नेपालको पर्वतीय साहित्य
प्रा.डा.बन्धु कोइराला खेकोब
भिल्लको देशको मणि
आफू समुद्री क्षेत्रमा बस्ने भएकाले पश्चिममाहरूले समुद्रमा केन्द्रित भएर साहित्य लेखे र विश्वको ध्यानलाई आफूमा नै केन्द्रित गरे । अरबीहरूले मरुभूमिलाई नै साहित्यमा उतारे र विश्वव्यापी सम्मान प्राप्त गरे । टापु हुनेहरूले टापुकै कुरो गरे र प्रख्यात भए । हामी चाहिं आफ्नो सम्पत्ति भएको पर्वत र हिमालमा केन्द्रित भएर लेख्न लागेनौं, सकेनौं, चाहेनौं, जानेनौं । एक अर्थमा यसलाई हाम्रो विडम्बना नै भन्नु पर्ला ।
हाम्रो खास चिनारी के हो ? नेपालको मौलिकता के हो ? कतिले नेपालको राष्ट्रिय गौरवको विषय ‘बुद्ध’ भन्लान्, कतिले चाहिं ‘हिमाल’ भन्लान् । जनकलाई, सीतालाई, भृकुटीलाई संझने पनि थुप्रै होलान् । कोशी, गण्डकी, कर्णाली सभ्यताका कुराहरु पनि आउलान् । कतिले बहादुर ‘गोर्खा’ का कुरा पनि उठाउलान् र त्यसैलाई ‘दासता’ को रुप पनि देलान् । तर जसले जे जे भने पनि नेपाली भूगोलको ‘स्व’ भन्नु हिमाल नै हो । पर्वतहरु हुन् । र, ती हिमालयहरुबाट निस्कने जीवनदायिनी हिमनदीहरु हुन् जुन महादेवको शिरबाट निस्कने मिथकीय गंगा हुन् । यही हिमालय शिव–पार्वती हुन् । गौरीशंकर त हुँदैहुन् । विश्वको केन्द्र पूर्व, पूर्वको केन्द्र सूर्योदयस्थल, सूर्यको अरुणको लालिमा यही स्थल हो । कति दिव्य, कति सुन्दर….. कति मनमोहक….. कति मुग्धकारी । कति स्निग्ध । कति कलात्मक….. प्रकृति तर कोरीबाटी गरे जस्तो चिटिक्क । देवकोटाले भए, पाए के मात्र भन्दैनथे होला र ? महास्वर्ग ! स्वर्ग नै स्वयं सुन्दर, शान्त, आनन्ददायक, शीतल, मनमोहक हुन्छ भने महास्वर्गको भन्न कुरै नगरौँ ।
नेपालीमा निकै कृतिहरु लेखिए । काव्य, खास गरेर कल्पनामा लेखिए । साहित्य भन्नु कल्पना त हो । तर कल्पना मात्र पनि साहित्य होइन । साहित्यमा अनुभव र अनुभूतिले जीवन्तता दिन्छ । साहित्य रोचक र मर्मस्पर्शी, हृदय आह्लादकारी हुनका लागि यथार्थकै जगमा उभिनु पर्दछ । र, त्यस्तै कृति शाश्वत हुन्छ, युगौयुगसम्म जीवन्त हुन सक्छ । देश कालको कुनै सीमा रहँदैन । त्यसैले आज पनि होमर, वाल्मीकि, यूडियस, व्यास, सोफोक्लिज, कालिदास, त्यत्तिकै जीवित छन्— कालजयी छन्— अमर छन्— अमत्र्य छन् ।
हरेक व्यक्तिले आफ्नो देशलाई माया गर्छ । ऊ देशको माटो चुम्छ र माटोकै निम्ति मरि मेट्दछ । माटो भन्नु ‘माटो’ पनि हो, भाषा पनि हो । माथि भने झैं देश, जनता, भूमि, राष्ट्रियता, अखण्डता जस्ता सबै कुराहरु हुन् । यसमा इतिहास, संस्कृति, जस्ता कुरा पनि पर्दछन् । नेपालको सन्दर्भमा भन्ने हो भने एउटा लेखकले देशलाई चिन्ने भनेको मूल रुपमा यहाँको विशिष्ट भूगोललाई नै हो । यो भौगोलिक पक्ष भनेको नेपालको