काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जेनजी आन्दोलनको त्याग, बलिदान र संघर्षकै कारण वर्तमान परिवर्तन सम्भव भएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले जनताले मतमार्फत पाँच वर्षका लागि दिएको जिम्मेवारी केवल अधिकार नभई गहिरो उत्तरदायित्व पनि भएको स्पष्ट पारेक हुन् ।
आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदान स्मरण गर्दै उनले त्यसको सम्मान गर्न सबैलाई आग्रह गरे । सभामुख अर्यालले संसद अनुशासन र मर्यादामा सञ्चालन हुनुपर्नेमा जोड दिँदै कानुन, कार्यसञ्चालन नियमावली र स्थापित अभ्यासका आधारमा बैठक अघि बढाइने बताए । नयाँ प्रतिनिधिसभा गठन भएसँगै कार्यसञ्चालन नियमावली मस्यौदा समिति चाँडै गठन गरिने र त्यसमा सबै दलको सहभागिता रहने जानकारी दिए ।
बैठक प्रभावकारी बनाउन सांसदहरूको सुझाव आवश्यक रहेको बताउँदै उनले नियमावलीको पूर्ण पालना गर्नु सबैको कर्तव्य भएको धारणा राखे। साथै उत्पन्न हुने समस्यामा आफू निष्पक्ष रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले संसदले संघीय कानुन निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको स्मरण गराउँदै अहिलेका कतिपय कानुन पुराना, निष्क्रिय र आपसमा बाझिएका अवस्थामा रहेको बताए । नयाँ कानुन बनाउनु अघि विद्यमान ऐन–कानुनको गम्भीर समीक्षा गरी सुधारसहित अघि बढ्न उनले आग्रह गरेका छन् । आफ्नो सम्बोधनमा सभामुख अर्यालले आफुले निष्पक्ष भएर भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।