
“चरथ भिक्खवे चारिकां बहुजन हिताय बहुजन सुखाय” भन्ने महान उद्देश्य राखी अभ्युदय भएको बौद्ध दर्शन एउटा छुट्टै मान्यता र दिशा बोध गराउने दर्शन हो । यो दर्शनको आविष्कार धर्मान्धतालाई हटाउन र मानवीयतालाई जोगाउन नै भएको मान्नु पर्छ । तत्कालीन समाजमा रहेको कुरीति र कुसंस्कारको विद्रोह गर्दै सच्चा नागरिक उत्पादन गर्ने उद्देश्यले नै भगवान् बुद्धले चतुः आर्यसत्यको आविष्कार गरी बौद्धदर्शनको महनीय पक्ष द्वादशाङ्ग प्रतीत्य- समुत्पादको देशना गर्नु भयो । अनित्य दु:ख, अनात्मको ज्ञान दिनु भयो । यसबाट भगवान् शाक्यसिंह तथागतले आफ्नो दर्शनको मौलिक विशेषतालाई मात्र वैज्ञानिक ढंगले स्पष्ट पार्न सफल भएको होइन, सच्चा नैतिकवान् नागरिकहरू बनाउन पनि त्यत्तिकै सफल भएको देखिन्छ ।
शान्तिपूर्ण जीवन बिताउन चाहने व्यक्ति गृहस्थ होस् या ब्रम्हचारी जो सुकैले पनि भगवान् बुद्धको नैतिक शिक्षाले ओतप्रोत यो बुद्धधर्मलाई पालना गर्नु अति उत्तम छ । बौद्ध दर्शनको यही महनीयपक्षलाई महसुस गरेरै त्यतिबेला बहुसंख्यक जनताहरू कोही गृहत्याग गरी ब्रम्हचर्य पालना गरी विहारमा बस्ने स्थविरवादी श्रावक (शिष्य) हरू बने, कोही घरमै बसी सच्चरित्रवान् उपासक, उपासिकाहरू बन्न थाले । यसरी भगवान्को अनुयायीहरू झन् झन् बढ्दै गए । भगवान् बुद्ध भने विस्तारै वृद्ध हुँदै आए । एकदिन यस्तैमा अकस्मात् भगवान्का प्रिय एवं अर्हत्त्व प्राप्त श्रावक द्वय शारिपुत्र र मौद्गल्यायनको केही दिनको अन्तरालमा मृत्यु भयो । अन्तर्यामी भगवान्लाई समेत उनीहरूको मृत्युले विचलित पारे । त्यति बेला भगवान्ले यी दुई अर्हतको अस्थिधातु राखी धातु गर्भ स्तूप बनाउने आज्ञा गरे, आदेश दिए ।
भगवान्को यस आदेशले सर्वप्रथम बौद्ध कलाको सूत्रपात स्तूपको रूपमा ‘शुरु भएको मान्नु पर्छ । हुनत भगवान्ले बुद्धत्व प्राप्त गर्नु भएको लगत्तै केही दिनपछि त्रपुष भल्लुक भन्ने दुइजना व्यापारीहरूले भगवान् बुद्धको उपदेश सुनी खुशी भई भगवानलाई आफूसँग भएको केही सत्तुदान गरेर आ-आफ्नो गन्तव्य देश फर्कन लाग्दा भगवान्सँग हामीलाई हजुरको केही पबित्र चिन्ह पाए हामी आफ्नो देशमा लगी पूजा गरी राख्छौ भनी निवेदन गर्दा आफ्नै शिरको एक मुट्टी केश दिनु भएको थियो । त्रपुष भल्लुकले सोही केश राखी आफ्नो देशमा केश स्तुप निर्माण गरेका थिए । यस हिसाबले यस केश स्तुपलाई ने बौद्धहरूको प्रथम स्तूप मान्नु पर्ने देखिन्छ ।
तर यति मात्र होइन, बुद्ध भगवान्ले महाभिनिष्क्रमण गरी अनोमा नदीमा पुगी सम्पूर्ण राजसी वस्त्रदेखि लिएर सबै गरगहनाहरू उतारी पोकोपारी आफ्नो अनुचर सन्दकलाई दिई राजदरवार फर्काई आफ्नो शिरको सुन्दर केश प्रवजित हुन काटेर फालेका थिए । सोही केश टिपी देवराज इन्द्रले त्यस केशलाई सुरक्षित गरी स्वर्गमा एउटा “केश चैत्य” ( चुडामणि चैत्य) बनाए भन्ने कुरा उल्लेख भएको पाइन्छ ।
शारिपुत्र र मौदगल्यायनको मृत्युले दु:खित भगवान् बुद्धले एकदिन आफ्नो उपस्थाक (सेक्रेटरी) आनन्दलाई बोलाउनु भयो र भन्नुभयो- हे आनन्द । अब तीन महिना पछि भगवान् पनि परिनिर्वाण हुनेछ । भगवान्ले यसरी आफू निर्वाण हुने भविष्यवाणी गरेपछि आनन्दले भगवान्लाई सोध्नु भयो- हे भगवान्। परिनिर्वाण पछि हजुरको पार्थिव शरीरलाई हामीले के गर्दा उचित होला । तब भगवान्ले आज्ञा भयो- सम्यक्संबुद्ध, प्रत्येक बुद्ध, अर्हत, तथागतको श्रावक र चक्रवर्ती राजाहरूको मृत्युपछि वहाँहरूको अस्थिधातु राखी स्तूप बनाउनु उत्तम छ । अतः त्यस्तै बनाउने गर । तथागतको पार्थिव शरीरको बारे तिमी कुनै चिन्ता नगर यसको सम्मान सत्कार गर्न अरु धेरै राजा महाराजाहरू तथा श्रद्धायुक्त ब्राह्मण पण्डित, क्षेत्रिय पण्डित तथा गृहस्थी पण्डितहरू छन्, बरु तिमी आफ्नो जीवन सुधार्न अप्रमादी, उद्योगी, स्वसंयमी हुन तथागतको उपदेशलाई मनन गर ।
