चर्चामा पुस्तक
सत्यम्
लक्ष्मण वियोगीका सुन्दर रङका विभिन्न पन्ध्रवटा कथाहरु समावेश गरिएका छन् । कृतिभित्र नेपालका विभिन्न भूगोल र परिवेशभित्रका साँस्कृतिक विशेषता झल्काउने कथाहरु छन् । विशेषत पश्चिमको भूगोलका मान्छेका दैनिकीभित्र लुकेका अन्तर्यका सुन्दर कथाहरु टिपिएका छन् । ग्रामिण समाजको सुन्दर दस्तावेज लाग्छन् कथाहरु । कथाकारको पर्याचेत पनि घनिभूत रुपले कथाहरुले झल्काएको छ । सुन्दर बिम्बात्मक भावमा आएका कथाहरु पढ्दा पाठकको मन मज्जैले तान्ने खुवी देखिन्छ । स्थानीयतामा लछप्पै भिजेका कथाकारले लोकसंस्कार र जीवनका विभिन्न कलात्मक बान्कीभित्र सिङगारेर ल्याएका छन् ।
पात्र र परिवेशको मीठो दोभान बनेका कथाहरु भाषा सरल र सुलोलित भावसँगै सलल बगेका छन् । केही कथाहरु राजधानीनिकट भएर उधिनिएका पनि छन् ।
कथाहरु सामाजिक रागमा आउँछन् । यथार्थवादी धारमा बग्छन् । कथाहरु पठनीय देखिन्छन् ।
सत्यम् पेज टर्नरले बजारमा ल्याएको हो । यसको मूल्य रु.४५५। रहेको छ ।
बाहेक
डा. धर्म सापकोटाको उपन्यास हो । कृतिभित्र शरीर मिले पनि मन मिलेको हुँदैन, मन मिले पनि शरीर मिलेको हुँदैन भन्ने यौन मनोविज्ञानमा आधारित विषय, प्रस्तुति र सन्देशको सुन्दर संयोजन छ । एउटा नारीले सबै भौतिक सुख प्राप्तिपछि यौनिक चाहनालाई कसरी सन्तुलन मिलाउन सक्दछिन् भन्ने विषय रोचक तथा रहस्य कथावस्तु यसमा रहेको छ । सामाजिक र पारिवारिक विषयवस्तुमा आधारित उपन्यासले तन र मनबीचको सङ्घर्षको कथा तन, मन र सङ्घर्षको कथाको त्रिवेणी देख्न सकिन्छ ।
रोचक कथावस्तु,सुन्दर प्रस्तुतीकरणले उपन्यासले पाठकमा कौतुहलता जगाउँछ । रोमाञ्चक पनि छ उपन्यास । सरल भाषाशैली,विम्बात्मक काव्यत्मक चेतको भाषाले उपन्यास अझै सुन्दर बनाएको छ ।
बाहेक उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यस कृतिको मूल्य रु.७९५।रहेको छ।
यात्रा खुसीको
शिक्षाविद र लेखक विष्णुबहादुर जी.सी.को यात्रासंस्मरण निबन्ध कृति हो ।मानवतावादी चेतका जी.सींका यसभित्र पच्चिस थान विभिन्न संस्मरण तथा निबन्धहरु समेटिएका छन् ।
आफ्ना भोगाइ,जीवन र जगतको यथार्थता,पारिवारीक विभिन्न पक्षहरु लगायतका विषयमा लेखिएका छन् ।प्रकृतिसँग उनको सानिध्यताका कुराहरु सृजनामा परेका छन् । उनी यात्रामा जीवनको सुख खोजी खोज्न निस्कन्छन् । अक्षरमा खोज्छन् खुसी,जीवनको अर्थ बोध हुन्छ । उनी कहिले राराको कञ्चन एवं पवित्र निलो पानीमा खुसी खोज्छन् । कहिले पर्यटनका प्रचुर सम्भावनायुक्त विभिन्न स्थानमा पुग्छन् र पाठकलाई केही कोसेली दिन्छन् ।
सुन्दर भाव र सरल भाषामा यो कृति आएको छ । यात्रा खुसीको सुन्दर स्वदेश प्रकाशनले हालै बजारमा ल्याएको हो । यसको मूल्य रु.४५०।रहेको छ ।