त्यसको मध्यभागमा एउटा बाँस वा सल्लाको काठ (यूप) गाड्ने चलन थियो । वस्तुत: स्तूपको प्राचीन रूप यही होला भनी किटान गर्नुपर्ने देखिन्छ ।
यति मात्र होइन, अद्यापि हाम्रो देशमा हिन्दू संस्कृति र धर्ममा आस्था राख्ने ब्राह्मण, राई, लिम्बु, मगर जातिका व्यक्तिहरू मर्दा ढिकुरो बचाउने भनी मृतआत्माको लाश वा अस्थिधातु (खरानी) गाडेको ठाउँमा ईंटाले घेरी मण्डलाकार पारी माटाले पूरी ढिस्को बनाई त्यसको मध्य भागमा बाँस वा सल्लोको यूप
(मौलो) गाडी मृतआत्मालाई दशदिनसम्म वास गर्न दिने प्रचलन छ । दशौ दिनमा त्यो ढिस्को ( ढिकुरो) लाई विगारिन्छ । अतः यो ढिकूरो वा ढिस्को स्तूपकै प्रतिकृति हो । एउटा प्रारूप हो । वैदिक युगमा सनातन हिन्दुहरूले विशिष्ट व्यक्तिहरूको स्तूप बनाउने प्रचलन चलाए भने हिन्दू धर्मावलम्बी ब्राह्मण, क्षेत्री, मगर, राई, लिम्बु आदिले मृत व्यक्तिको चिरशान्तिको लागि अस्थायी स्तूप (ढिकूरो) बनाउने प्रचलन चलाएको देखिन्छ । तर बौद्ध धर्मावलम्बीहरूले बुद्धबचनअनुसार सम्यक संबुद्ध, र अर्हतहरूका स्थायी स्तूप बनाई पवित्र स्मारकका रूपमा अपार श्रद्धा एवं भक्तिपूर्वक पूजा आजा गरी आदर भाव गर्दै आएको देखिन्छ ।
अपार प्राणी हत्या गरेर कलिंगको युद्धमा विजय हासिल गरी सम्राट बनेको अशोकलाई यस विजयबाट कुनै सुख, सन्तोष, तृप्ति एवं शान्तिको अनुभूति भएन । अन्तमा शान्ति प्राप्तिका लागि उनी बुद्ध, धर्म, संघको `शरणमा लागे । सम्राट् अशोकले बुद्ध धर्मको शरणमा लागेपछि बुद्ध भगवान्का अस्थिधातु राखी निर्माण गरिएका स्तूपहरू भत्काई ती अस्थिधातुहरू चौरासी हजार टुक्रामा विभाजन गरी प्रत्येक स्तूपको गर्भगृहमा भगवान्को अस्थिधातु राखी चौराशी हजारै स्तूप चैत्यहरू विभिन्न देशहरूमा निर्माण गरे । यस ऐतिहासिक तथ्यबाट के स्पष्ट हुन्छ भने सम्राट अशोकले यति धेरै चैत्यहरू बनाई बुद्ध दर्शनको प्रसार प्रचार गरी आफ्नो पाप पखाली प्रायश्चित गरेको मात्र नभई स्तूप निर्माण गर्दै बौद्ध धर्म र कला संस्कृतिको विकासमा पनि अत्यन्त ठूलो योगदान पुयाएको मान्नु पर्छ । उनले यसरी बौद्ध दर्शनप्रति अपार श्रद्धा नदेखाएको भए बौद्ध धर्म भारत बाहेक जम्बुद्वीपका अरू देशमा मुस्कीलले मात्र प्रसार प्रचार हुने कुरा निर्विवाद छ ।
नेपाल अधिराज्यको ललितपुर, पिपरहवा, भिसुवा, निग्लीहवा आदि ठाउँमा पाइएका स्तूपहरू पनि सम्राट् अशोककै देन सम्झनु पर्छ । यी बाहेक काठमाडौँको विभिन्न विहारमा अशोक चैत्यका नामले पुकारिने स-साना चैत्यहरू धेरै नै उपलब्ध छन् ।
