विचार
वर्तमान सन्दर्भमा कस्तो हुनुपर्छ प्रज्ञा प्रतिष्ठान?
प्रदीप सापकोटा
पञ्चायती कालभर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनेर चिनियो –नेपाल प्रज्ञा प्रतिष्ठान । वि.सं.२०१३ मा भाषा,साहित्य,संस्कृति,दर्शन लगायतका प्राज्ञिक विषयहरुको संरक्षण,सम्बद्र्धन हेतु लक्ष्मीप्रसाद देवकोटा लगायतको अग्रसरतामा साहित्यिक कला प्रतिष्ठान(एकेडेमी) तत्कालिन राजा महेन्द्रले स्थापना गरे । वास्तबमै उतिबेलाको प्राज्ञिक क्षेत्रमा ठूलो कदम थियो । तीस वर्ष पञ्चायतीकालभरी पनि राजाको रुचीका मान्छेहरुले प्रज्ञामा जिम्मेवारी पाए । तर,उतिबेला अलिक नाम चलेका,विशेषज्ञता हासिल गरेकाले अवसर पाएका थिए ।
बहुदलीय व्यवस्थाको प्रार्दुभावसङ्गै प्रज्ञामा पनि जसको लाठी उसको भैसी अर्थात राज्यसत्ताको बागडोर जसको हातमा छ,उसैको निकट प्रज्ञाको सम्पूर्ण नियुक्ति अथवा कहिलेकाहीँ भागवण्डामा प्रज्ञाका विभिन्न पदहरुको नियुक्ति गर्ने परिपाटीको विकास भयो । राज्यले पछिल्लो चरणमा कानूनमा नै तीनवटा प्रज्ञा प्रतिष्ठानको कल्पना गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठान,ललितकला प्रज्ञा प्रतिष्ठान,सङ्गीत–नाट्य प्रज्ञा प्रतिष्ठान । तीनवटै प्रतिष्ठान केवल राजनीतिक नियुक्तिको अखडा भए । योग्य व्यक्ति पुगे पुगेनन् । लक्ष्य अनुरुप काम गरे गरेनन् । सबै सामु जगजाहेर नै छ ।योग्य व्यक्ति पुगेपनि राजनीतिक जन्जालभित्र रुमुल्लिइरहेका यी प्रज्ञा प्रतिष्ठानहरुले आशातित काम गर्न भने नसकेकै हो ।
हरेक क्षेत्रमा जस्तै प्राज्ञिक क्षेत्रपनि राजनीतिको दोहनमा परेकै हो । साहित्यकार,भाषाशास्त्री,स्रष्टाहरु कोपविभाजनको शिकार भएकै हो । आफ्नालाई काख,अरुलाई पाखा पारिएकै हो । प्रज्ञाप्रतिष्ठानका जिम्मेवार महानुभावहरुबाट स्रष्टा,सर्जकहरुलाई सम–व्यवहार नभएकै हो । गतिविधि पनि कमै भएका हुन् । राजनीतिक विचार र दलगत सोचको मनोदशाबाट ग्रस्त प्राज्ञहरुबाट यो भन्दा बढी अपेक्षा राख्न सकिने पनि थिएन सायद । न राज्यले प्राज्ञिक गरिमाको महत्व बुझ्यो,न काम नै गर्नसक्यो । नत पर्याप्त बजेट नै दियो । कार्यकर्ता भर्तिकेन्द्र जस्तो लाग्ने नेतृत्वको अक्षमता पनि देखियो । सोच र विचार ,जाँगर पनि कम पाइयो ।
योग्य व्यक्ति भएपनि राजनीतिक हस्तक्षेप थियो कि दवाव कुन्नि, जति काम हुनसक्थे वा हुनुपर्ने थियो नभएकै हो । सिर्जनात्मक सोच र क्षमता भएका प्राज्ञहरु राजनीतिक कोपविभाजनको शिकार बनाइए । विशेषज्ञता र व्यवसायिक योग्यता केवल दलसङ्ग जोडिए । भाषा, साहित्य, संस्कृति, सम्पदा लगायतका विषयहरुबारे अध्ययन, अनुसन्धान कम हुनथाले । काम गर्नेलाई उत्प्रेरित गर्ने र अवसर दिने परिपाटी अध्याँरोमा धकेलियो । आर्थिक व्यवस्थापन पनि कमजोर गरियो ।
