
भक्तपूर।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनको उद्घाटन समारोहमा एक हुन आब्हान गरे र भने ‘एक होइन, एघार बनौं ।’
‘सुरक्षित नेपालको पहिलो सर्त के हो? हामी–हामीबीचको एकता,’महाधिवेशनको उद्घाटन समारोहमा ओलीले भने, ‘एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु।’
उनले अगाडि भने, ‘हामी एघारौं महाधिवेशनमा छौं। यसको अंक एघार लाई एकछिन ध्यान दिएर हेरौं— एघारमा दुई वटा एक हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका एक होइनन्। एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन्।’
‘हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौं, एउटै एघार बन्छौं, बलियो शक्ति बन्छौं। एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एकअर्कामाथि घात–प्रतिघात गरे हामी साधारण एक–एक, एक मात्र रहनेछौं,’ उनले भने।
उनले यो पनि भने, ‘एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी ‘एक–एक एघार बन्छौं। हामी एघार बन्दै अघि बढ्यौं भने यो एघारौं राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ।’