पिपरहवा आदि जिल्लामा पाइएका स्तूपहरू पूर्णरूपले बनाइएको देखिन्छ भने ललितपुर जिल्लाको लगन, पुल्चोकमा प्रतिष्ठापित स्तूपहरू केवल माटाको ढीस्को आकारमा देखिन्छ । हुनत तक्षशिलाको धर्मराजिका स्तूप (चि.नं. ११) पनि लगन, पुल्चोकमा जस्तै माटोको ढिस्कोलाई ईंटाले घेरी बनाएको जस्तो मात्र देखिन्छ । यसमा छत्र, वर्षाथालक, गजूर, बुद्धमूर्ति आदि केही पनि राखिएको पाईंदैन । अतः विद्वान्हरूको भनाइ अनुसार ती ललितपुरका स्तूपहरूमा पनि शुरु शुरुमा अहिले जस्तो चारै दिशामा ध्यानी मूर्तिहरू स्थापना गरेका छैनन् होला भन्ने ज्ञात हुन्छ । यी मूर्तिहरू पछि मात्र स्थापना गरिएका होला भन्ने विचार उठ्नु स्वभाविक छ । किनभने पुल्चोकको स्थुरोको गजूर त्रयोदश भूवन अंकित भएपनि क्रियासंग्रहमा वर्णन गरे जस्तै | केवल चारपाटे (कोणावली ) तह मात्र देखिन्छ । यष्टीको टुप्पोमा, कर्णिका एवं मणि जस्तो मात्र देखिन्छ । अरू कलात्मक छत्रहरू पनि देखिदैन । साँचीमा अवस्थित ई.पू. पहिलो शताव्दीमा अशोक सम्राट्ले बनाएको ईटावाट निर्मित स्तूपमा पनि यस्तै गजूर, कर्णिका, छत्र आदि केही प्रयोग भएको देखिदैन । तर स-सानो तीनतह भुवन भने हर्मिकाको माथि सजाइएको देखिन्छ ।

त्यस्तै सारनाथको सिलिन्डर आकार, वर्तुलाकार धामेख स्तूप (चि.नं. ४) पनि इंटै ईंटाले बनाइएको गजूर, छत्र नभएको स्तूप हो । ६०० A. D. मा बनेको यो स्तूपमा पनि छवटा ग्वाखंप्वा (खोपा) राखिएको छ । शायद बुद्धमूर्ति स्थापना गर्ने उद्देश्यले वा दार्शनिक उद्देश्यले ती खोपा राखेको हुनुपर्ने विद्वान्हरूको विचार छ । खोपाको हिसाबले विचार गर्दा बुद्धगयाको गुप्तकालमा बनेको मन्दिरमा पनि यस्तै धेरै खोपाहरू समावेश गरिएका छन् । धेरै पल्ट जीर्णोद्धार भइसकेको यो मन्दिरमा त्रयोदश भुवन जस्तो देखिने तह र आम्लासारक स्पष्टसँग राखिएको देखिन्छ ।तत्कालीन बौद्ध समाजमा क्रिया समुच्चय र क्रियासंग्रहमा बताइए अनुसारका चैत्य लक्षण एवं चैत्य निर्माण गर्ने परिपाटी अवश्य छैन होला । किनभने बुद्धको परिनिर्वाण भएको सवा दुईशय वर्ष पछि सम्राट् अशोकले बुद्ध धर्म अपनाएका थिए । सम्राट् अशोकका गुरु मोग्गलिपुत्त तिस्स त्यसवेला आर्यस्थविरवादीहरूका संघ स्थविर थिए । यिनै संघ स्थविरको सल्लाहमा अशोकले बुद्ध धर्म पश्चिममा यवन राजाहरूको राज्य ग्रीस, मिश्र, सिरिया आदि देशमा समेत प्रचार गरे भने दक्षिणमा ताम्रपर्णी (श्रीलंका) र सुवर्ण भूमि (वर्मा), उत्तरमा समस्त मध्य एशिया सम्म पनि प्रचार गरेका थिए ।
इशाको प्रथम शताब्दी तिर महायान बौद्ध धर्मको उत्थान हुन थाले । नागार्जुन, वसुबन्धु, असंङ्ग आदि विद्वान्हरूको जन्म हुन थाले । अष्टसाहस्रिका प्रज्ञापारमिता आदि नव सूत्रहरूको रचना हुन थाले । यी ग्रन्थहरूले आफ्नो मुक्ति भन्दा जगत सत्वको मुक्तिका लागि प्रयत्न गर्नुपर्छ भन्ने भाव व्यक्त गर्न थाले । भगवान् बुद्धका अलौकिक चरित्र उनीहरूलाई प्रिय हुन थाले । “बुद्धो भवेयं जगतो हितायको’ सिद्धान्त जोरजुलुमले प्रचार हुन थाले । बुद्ध धर्म विस्तारै भक्तिवादी मार्गको रूप लिन थाले । अनि विस्तारै गृहस्थीहरूको भावना र प्रवृत्तिमा सुधार ल्याउन नव सूत्रग्रन्थ मध्ये एक सूत्रग्रन्थ सद्धर्म पुण्डरीकाको प्रचार हुन थाले । उक्त ग्रन्थको उपायकौशल्य परिवर्तमा धूलो वा बालुवाको चैत्य बनाई खेल्ने अज्ञानी बालक पनि