नवोदित लेखकहरुलाई अवसर दिने,स्थापितहरुको लागि काम गर्ने कुरामा चुक्यो । हुँदाहुँदा भाषामा समेत एकरुपता ल्याउने गरी कार्य गर्न सकेन् । नारा चाँही, ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ तर व्यवहारमा त्यो देखिएन । हामी जस्ताको लागि प्रज्ञा प्रतिष्ठान हुनु र नहुनुमा तात्विक अन्तर भएन । आफ्नाको पीठो बिक्यो आजसम्म त्यहाँ,धेरै लेखक,स्रष्टाहरुको चामल पनि बिकेन ।
कतै पढेको थिएँ, स्रष्टा नारायण ढकाललाई पत्रकार दिपक सापकोटाले सोधेका थिए,‘तपाईँलाई प्रज्ञा प्रतिष्ठानको कुलपतिमा अफर आयो भने के गर्नुहुन्छ ?’ जवाफमा ढकालले, ‘प्रज्ञा प्रतिष्ठान गठनको तरिका नै ठीक छैन्’ भनेका थिए । अझै उनले अगाडि भनेका थिए,‘भद्दा दलतन्त्र वा घिनलाग्दो भागवण्डाको विकारले ग्रस्त भएको त्यस्तो ठाउँमा हामीहरु जस्ता लेखक नगएकै बेस।’ यसैगरी सातवर्ष अघि पोखराको कुनै साहित्यिक कार्यक्रममा चर्चित लेखक खगेन्द्र सङ्ग्रौलाले प्रज्ञा प्रतिष्ठानलाई बङ्गुरालयको संज्ञा दिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । हिजो राजनीतिक दलहरुले हुर्काइरहेको मनोरोगी समाजमा उनको टिप्पणी सटिक थियो । स्थापित स्रष्टाका यी अभिव्यक्तिले प्रज्ञाको हालत मज्जैले संकेत गरेको छैन र ? वास्तबमै संस्था भर्तिकेन्द्र हुँदै आएजस्तो भान परेको छ । यसले प्रज्ञाको गरिमा बढेन । न त प्राज्ञको नै बढ्यो, बरु घट्दै गयो । अब यो अबस्थाको अन्त्य हुनुपर्छ ।
वास्तबमा स्रष्टा सर्जकहरुको तीर्थस्थल हुनुपथ्र्यो प्रज्ञा प्रतिष्ठान । तर,त्यसो भएन । नाम अनुसार काम अहँ हुँदै भएन । सबै भाषाभाषी,भूगोल,जातजातिको साझा चौतारी हुनुपथ्र्यो त्यसो पनि भएन । प्राज्ञिक बहसको थलो बनाउन पनि कसैले सकेन । देशमा राजनीतिक नेतृत्व फेरिएसङ्गै प्रज्ञामा जिम्मेवारी फेरिए । तर,संस्कार फेरिएन । चलन फेरिएन । गति उस्तै,चाल उस्तै । भाषा,साहित्यको गहन,बृहत्तर उन्नयन र विकास गर्न अगुवाई गर्ने संस्थाको चरित्र फेरिएन । सबैको साझा थलो त हुँदै भएन,नेपाली भाषाको विश्वव्यापीकरण गर्न गर्नुपर्ने थुप्रै कार्यपनि अधुरै रहे । अपुरै रहे । कतिपय त थालनी नै भएनन् ।
यसैले प्रज्ञामा भाषा,साहित्य,कला र संस्कृति लगायतका क्षेत्रमा परिवर्तित परिस्थिति अनुरुप सबै स्रष्टाले सम्मान गर्ने नेतृत्व आवश्यक छ । जसले हरेक क्षेत्रका सर्जक,साहित्यकारहरुलाई आफ्नो अनुभूति दिलाओस । अपनत्व महसुस गराओस । विभेदरहित किसिमले प्रभावकारी हुने गरी प्राज्ञिक गतिविधिहरु गरोस । नेपालका विभिन्न भाषा,साहित्य,दर्शनशास्त्र,संस्कृति,समाजशास्त्र लगायतका विषयहरुमा थप अध्ययन,अनुसन्धान गर्न, अनुवाद,सिर्जनात्मक अध्ययन गर्ने