दुई तिहाई क्षेत्रभन्दा बढी ओगटेको पर्वतीय क्षेत्र नै हो, जुन अत्यन्त सुन्दर छ र जहाँ प्रकृति नै प्रकृति छ । सुरम्य प्रकृति, नदीनाला, वृक्ष– वनस्पति, चराचुरुङ्गी, पशु–पंक्षी, विभिन्न प्रकारका प्राणीहरु । यो औषधीको खानी त हुँदै हो— अपूर्व सुन्दरताको रानी पनि हो । यो हिमत्वखण्डको एउटा विशिष्ट अनि स्वर्गीय उपहार हो— मानवसमाजका लागि विधाताको । हाम्रो हिमालय सिंगो धर्तीकै नाभीस्थल हो । यद्यपि यसलाई कतिले मिथकको रुपमा ईश्वरको निवास सम्झन्छन् । त्यो पनि प्रायः सबै धर्मका ईश्वरको ।
नेपालको यस भूखण्डलाई लिएर हामीकहाँ साहित्यको सिर्जना हुन सकेको छैन । सिर्जित साहित्यहरु यथार्थमा पुग्न सकेका छैनन् । हिमालमा आधारित साहित्यको लेखाजोखा गर्ने यस पक्तिकारको उद्देश्य होइन, किनभने हिमालवारे लेखिएका यथार्थपरक कृतिहरु कमै छन् भन्ने मलाई लाग्छ । हिमालका बारेमा लेखिएका वाङ्मयहरु निकै होलान् । ती अंग्रेजी भाषामा छन् । यस्तै युरोपेली भाषाहरुमा छन् । ती कृतिबाट ती देशहरुको वाङ्मय संसार हरिलो, भरिलो, झरिलो, रसिलो, स्वादिलो, मीठो बन्न पुगेको छ । हाम्रा हिमालका सुवासले त्यहाँको वाङ्मय गदगद भएको छ । त्यहाँका पाठक हिमाली साहित्यबाट रमाएका छन् । तर हामी आफू भने छातीभरि विशाल ‘हिमाल’ को अनन्त श्रृंखला बोकेर पनि नदी किनाराको अभागी सुक्खा खेत झैं धाँजा फाटेर बसेका छौं । हामीसँग त्यत्रो विशाल हिमाली सम्पदा छ । उच्चताको हिसाबमा भन्ने हो भने संसारकै पहिलो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ र दशौँ सर्वोच्च चुचुराहरु हामीकैमा छन् । ८००० मिटरमाथिका १४ वटा चुली हामीसँगै छन् । ७००० मिटरमाथिका १२२ वटा चुली हामीसँगै छन् । ६००० मिटरमाथिका हिमालको संख्या त १४०० भन्दा बढी छ । ६००० मिटरभन्दा मुनिको उचाईलाई त नेपालमा ‘डाँडो’ मात्रै मानिन्छ, ‘हिमाल’ होइन । तर यो ‘महान’ अनि अद्वितीय सम्पदा प्रति किन हाम्रो साहित्यमा उत्रन सकेन ? मलाई चिन्ता लागेको छ । यो प्रौढावस्थाको प्रारम्भमा मलाई दुःख लागेको छ— किन म राजधानीमा बसेर शिक्षा बाँड्छु भन्दै आफू शिक्षाको मूल उद्गमस्थल यस हिमालयको श्रृङ्खलालाई बुझ्न, रसास्वादन गर्न हिँड्न सकिनँ ? यो सम्झिँदा मेरा आँखा रसिला हुन्छन् । अब म त्यहाँसम्मको यात्रा गर्न कति सक्षम हुन्छु ? यो प्रश्न बारम्बार मुखरित हुन्छ । हिमालय सधैं नै रहस्यमय नै पो रहिरहने पो हो कि ? खास गरेर हामी नेपालीहरुका लागि, नेपाली पाठकहरुका लागि अनि विश्वमा छरिएर रहेका साढे तीन करोड नेपाली ‘रगत’का लागि । तर अवस्था त्यत्ति दयनीय चाहिं छैन । यो यस अर्थमा कि— हामी कालिदासका सन्तान— मैले पूर्वमा जन्मेका जतिलाई कालिदासका सन्तान भनिरहेको छु । उनले लेखे— “हिमालयो नाम नगाधिराजः ।” यस क्रममा कतिले कति कति लेखे होलान्— त्यसको पुरानो रेकर्ड राष्ट्रिय अभिलेखालयमा छ कि ? त्यसको अद्यावधिक रेकर्ड मपुपुमा होला कि ? थोरै भए पनि त्रि.