चैत्य बनाएको पुण्यले भविष्यमा बुद्ध हुनेछ भनी भगवान्को मुखारविन्दबाट भविष्य वाचन गराई चैत्य बनाउन दिन ठूलो हौसला दिएको देखिन्छ । अनि फेरि सद्धर्मपुण्डरीकाले ( सद्धर्मराज बज्रचार्य अ – सद्धर्मपुण्डरीका वैपुल्य सुत्रंम् पृ. ६३ )बुद्ध मूर्ति भित्तामा लेखी पूजा पाठ मात्र गरे भने पनि अपार पुण्य लाभ हुन्छ भनी बुद्धमूर्ति एवं प्रतिमा बनाउन पनि त्यत्तिकै जागरुक बनाएको पाइन्छ | जस्तै-
पुष्पेण चैकेनाऽपि पूजयित्वा आलेख भित्तौ सुगतानविम्वम् ।
विक्षिप्तचित्ताऽपि च पूजयित्वा अनुपूर्वं द्रक्ष्यति बुद्धस्कोट्यः ॥
२/९४
नवसूत्र ग्रन्थ मध्येका सद्धर्म पुण्डरिका एवं ललितविस्तर सूत्र महायान सिद्धान्तका प्रतिपादक सूत्रहरू हुन् । बौद्ध कलाको आविष्कारको साथसाथै यी दुइटै ग्रन्थले सजिलैसँग मोक्ष प्राप्त गर्न सक्ने उपाय बताएपछि बुद्धमूर्तिको निर्माण प्रचुर मात्रामा हुन थालेको अनुभूति हुन्छ । यी सूत्र ग्रन्थले बालुवादेखि ढुंगा, माटो, काठ, तामा, पित्तल, सुन, चाँदी जुनसुकै वस्तुबाट पनि बुद्ध मूर्ति एवं चैत्य बनाउनु उपयुक्त छ भनी आह्वान गरे स्वरूप तत्कालीन शिल्पी तथा कलाकर्मीहरूमा यस्तो जोश र जाँगर भरिदियो कि अजन्ता अलोराका गुफाहरूका भित्तामा कल्पनातीत दिव्य बौद्ध मूर्तिहरू कुँदिए जुन बौद्ध कलाहरू आज पनि संसारमा अद्वितीय मानिन्छन् ।
हाम्रा यी नव व्याकरण सूत्र वा नवसूत्र ग्रन्थहरूको माध्यमबाट संसारमा महायान बौद्ध दर्शन मात्र प्रसार प्रचार भएको होइन, बौद्ध कला संस्कृतिलाई फष्टाउन प्रमुख आधारशिला नै भइदिएका छन् । यसको ज्वलन्त प्रमाण हुन् हामी कहाँ विद्यमान प्रशस्त मात्रामा पाइने चैत्य, स्तूप र बुद्ध बोधिसत्वका मूर्तिहरू । पुल्चोकको स्तूप थुवेमा त्रयोदश भुवन अंकित गजूर समावेश गरेको छैन तर चारकुने तहहरूले कोणावली शैलीको त्रयोदश भुवनकै प्रतिनिधि गरे जस्तो देखिन्छ । हुनत यसमा चक्षुर्युक्त हर्मिका, हलपौ (तोरण) आम्लशारक पनि समावेश गरिएका छैनन् । यस थुवेमा केवल यष्टिको टुप्पोमा मणि कर्णिका मात्र प्रयोग गरेको देखिन्छ । अतः सीधा र सरल ढंगले बनाइएको यस स्तूपमा प्रतिष्ठापित बुद्धहरू पनि पछि मात्रै राखिएको कुरा स्पष्ट हुन आउँछ । पुरातन स्तूपको अनिवार्य अंग माटोको ढिस्को र यष्टि नै हो भन्दा अत्युक्ति नहोला किनभने तक्षशिलाको धर्मराजिक स्तूप ( चि.नं. ११) पनि ललितपुरको स्तूप जस्तै देखिन्छ ।
वास्तवमा शास्त्रीय ढंगले चैत्य बनाउने विविध, विधि र चैत्यका प्रकारहरू क्रिया समुच्चयमा र क्रिया संग्रहमा वर्णन नगरिएका होइनन् । तर ती शास्त्रोक्त विधिअनुसार बनाइएका चैत्यहरू हाल कहाँ कहाँ पाइन्छन् अनुसन्धान गर्नुपर्ने समय आएको छ । शास्त्रीय परम्परा भन्दा आ-आफ्नो श्रद्धाअनुसार चैत्यहरू बनाउने परिपाटीले गर्दा नै चैत्यको आकार प्रकारमा विविधता देखिएका हुन् ।
