
काठमाडौँ । ६ महिनाभन्दा लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भिजिट भिसा प्रकरणमा घूस लिएको आरोपमा ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । गृहमन्त्री रमेश लेखक जोडिएको घटनामा अख्तियारले सहसचिव भट्टराई र उनी मातहतका कर्मचारी र एजेण्टलाई मात्रै मुद्दा चलाएको हो ।
अख्तियारले विशेष अदालतमै पेश गरेको आरोपपत्रसहितको विवरणमा लेखक लगायत गृहका उच्च अधिकारीहरुमाथि अनुसन्धान चलिरहेको उल्लेख छ । उसको लिखित विवरणलाई विश्वास मान्ने हो भने गृहमन्त्री लेखक, निवर्तमान सचिव दुवाडी सहित गृहका कम्तिमा तीन सहसचिव लगायतहरुमाथि अनुसन्धान भइरहेको छ ।
विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईले फोनमा प्रयोग गरेको कोड भाषा र ९० थान मोमो को कोडमा पूर्वगृहमन्त्री रमेश लेखक पनि जोडिन्छन् । अख्तियारले ६ महिना लगाएर गरेको अनुसन्धानमा भट्टराईको फोनको कल डिटेल, पठाएको म्यासेजलाई विश्लेषण गरेको थियो । एउटा म्यासेज थियो फेमिली होलिडेजका सञ्चालकलाई । उनले म्यासेज गर्दै भनेका छन्, ‘भाई, जस्ट(मात्रै) ९० प्लेट मो:मो ।’ केहीबेरमा उनले जवाफ फर्काउछन्, ‘मो:मो आइसकेको रहेछ ।’ ल धन्यवाद । विहान ८ः४७ मा पठाएको उक्त म्यासेज मोःमो घुसको कोड भाषा थियो । अख्तियारको अनुसन्धान अधिकृतले मोःमो भनेको के हो भनेर केरकार गर्दा प्रमुख भट्टराईले ९० प्लेट मम साथीहरु मिलेर खाएको भनेका छन् । अनि एक विहानै मोःमो किन त भनेर प्रश्न गरेपछि भट्टराई नाजवााफ भएको ति अनुसन्धान अधिकृतले बताए । उनले सो मोःमो माथिल्लो निकाय तत्कालीन गृहमन्त्री रमेश लेखकसम्म पुर्याएको अख्तियारको नचोड छ । त्यसले अख्तियारले पूर्वगृहमन्त्रीलाई पनि अनुसन्धानको राडारमा राखेको छ । पछि थप अनुसन्धान गर्नुपर्छ भनी अभियोगपत्रमा खुलाएको देखिन्छ ।
अख्तियारले विशेष अदालतमा पठाएको विवरण अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको साथबाट डायरी बरामद भएको थियो भने नेपाल टेलिकमबाट उनको कल डिटेल रेकर्ड(सीडीआर) विश्लेषण भएको थियो ।
त्यसक्रममा विश्लेषण गर्दा तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्बन्ध भएको देखिएको थियो । अख्तियारले ती दुई सरकारी अधिकारी बाहेक गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागका महानिर्देशक, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुखमाथि अनुसन्धान भइरहेको जनाएको हो ।
अख्तियारले प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई धरपकड गरी उनका ग्याजेटहरु बरामद गरेका बेला गोविन्द रिजाल अध्यागमन प्रमुख थिए भने रामचन्द्र तिवारी शान्तिसुरक्षा हेर्ने महाशाखा प्रमुख थिए । अख्तियारले उनीहरुमाथि ‘गैरकानूनी रकम लेनदेन भएको हुनसक्ने देखिएको’ भनेको छ ।