वि. पुस्तकालयले भन्ला कि ? तर मलाई लाग्छ— जति प्राप्त कृतिहरु छन्— तिनलाई हेर्दा हाम्रो दरिद्रता प्रष्ट हुन्छ । हामी आफ्नै हिमालयको बारेमा किन लेख्दैनौँ ? किन पश्चिमतर्फ मात्र दौडिन्छौँ ? हामी यात्रा यात्रा भन्छौँ र अब त नेपालीहरुलाई डायस्पोरिक यात्रातर्फ तान्ने गछौँ । डायस्पोरिक ‘भाटो’ त होइन । नेपाली भावना होला तर नेपाली ‘माटो’ र मुटु त होइन । नेपाली माटो र मुटुलाई चिनाउने कि पश्चिममा विकृत संस्कृतिको खैंजडी बजाउने ? अनि त्यहाँका विकृत÷विसंगत÷अड्बाङ्गे र नेपाली जनमानसमा कामै नदिने नेपाली संस्कृतिलाई भड्काउने खालका कुरालाई देशभित्र पसाउने ? जानेर होस्–नजानेर होस्, नेपालीयता बिगार्ने, नेपालीत्वलाई चुनौती दिने यस प्रकारको घुसपैठ नेपालमा हुनु सानो सुन्दर शान्त यस हिमाली राज्यमा अत्यन्तै दुःखदायी छ । हामी त्यसै पनि ‘मेकाले’को मारमा छँदै थियौँ, त्यसमाथि पनि अहिले अन्तर्राष्ट्रियताको नाममा, प्रविधिको नाममा, उत्तरआधुनिकताको नाममा, सशक्तीकरणको नाममा, हाम्रो ‘हामी’ लाई नै ‘हामी’ बन्न नदिएर ‘उनी’ बन्नु पर्ने बाध्यताको यो ‘प्रायोजन लाग्ने’ कार्यको पछाडि मूल जरो पत्ता लगाउन नसकिने अवस्थाले मलाई छियाछिया बनाएको छ । कहाँ पुग्यो हाम्रो इतिहास ? कहाँ छ हाम्रो सभ्यता ? कुन हो हाम्रो संस्कृति ? कुन हो हाम्रो परम्परा ? कुन हो हाम्रो जीवन पद्धति ? अनि के हो हाम्रो पहिचान ? मेकालेले पश्चिममा धर्म, संस्कृति, नीति, रीतिथितिथिलाई ल्याएर हामीलाई मानसिक दासत्व त दिएकै थिए— जुन कुरा सुरुमा कसले कसरी ल्यायो भन्ने कुरा हामीलाई थाहा नभए जस्तै यो दासत्वको अर्को खेल कहाँबाट कसरी के प्रयोजनका लागि आएको हो ? त्यो समयले बताउन सक्छ । म नेपाली भाषाको एउटा सामान्य विद्यार्थी । नेपाली साहित्यको एउटा सामान्य पाठक । मैले विद्यार्थीकालदेखि नै नेपालको भूमिको अखण्डतालाई बढी बुझ्न कोशिश गर्थें । नेपालको भूमि, नेपालको राष्ट्रियता सम्बन्धमा चिन्तित हुन्थें । नेपालै नरहे नेपाली हुने कुरै भएन । कञ्चनजङ्घाको सेरोफेरोमा जन्मेको म, मलाई मूल रुपमा पहाड र केही मात्रामा चाहिं हिमालको चाख हुनु स्वाभाविकै हो । हिमाललाई भूगोलविद्हरुले भूगोलको रुपमा लेखेको पढेंथें । अनि इतिहासकारहरुले इतिहासको रुपमा । तर साहित्यको रुपमा लेखेको चाहिं विदेशी भाषाका साहित्यहरुमा मात्र बढी देखियो । हाम्रो नेपालीमा चाहिं शून्यप्रायः ।
ओहो, कति कठोर सत्य ! कति तीतो सत्य !! कस्तरी कलेजो अँठ्याउने सत्य !!!