परिस्थिति निर्माण गर्न सकोस । यसैगरी विभिन्न क्षेत्रका प्रतिभाहरुको सम्मान,विभिन्न रचनात्मक अभियानहरु धेरै गर्न सकिनेमा जोड देओस । यसको मतलव केही नभएको भन्ने भाष्य निर्माण गर्न खोजिएको होइन । केही अध्ययन,अनुसन्धानका कार्यहरु भएका छन् । थुप्रै कृतिहरु प्रकाशन गरिँदै आएका छन् । पुरस्कारहरु केही स्थापना भएका छन् । अनुसन्धानको लागि विद्धत्तवृति दिंइँदै आएको पनि छ । लोक साहित्यमा पनि केही काम भएका छन् । गोष्ठीहरु पनि भएका छन् । तर यी पर्याप्त छैनन । किन पर्याप्त भएनन ? परम्पराको निरन्तरता भन्दा बढी किन भएन ? सबै सामु छर्लङ्ग छ ।
अब त आँखाको पट्टी हटाउ सरकार । स्रष्टा सधैं गुनासो गर्न जन्मेको होइन । गुनासो गर्न नपर्ने परिस्थिति सिर्जना गरिदेउ सरकार । स्रष्टाहरुको पीडामा मल्हम लगाउ ।अब यस्तो नेतृत्व आओस – स्रष्टा,सर्जकहरुले अभिभावक महसुस गर्न सकुन । स्रष्टाहरुले प्रेम,सम्मान र सहानुभूति मात्र नभएर सहयोग पाउन । सहजीकरण गर्ने सहजकर्ता मिलेको आभास होस । पुरानो दिशा बदल सरकार । त्यहि दिशामा गयौ भने नयाँ अनुभूति हुन सक्दैन । घाऊ छ हाम्रा मनमा, मलम लगाउ- नुन खोर्सानी छर्कने होइन । यो दुर्लभ अबसरलाई सदुपयोग गर । यसबारे वृहत्तर प्राज्ञिक छलफल चलाउ ।
प्राज्ञिक थलोको मर्यादा बढाउने किसिमको नेतृत्व नै आजको प्रज्ञा प्रतिष्ठानको आवश्यकता हो । नेतृत्वको अनुहार मात्र हैन,कार्यशैली पनि बदलिएर आउनुपर्छ । आजको समयमा पुस्तक प्रकाशन मात्र नभएर गहिरो अध्ययन,अनुसन्धान गर्ने केन्द्रको रुपमा प्रतिष्ठानलाई विकास गर्ने सामथ्र्यसहित आउनुपर्छ नेतृत्व । आजको डिजिटल युगमा डिजिटल रुपमै प्रविष्ट हुनेगरी अभिलेखहरु रहने गरी रुपान्तरण हुनुपर्छ प्रज्ञा प्रतिष्ठान । बहुभाषिक देश भएकोले सबै मातृभाषाको संरक्षण र सम्वद्र्धन गर्न सक्ने हुनुपर्छ अबको नेतृत्व । नयाँ पुस्ताको चर्चा भैरहँदा नवोदित लेखक,स्रष्टाहरुको सिर्जनात्मक क्षमता वृद्धि गर्न अभिभावक बन्नुपर्छ अबको नेतृत्व । सिर्जनात्मक क्षमताको धनी,बौद्धिक,साहित्यिक,कला,अनुसन्धान र संस्कृतिआदिसङ्ग जोडिएको स्रष्टा भयो भने सकारात्मक परिवर्तन हुनसक्छ । समन्वय र सहकार्य गर्नसक्ने,युवासङ्ग जोडिन सक्ने व्यक्ति नै प्रज्ञा प्रतिष्ठानको आजको आवश्यकता हो ।
हिजोको सबैभन्दा चुरोकुरो राजनीतिक दलको झोलाबाट नाम पढिन्थ्यो र नेतृत्व दिइन्थ्यो । अब,विश्वसनीयता कायम हुने ढंगले नियुक्ति प्रकृयालाई अबलम्बन गरिनुपर्दछ । राजनीतिक प्रभावको छायाँ पर्न नहुने र हस्तक्षेप नहुने गरी कानून निर्माण हुनुपर्दछ । प्राज्ञिक विषयसङ्ग सम्बन्धित विभिन्न प्रतिष्ठान जस्तै : प्रज्ञा प्रतिष्ठान,भाषा आयोग,साँस्कृतिक संस्थान र अन्य प्रज्ञा प्रतिष्ठानलाई एकिकृत गरी ठूलो प्रतिष्ठान बनाउँनुपर्छ । पृथक पृथक धेरै संस्था भएर मात्र काम माथि उठ्दैन भन्ने विगतले बताएकै छ ।
