
काठमाडौँ। अमेरिकाको डालासमा भएको विश्वकपको अन्तिम १६ को भिडन्तमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल नै स्पेनको जितमा निर्णायक बन्यो। यो हारसँगै ४१ वर्षीय विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा सधैँका लागि समाप्त भएको छ।
दोस्रो हाफभरि खासै उल्लेख्य अवसर सिर्जना गर्न नसकेको स्पेनले ९१औँ मिनेटमा उत्कृष्ट मुभ बनायो। रोड्रिले छिटो प्रहार गरेको फ्रि-किकमा फेरान टोरेसले पेनल्टी बक्सको छेउमा बल नियन्त्रण गर्दै सटिक पास दिए।
सोही पासमा आर्सनलका मिडफिल्डर मेरिनोले विपक्षी गोलकिपर डिओगो कोस्टालाई छक्याउँदै सुन्दर गोल गरे।



