
जनकपूर।नेपाली कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
कांग्रेससहित ६ दलको समर्थनमा यादव आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने प्रावधान छ।
उनलाई कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल पार्टी गरी ६ राजनीतिक दलका तर्फबाट जम्मा ७७ जना प्रदेश सभा सदस्यको समर्थन गरेका छन्।
दाबी पत्रमा हस्ताक्षर नभए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि मुख्यमन्त्रीलाई रहेको जसपा नेपालका नेता मनिष सुमनले जानकारी दिए।
तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि १७ मंसिरमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।