भाषाको मानक बनाउँने अधिकार पनि प्रज्ञा प्रतिष्ठानमा रहने गरी कानून बनाईँनुपर्छ । जसको लागि आवश्यकताको आधारमा नेपाल प्रज्ञा प्रतिष्ठान ऐन,२०६४,नियमावली लगायतका कानूनहरुमा समयानुकुल शंसोधन र सुधार गरिनुपर्दछ । प्राज्ञिक कार्यहरु कम भैरहेको सन्दर्भमा यसको बृद्धि गर्न सरकारले उचित बजेट र जनशक्तिको व्यवस्थापन गर्नसक्छ । र गर्नुपनि पर्दछ । नीजिक्षेत्रका साहित्यिक संस्थाहरुको गतिविधि हेर्दापनि प्रज्ञा प्रतिष्ठानका हालसम्मका गतिविधिहरुमै सन्तुष्ट हुने ठाउँ देखिन्न । नेपाली भाषा,साहित्यमा नीजि क्षेत्रबाट थुप्रै योगदान भएका छन् । यसैले प्रभावकारी रुपमा यसक्षेत्रका काम गर्न पनि मजबुद र एकिकृत प्रज्ञाप्रतिष्ठान आजको आवश्यकता हो । जहाँ अझै बढी प्राज्ञिक अनुशासनको पालना होस र प्राज्ञिक मर्यादा कायम होस । प्राज्ञिक क्षेत्रको उन्नयन र राष्टिय पहिचानका निम्ति थप आवश्यक कार्य होस ।
प्रभावकारी,प्रबुद्ध र काबिल नेतृत्व प्रज्ञाको आजको आवश्यकता हो । साहित्यिक क्षेत्रमा राम्रो दृष्टिकोण बोकेका र सर्जकहरुको मान्ने व्यक्तित्वको नेतृत्व आजको माग हो । जसको योगदानमा प्रज्ञाको प्रतिष्ठा जोगियोस । हिजोसम्मको अर्काको मान्छे विस्थापित गर्ने र आफ्नो स्थापित गर्ने मानकबाट मुक्त भएर अबको प्रज्ञामा नेतृत्वको जिम्मेवारी दिनुपर्दछ । आफ्नो अनुकुलको होइन,प्रज्ञाको अनुकुलको व्यक्ति चयन हुनुपर्दछ ।
यस्तो होस कि अब अझै आर्थिक शुद्धीकरण र सुशासन कायम गर्न सकोस । अधिक विभाजित संख्याभन्दा एकिकृत,बलियो र शक्तिशाली एक प्रज्ञा हुनुपर्दछ । विषयगत शाखा खोलेर जिम्मेवारी दिए भैहाल्छ । चाकरी र राजनीतिक पुनर्गठन हैन् सक्षम,क्षमतावान,सबैलाई मिलाएर लैजाने खुबी भएको र स्रष्टाहरुले अपनत्वबोध गर्नसक्ने पात्र चयन होस । इतिहासले दिएको नयाँ अवसरलाई सही प्रयोग गरियोस । बरु यस विषयमा यही क्षेत्रमा क्रियाशील स्रष्टा,साहित्यकार,कवि लगायतका सरोकारवालाहरुको वृहद सभा होस । त्यहाँ प्रज्ञाको विषयमा सघन बहस होस । सुझाव र रायहरु लिइयुन । गुनासाहरु सुनिउन । सरोकारवालाहरुको अपनत्वपन बोध गर्न सक्ने गरी नयाँ नेतृत्व आओस ।
प्राज्ञिक व्यक्तिहरु अप्राज्ञिक शक्तिकेन्द्रहरु धाउने परिस्थिति सदाको लागि अन्त्य हुनुपर्दछ ।जिम्मेवारीमा आउनेले उच्चस्तरीय समर्पण भाव राख्नुपर्दछ –कि म केहि गर्छु । झण्डै सत्तरी वर्षको गरिमामय इतिहास बोकेको प्रज्ञा अनुज र अग्रज सबै स्रष्टा, सर्जक,कवि, कलाकार, संस्कृतिविद लगायतकाहरुको साझा चौतारी बनोस । राज्यको नेतृत्व यसतर्फ गम्भीर हुनैपर्दछ ।