हामीहरू शायद सतीले सरापेका । आज तीन करोड नेपाली भैसकेका छौं । हामीमध्ये कति हिमाल पुग्छौं ? कति हिमनदी देख्छौं ? कति त्यहाँको प्रकृतिसँग आत्मसात् गर्न पुग्छौं ? हामी कति सौन्दर्य बटुल्छौं र अनुभूत गर्छौं ? हिमालतिर जाने रहर शेर्पाले गरे । यो उनीहरूको ’धर्म’ भयो । ’कर्म’ भयो । जन्मजात धर्म र कर्म । उनीहरू भाषामा व्यक्त गर्न सक्तैनन् । किनभने हिमाल चढ्ने शौर्य नै उनीहरूको धर्म र कर्म हो । हामी चाहिं त्यो भन्दा अघि बढ्न सकेनौं । हामी लेख्न जान्दछौं– तर हाम्रो ब्रहमले हिमालसम्म पुग्ने चाह नै राखेन । अथवा यसो भनौं, हामी भिल्लका देशका मणि हुन पुग्यौं ।
महान कवि कालिदासले कति टाढा टाढाबाट पनि हिमालयलाई संझे । २००० वर्ष अघिदेखि हिमालय प्राप्तिको लागि, हिमालयको दर्शनको लागि, मान्छेहरू अनेकौं प्रकारले लालायित भैरहेका छन् । सन्तोषका लागि, सुखका लागि, कल्याणका लागि हिमाल हिमालै हो– अन्य हुन सक्तैन । पृथ्वीमा हिमालको गरिमा र महत्तालाई अरु कुराले पूरा गर्न सक्तैन । पश्चिमहरू हिमालय भनेपछि ज्यान–प्राण फाल्न पुग्छन् । उनीहरू हिमालय दर्शनका लागि अत्यन्तै लालायित हुन्छन् । हजारौं हजार व्यक्तिहरू प्रत्येक देशबाट आउँछन् र हिमालयलाई ’डकुमेन्टेशन’ गर्छन् । यो कुरा एशियाकै यात्री पर्यटकहरूमा पनि लागू हुन सक्तछ । यो डकुमेन्टेशन कतिले सामान्य टिपोटको आधारमा यात्रा विवरण तयार गर्छन् भने कतिले चाहिं साहित्यिक कृति नै तयार गर्छन् । वृत्तचित्र र फिल्म बनाउने काम पनि त्यत्तिकै हुन्छ÷भई रहेकै छ ।
एकातिर पश्चिमहरू आफ्नो लेखनीमा समुद्री चित्रणबाट कहिल्यै थाक्दैनन् । उनीहरूका साना साना पर्वतहरू आल्प्स, किलिमन्जारो, रकी माउन्टेनको समेत चित्रण गर्न रुचाउँछन् । अर्कातिर उनीहरूको बुभुक्षा÷तिर्खा त्यत्तिमा मात्र नपुगेर यस हिमाली क्षेत्रमा आएर, हिमालमै केन्द्रित भएर ट्रेकिङ्ग, पर्वतारोहण, रक क्लाइम्बिङ्ग आदि गर्ने गर्छन् । कत्रो जिज्ञासा, अनि कत्रो कौतूहल उनीहरूलाई । कति रहस्य, कति रोमाञ्च । उनीहरू यही पर्वतमा, यही हिमालयमा रमाउन चाहन्छन् । काल–कवलित पनि हुन पुग्छन् । तर हिमालको चुचुरोलाई, यसको सुन्दरतालाई, यसको स्निग्धतालाई वारम्वार चुम्न पुग्दछन् । ज्यानको बाजी लगाएर पनि आत्मसात् गर्दछन् ।
महान भूगोलले काव्यलाई महान बनाउँदछ । साहित्य त्यसैले युगौं युग जीवित रहन्छ । नेपाल यस्तो देश हो– जहाँको भूगोल काव्यमय छ । पर्वतीय प्रदेशको कुरो त भनीसाध्यै छैन । पर्वतीय प्रदेशका प्रकृति, विभिन्न ऋतुले साहस र सौन्दर्य बढाएका हुन्छन् र शिखरको दुर्लभ्य प्रदेशको रहस्यलाई स्पर्श गर्न प्रयत्नस्त रहनु पर्दछ । हो, हामी प्रकृतिलाई चुनौती दिदैनौं बरु प्रार्थनाको रुपमा लिन्छौं । कसैले देवीको, कसैले देवताको पूजा