पोखरा।नयाँ वर्ष २०८३ मनाउन पोखरामा ‘फेवा नव वर्ष महोत्सव २०८३’ सुरू भएको छ।
लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडकमा आवागमन रोकेर महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा ३ लाख पर्यटक भित्रने अपेक्षा गरिएको आयोजक होटल संघ ९हान० पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी लगायत सडकमै राखिएको छ। आइतबार सुरू भएको महोत्सव वैशाख १ गतेसम्म चल्ने अध्यक्ष सुवेदीले बताए।
‘नेपाली नयाँ वर्षका बारेमा पर्यटकलाई जानकारी होस् र नेपालीहरू नयाँ वर्ष मनाउन पोखरा आओस् भनेर हामीले सडक महोत्सव आयोजना गरेका हौं,’ उनले भने, ‘महोत्सवमा ३ लाख पर्यटक आउने अपेक्षा गरिएको छ।’
पोखरामा पर्यटन प्रवर्द्धन गर्न वर्षेनी आयोजना हुँदै आएको फेवा महोत्सवको यो २३ औं संस्करण हो। यसअघि कोभिड– १९ महामारीका बेला २ वर्ष महोत्सव रोकिएको अध्यक्ष सुवेदीले बताए।