
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले) का नेताहरूसँग छलफल गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको छलफल भ्रष्टाचार नियन्त्रण, सुशासन र निर्वाचनकेन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गरेकोमा नेकपा एमालेलाई धन्यावाद दिँदै निर्वाचनमा सहभागि हुन आग्रह गरेकी खरेलले बताए ।
‘निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि जसरी एमालेले दर्ता गरेको छ त्यसलाई प्रधानमन्त्रीज्यूले सकारात्मक रूपमा लिनुभयो र निर्वाचनमा भाग लिन आग्रह समेत गर्नुभयो’ मन्त्री खरेलले भने ।
जवाफमा नेकपा (एमाले) का नेताहरूले निर्वाचनबाट नभाग्ने भन्दै सरकारले निर्वाचनको लागि उचित वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।
‘छलफलमा एमालेका प्रतिनिधिहरू जनमतबाट टाढा नभाग्ने र चुनावमा रमाउने पार्टीसमेत भएकोले चुनावदेखि नभाग्ने र चुनावमा सहभागी हुने कुरा गर्नुभयो’ मन्त्री खरेलले भने-‘यद्यपि, शान्ति सुरक्षामा चासो राख्दै शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सरकारले वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।’
छलफलमा प्रधानमन्त्री कार्कीले स्वच्छ निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको कुरा राखेको पनि खरेलले बताए । ‘प्रधानमन्त्रीज्यूले भयरहीत, शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने कुरा राख्नुभएको छ’ उनले भने ।
एमालेका नेता महेश बर्तौलाले एमालेले चुनावको निष्पक्षता र निर्भयताको वातावरण चाहेको विषय प्रधानमन्त्रीसमक्ष राखेको बताए । सरकारले अहिले गरिरहेका क्रियाकलापले भयरहीत ढंगले निर्वाचनमा जान सक्ने अवस्था नरहेको भन्दै निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरेको बताए ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए । एमालेबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी भएको बताइएको छ ।



