
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका अधिकांश ठूला नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको जनाएको छ ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको हो ।
यद्यपि, आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, ललितपुर, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ ।
ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यसैगरी, असार २४ र २५ गते सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदी तथा खोलाहरूमा वर्षाका कारण बहाव एक्कासि बढ्न सक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले ती क्षेत्रमा बाढीको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।








