
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका छन्।
राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै भने, ‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो।’
उनले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्ने पनि बताए। राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो भनेका छन्।
‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौं, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्’, उनले भने।
मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए।
साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने राष्ट्रपति पौडेलको विश्वास छ ।
‘जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन’, उनले भने।
राष्ट्रपतिले आज नागरिकले सुशासनसहितको सम्बृद्धि खोजेका छन् भन्दै यसका लागि हाम्रा स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताए।
उनले अगाडि भने,‘अनि मात्र आर्थिक विकास र सम्बृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौं, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो, यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौं’, उनले भने।
हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो, जनता आफैंले बनाएको संविधानमार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएका छौं, अतः संसारमै यो भन्दा उन्नत अर्को कुनै व्यवस्था छैन’, उनले भने।
उनले यो यसकारण पनि कि, यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ, राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ, हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रुपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौं, यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुर्याएको छ भनेका छन्।
राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिमको जिम्मेवारी निर्वाह गरिरहेका छन् भन्दै यस शासकीय व्यवस्थामा जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए।
‘नागरिकको गुनासो भए शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भैरहेको छ, यसले लोकतन्त्रको जरा बलियो बनाउँछ, लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ’ उनले भने।
उनले आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गरे ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू,संवैधानिक निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरूको सहभागिता थियो।
प्रधानमन्त्री शाहले आजको कार्यक्रममा पनि बोलेनन् । यसअघि नै आफुले नबोल्ने बताइसकेका उनले राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध पत्र पठाएका थिए ।
