
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबराले राजनीतिक दलहरूले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् ।
ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले यस्तो बताएका हुन् ।
उनले फेसबुक र ट्विटरको भित्तामा मात्र सिमित नभई सार्वजनिक स्थल (टुँडिखेल) मा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोतका विषयमा बहस गर्न अन्य नेताहरूलाई चुनौती दिए ।
राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनीहरू नयाँ नभई पुरानै अनुहार भएको दाबी गरे । रास्वपा दुई पटक सरकारमा गइसकेको र उनीहरूका सभापति दुई पटक गृहमन्त्री बनिसकेको बताए । उनीहरू कसरी नयाँ भए ? उनको प्रश्न छ । उनले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका कानुनी मुद्दाहरूको उल्लेख गर्दै विवादित नेतृत्वले परिवर्तन ल्याउन नसक्ने ठोकुवा गरे ।
उनले भने, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भन्नुभयो, तर अहिलेका युवा उम्मेदवारहरूले यसलाई किन स्वीकार गरिरहेका छैनन् ? फेसबुकबाट मात्र देश चल्दैन, जनताको नजिक आएर आफ्ना नीतिहरू भन्नुपर्छ ।’