क्रिया समुच्चयको ११९ पृष्ठमा चैत्य लक्षण प्रकरणमा चार प्रकारका चैत्यहरूको वर्गीकरण गरिएका छन् जस्तै: “चैत्यं तु कुम्भ, कलशं, धान्यराशि, लताख्य भेदाद्यथासंख्यम् ठकाराकृति, चूडिका, खगाण्ड तिलसंनिभम्” अर्थात् कुम्भ चैत्य ‘ठ’ कार जस्तो गोल, कलश चैत्य चूडिका जस्तो, धान्यराशी चैत्य चराको अण्डा जस्तो अण्डाकार र लताख्य चैत्य तिल जस्तो आकारको हुन्छ भनेका छन् । तर थी उपर्युक्त आकारका चैत्यहरू हाल नेपालमा कहिंकतै भेटिदैन भनूं वा हामीले चिन्न असमर्थ भयौं यो विचारणीय छ ।
त्यस्तै आचार्य कुलदत्त कृत क्रिया संग्रह पंजिकाको धर्मधातु लक्षणमा पनि धान्याकृति पात्राकृति खगाण्डाकृति र कलशाकृति गरी चारप्रकारका चैत्यहरूको निर्माण विधि एवं भिन्नाभिन्नै चैत्यको भिन्नाभिन्नै उचाई, अर्थविशुद्धि पनि सविस्तार वर्णन गरेको छ । जुन माथि विभिन्न ग्रन्थहरू र चैत्य लक्षण विधिमा वर्णन गरिएका छन् । शायद आचार्य कुलदत्तले दिएका यी नाप नक्सालाई आधार मानेर चैत्यहरूलाई नियालेर हेरेमा यी पुरातन चैत्यहरू चिन्न सजिलो नहोला भन्न सकिन्न ।
ललितपुर जिल्लाको चारै दिशामा पाइने सम्राट् अशोक निर्मित (स्यूरो) हरूलाई हेर्दा धान थुपारिएको जस्तो देखिन्छ । धान्य राशि चैत्य मान्दै आएका छन् । तर क्रियासमुच्चय अनुसार सो कुरा विल्कूल मिल्दैन । कारण धान्यराशि चैत्य खगाण्ड (चराको फल) आकारको हुन्छ भनिएका छन् ।
बुद्धकालीन मात्र होइन, सम्राट अशोक कालीन समाजमा पनि क्रियासमुच्चयमा वर्णित यी चार विभेदका चैत्यहरूको निर्माण असंभव छ । त्यति बेला केवल स्तूप अर्थात् स्थूरोको आकारमा धातुगर्भ चैत्य मात्र बनाउने प्रचलन थिए होला ।
यही पुरातन स्तूपको शैली र परम्परागत संस्कृतिको अनुगमन गर्न नै ढुङ्गाको चैत्य बनाउँदा पनि अनिवार्य रूपले स्थूरोको प्रतिकृति स्वरूप अर्ध गोलाकार गर्भगृह अनिवार्यरूपले राख्ने प्रचलन चलाएको देखिन्छ । हाल आएर चैत्य भन्नासाथ झ्वाट्ट हामीलाई गर्भगृह र गजूरको आवश्यकता महसुस हुन थालेको छ ।
स्तूपको प्रतिकृति स्वरूप गर्भगृह राख्ने प्रचलनले बुद्धवचनलाई अक्षरश अनुसरण गर्दै आइरहेको तथ्यलाई हामीले विर्सनु हुँदैन । श्रद्धानुसार आकार प्रकार डिजाइन आदिमा जस्तो सुकै परिवर्तन र विकास गरिंदै लगे पनि चैत्य भन्नासाथ अनिवार्यरुपले अर्धगोलाकार गर्भगृह र गजूर राखिदै आएको शैली, संस्कृति र प्रचलनलाई कदापि त्याग्नु हुँदैन । कलाकर्मी एवं श्रद्धालु भक्तहरूले चैत्यको यो संवेदनशील पक्षलाई सधैं मनन गर्नु आवश्यक । साँचै भनु भ सुरु सुरुमा गजूर राख्ने प्रचलन नहुँदा ईटाले घेरेर बनाइएका परिधिमा माटो पुरेर बनाइएको ढिस्कोको बिचमा केवल यष्टि ठड्याइ स्तूप बनाउने प्रचलन चलाएका होलान् । तदनन्तर इंटाले स्थायी स्तूप बनाउने प्रचलन चले होला जसको ज्वलन्त प्रमाण हुन् अशोक कालीन स्तूपहरू । वज्रयानको प्रादुर्भावको साथ साथै मात्र त्रयोदश भुवन युक्त गजूर, आम्लशारक (वर्षाथालक), पदमकर्णिका वा मणि र पंचबुद्धको संकेत चिन्ह सहितको हलपौं (तोरण) राख्ने प्रचलन चले होला ।