भगवान्ले आज्ञा भए अनुसार साँच्चै तीन महिनापछि भगवान् परिनिर्वाण हुनुभयो । अनि परिनिर्वाण हुनु अगाडि संबुद्ध, अर्हत् र चक्रवर्ती सम्राटहरूको अस्थिधातु राखी स्तूप बनाउनु उचित छ भनी भगवान्ले भन्नु भएको उपदेश अनुसार वहाँको अस्थिधातु राखी स्तूप बनाउने निर्णय भयो । तर स्तूप बनाउने सन्दर्भमा तत्कालिन राजा महाराजाहरूका बीचमा एक किसिमको कलह पैदा हुन थाले । अनि भगवान् बुद्ध जस्तो शान्तिनायकको अस्थिधातुको
लागि कलह अशोभनीय छ भनी द्रोण भन्ने ब्राह्मणले कुम्भ (पाथी) ले नापी अस्थिधातु आठभाग गरी बॉडी दिए । सोही अस्थिधातु राखी वैशाली, कुशीनगर, मगध, कपिलवस्तु, अलकाप, रामग्राम, वेष्ठीदीप र पावामा गरी जम्मा आठवटा स्तूपहरू निर्माण गरियो । त्यसबेला भगवान् बुद्धप्रति समाजमा यति श्रद्धा र भक्ति थियो कि अस्थिधातु बराबर हुने गरी भाग लगाउन प्रयोग गरेको पाथी समेत पनि गर्भ भित्र राखी द्रोण ब्राह्मणले एउटा कुम्भ स्तूप खडा गरे भने मौर्यहरूले अस्थि धातु नपाए पछि पीप्पली वनमा भगवान्को शरीर दाहसंस्कारबाट बाँकी हुन आएका अंगार (गोल) राखेर भए पनि एउटा अंगार स्तूप निर्माण गरे । यसरी भगवान्को परिनिर्वाण पछि विभिन्न स्थानमा गरी दशवटा स्तूप निर्माण भए ।
कालान्तरमा यी आठैवटा अस्थि धातुयुक्त स्तूपलाई भत्काई सम्राट अशोकले चौरासी हजार भागमा बाँडी विभिन्न शहर नगरमा गई चौरासी हजार धातुगर्भ स्तूपहरू बनाए । त्यही स्तूपमध्ये केही स्तूप हालसम्म पनि नेपाल अधिराज्यको पाटन जिल्लाको लगनखेल, पुल्चोक आदि स्थानमा अद्यापि उपलब्ध छन् । ती स्तूपहरू नेपालमा स्थुरो, स्थुदो, स्थुवेका नामले पनि प्रसिद्ध छन् ।
ललितपुर जिल्लामा मात्र होइन, काठमाडौं, भक्तपुर आदि जिल्लामा पनि अशोक सम्राटले अशोक चैत्यका नामले प्रसिद्ध धेरै चैत्यहरू बनाएर गएका थिए । ती चैत्य मध्ये प्रमुख अशोक चैत्यका नामले प्रसिद्ध चैत्यहरू काठमाडौंको असन वहाल, तक्ष:वहाल, ठमेल भगवान् वहाल, स्वयम्भू, चावहिलको चारुमति विहारको परिसरमा, वडेगाउँ र ललितपुर जिल्लाको विभिन्न स्थानमा विशेष गरेर अवस्थित छन् । नेपालको तराई क्षेत्र निगलीहवा, पिपरहवा, भिसुवा आदि स्थानमा पनि सम्राट् अशोकले चैत्यहरू स्थापना गरेका थिए । त्यति मात्र होइन जीर्ण अवस्थामा रहेको कनक मुनिको चैत्य पनि जीर्णोद्वार गरिदिएका थिए । यसरी महापरिनिर्वाण सूत्रमा स्वयं भगवान्ले प्रत्येकबुद्ध, बुद्ध, अर्हत् र चक्रवर्ती राजाहरूको स्तूप बनाउनु योग्य छ भनी उपदेश दिनु भएकोले सर्वप्रथम शारिपुत्र र मौद्गल्यायनको स्मृतिमा बनाइएका स्तुपहरू नै बौद्ध दर्शनमा बौद्धकलाको पहिलो पदस्थापना भएको तथ्यलाई मान्नु आवश्यक छ । अतः बौद्ध दर्शनमा मोदगल्यायन र शारिपुत्रको अस्थिधातु राखी बनाएका स्तूपहरू बौद्ध वास्तुकलाका प्रथम पदस्थापना हुन आउँछ भने बुद्ध भगवान्को अस्थिधातु राखी बनाइएका आठ स्तूपहरू सम्पूर्ण बौद्धमार्गीहरूको लागि अति श्रद्धेय वन्द्य र.पूजनीय एवं आदरणीय तीर्थ स्थल बन्न गएको देखिन्छ ।