गछौं, भाकल गछौं । यस्तै यस्तै कुराले हामीलाई साहस दिन्छ । मूल कुरा साहसको, सौन्दर्यको अनि निरन्तरताको, लगनशीलताको, इमान्दारिताको कुरा हो, जसले एउटा सत्य बोकेको हुन्छ– चिरन्तन सत्य । मान्छे जन्मेपछि अनि मर्छ । तेन्जिङ जन्मे, पर्वतारोहण गरे, सफल बने । पासाङ जन्मिन्– सफल बनिन् । बाल्यकालदेखि नै हिमाली प्रकृतिसँग खेलेकी पासाङ पनि अन्त्यमा गएर रहस्यको एकान्त उत्तुङ्ग शिरमा फूल जस्तै बनेर चढ्न पुगिन् । यस्तै त हो जीवन भनेको ।
कति सुन्दर हिमालय ! हिमचुलीहरू ! ती वरिपरिका परिवेशहरू ! कति विदेशीहरू भन्छन्– हिमालय तिम्रो, सगरमाथा तिम्रो, कञ्चनजंघा पनि तिम्रो ! अहाहा !! महान हिमालयका महान बासिन्दा तिमीहरू ! हिमालय छ र हिमनदीहरू छन्, हिमाली चुचुरा छन्, विभिन्न पर्वतहरू छन्, प्रकृतिका विशिष्ट पक्षहरू छन्– ताल छन्, वनस्पति छन्, जीवजन्तु छन् । के छन्, होइन– के छैनन् ? यसै हिमालयलाई लिएर देवकोटाले भनेथे– “सुन्दर, शान्त, विशाल !“
’विशाल’ हिमालयको प्रतीक हो । उँचाइको अर्थ हो । यसैले त नाट्यसम्राट समले भनेथे– “नेपाल एक्लै नै विश्व हो ।“ विश्व यस अर्थमा कि नेपालले हिमवत्खण्डको धरोहरमा आफूलाई उभ्याएको छ । यो एउटा स्वर्गतुल्य ठाउँ छ । यो त्याग पछाडि तपस्या हुन्छ । त्यो तपस्याका लागि वलिदानको प्रतीक छ । यही हिमालयमा शिवजी बस्छन् । उनी गरलपान गर्छन् । संसारको कल्याण सोच्छन् । जात, धर्म, सम्प्रदाय, लिंग भिन्न । अर्धनारीश्वर । शिव, गंगाका उत्पादक । हिमालय, गंगाको उत्पादक । शिव, नारीका सम्मानका जनक । एक अर्थमा भन्ने हो भने उनी जीवन अर्थात् जीवनको, नवजीवनको प्रतीक । आनन्दका स्वरुप । शक्तिका प्रतीक । समानताका बिम्ब । पारदर्शिताका उदाहरण ।
यस्ता थुप्रै यथार्थ र महत्त्वपूर्ण घटनाहरूको साहित्य लेखिनु पर्ने आजको आवश्यकता छ जसले विशाल हिमालयको प्रतिनिधित्व गर्न सकोस् । आज नेपालमा पठन संस्कृतिको पनि विकास भइरहेकोछ । स्तरीय कृतिहरू पनि प्रकाशित भैरहेकाछन् । बिक्री पनि अचेल राम्रो छ । हामीलाई ’क्लासिकल’ कृतिको पनि त्यत्तिकै महत्त्व छ जति सामान्य कृतिको । तर हामीले खोजेका कृतिहरू भनेको आजको सन्दर्भमा लालहीराको कथा, राक्षस राज्य, नीलो चोली, आतंक जस्ता कृतिहरू होइनन् । त्यस्तै स्तरीयताका नाममा आउने अस्पष्ट, क्लिष्ट, दुर्बोध्य किताबहरू पनि होइनन् । हामीले पढ्नु पर्ने किताबहरू भनेका हाम्रै किताब हुन् जसले नेपालीयतालाई बोकोस्, नेपाली जनजीवनको चित्रण गरोस्, नेपाली भूगोललाई उजागर गरोस्, नेपालको इतिहास, संस्कृति र परम्पराका महत्त्वपूर्ण पानाहरूलाई उच्च सम्मानका साथ पक्रन पुगोस् । अखबारमा प्रायोजित कुनै पनि प्रकारका टिप्पणी वा समाचार वा भोजनभेतरका, गोष्ठीका नाममा गरिने प्रचारबाजीले नेपाली वाङ्मयको उत्थान गर्दैन । बरु यसले त विकृत र विसंगतिमूलक संस्कृति खडा गर्छ । त्यसैले प्रयोजनरहित कृतिहरूको अध्ययन गर्नु जरुरी छ । त्यस्तैलाई प्रोत्साहन गर्नु जरुरी छ । त्यस्ता कृतिहरू र त्यस्ताका मेहनती लेखकहरूलाई छनौट गर्नु जरुरी छ ।
