
काठमाडौँ ।नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको बत्तीसौं श्रृङ्खला मिति २०८३ असार २६ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
अभियानका परिकल्पनाकार कथाकार/नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुबारे प्रकाश पार्दै उनले भने,“यी रचनात्मक कार्यहरुबाट नेपाली कथासाहित्यको स्वस्थ विकासमा केही योगदान हुने हामीले विश्वास लिएका छौं ।”
कार्यक्रम आरम्भमा अभियानको परम्परा अनुसार दिवंगत स्रष्टा कृष्णबम मल्लको ‘गुलाब’ शीर्षकको कथा शुरुमा वाचन गरियो ।
साहित्यकार पुष्कर लोहनीको निजी पुस्तकालयमा सङ्गृहीत ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष ११ सङ्ख्या ६–७–८ (विसं २००२)मा प्रकाशित यो कथा कथाकार इल्या भट्टराईले वाचन गरिन ।
कथा वाचन गर्ने क्रममा कथाकार निर्मोही व्यासले ‘रोल नम्बर चार’ वाचन गरे ।
अर्का कथाकार शारदा पराजुलीले ‘अपराधबोध’ शीर्षकको कथा वाचन गरे ।
कथाहरुको वाचन कार्य सकिएपछि समीक्षक प्रा डा मुकेशकुमार चालिसेले कथाकार निर्मोही व्यासको कथामाथि सङ्क्षिप्त टिप्पणी गरे । त्यस्तै, अर्का समीक्षक डा अम्बिका अर्यालले कथाकार शारदा पराजुलीको कथामाथि सङ्क्षिप्त टिप्पणी गरे ।
कार्यक्रमको अन्त्यमा यस अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकासक्रमबारे संक्षिप्त चर्चा गर्दैे कथाको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धान जस्ता कार्यहरूका माध्यमबाट समग्रमा नेपाली कथा विधाको विकास होस् भन्ने बृहत उद्देश्य लिई यो पुनर्जागरण अभियान शुरु गरिएको कुरा स्पष्ट पारे ।
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम संचालन गरेको उक्त कार्यक्रममा ९६ वर्षीय साहित्यकार माधवप्रसाद गौतमको पनि उपस्थिति थियो ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ । २०७९ चैत वा सोअघि प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुकले आयोजकहरुसँग अग्रिममा नाम दर्ता गराउनु पर्ने व्यवस्था छ ।