मुलुकमा अहिले फैलिएको नकारात्मक मानसिकता र व्याप्त निराशालाई चिर्दै राष्ट्रप्रेमको भावना जगाउन र पाठकसमक्ष राष्ट्रको सुन्दर छवि मात्र प्रस्तुत गर्न . . . आफूले अनेकौं कष्ट सहेर पनि रातदिन मुलुकको सुन्दर तस्विर उतार्न तल्लीन स्रष्टाहरूलाई हामी ’जिम्मेवार’ हरुले चिन्नै पर्छ ।
सारा संसारले हाम्रा ’आपा’को कुरा सुन्छ, तर हामी भने उनको नाम समेत ठीक ढंगले भन्न सक्ने अवस्थामा छैनौं; ’आप्पा’ भन्छौ र हिमालवारे बुझ्नु पर्यो भने मोरिस हेर्जोगको कुरा सुन्छौं । पिटर ह्याब्लरको कुरो सुन्छौं । म्याथ्यु पिटरसनलाई गुरु थाप्छौं । योगी नरहरिनाथ र बाबुराम आचार्यलाई बिर्सेर कर्क प्याट्रिकको पूजा गर्छौं । ह्यामिल्टनका शरणमा लम्प्सार पर्नकै लागि वसन्तकुमार शर्मा र पूर्णप्रकाश यात्रीहरूलाई बिर्सन्छौं । हामीलाई जर्ज म्यालोरीका बारेमा खुबै चिन्ता छ तर नेपाल आमाको आफ्नो महान सन्तान ’बाबुछिरी’का बारेमा कुम्भकर्णझैं बेखबर छौं जसले सगरमाथाको शिखरमा समेत लगातार २१ घण्टा ’ब्युँझै’ बिताएर आधुनिक चिकित्सा विज्ञानलाई ठाडो चुनौती दिएथ्यो । हामीले महत्त्व दिन नजानेकै कारणले भारतले तेन्जिङलाई बिस्तारै आफ्नो बनायो । हामीले हीरा र कांच छुट्याउन नजानेकै कारणले आज ’आपा शेर्पा’ अमेरिकिएका छन् । यति ठूलो र निरन्तर योगदान हुँदा हुँदै पनि प्रतीक ढकाल समेत हामीले नसुनेको नाम हुन पुग्छ– हाम्रै पर्वतीय साहित्यमा र हाम्रो पाठ्यक्रममा पर्छन्– जोन काकौर । डा. हर्क गुरुङको विद्वता, महत्ता र समर्पणभावलाई भन्दा ठूलो देखिन्छ टोनी हेगनको नेपाल भ्रमणलाई । आफू आफूमा खुट्टा तानातान गर्ने अनि गोरो÷खैरो छालालाई मात्र महान देख्ने यो कस्तो रोगबाट ग्रसित हुँदैछौं हामी ? साँच्चै के भएको छ हँ हामीलाई ? के यति अग्ला ’शिखर’हरूका काखमा हुर्कें÷बढेका मान्छेहरूको मन यति ’होचो’ र ’संवेदनाहीन’ हुनु स्वाभाविक हुन्छ र पाठकवृन्द ?
म आश्चर्यचकित छु । र, किन किन आज अलि बढी नै संवेदित पनि भएको छु । हिमाललाई ढिलो चिन्नुको अपराधवोधले किचिएको छु । आफ्नै आमा र आफ्नै पहिचानप्रति समेत बेइमानी गरें भन्ने भावनाले पिरोलिएको छु ।
“जननी र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूली मान्ने परम्परामा हुर्केका कवि कालिदास हिमवत्खण्डलाई स्थानान्तरित स्वर्ग मान्दछन् । यति मात्र होइन, देवभूमि हिमालय र यसको सेरोफेरोमा बस्नेहरूले यदि पुनः अर्को कुनै स्वर्गका लागि प्रयास गर्दछन् भने त्यो प्रयास व्यर्थ हुन्छ ।”