
काठमाडौँ । साहित्यकार प्रा.डा. लक्ष्मण प्रसाद गौतम र लघुकथाकार ध्रुव मधिकर्मीलाई ‘ग्वंगः सिरपा सम्मान–२०८२’ अर्पण गरिएको छ ।
शनिबार साहित्यिक सम्मान सङ्गम २०५० ले कात्तिक ८ गते भक्तपुरमा एक विशेष समारोहको आयोजना गर्दै उनीहरुलाई सम्मान अर्पण गरेको हो ।
सङ्गमका संरक्षक तेजेश्वरबाबु ग्वंग, विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले दुई स्रष्टाहरुलाई सम्मान अर्पण गरे ।
नेपाली साहित्यका विविध विधा समालोचना, कथा, कविता र निबन्धमा वर्चस्ववान योगदान र सेवा पुर्याएको भन्दै प्रा.डा. गौतमलाई यो सम्मान अर्पण गरिएको हो ।
यसैगरी नेपाली र नेपालभाषामा समानान्तर कलम चलाउँदै कथा, कविता र निबन्ध विधालाई उर्वर बनाउन योगदान गरेको भन्दै प्राज्ञ मधिकर्मीलाई सम्मान अर्पण गरियो । यी दुबै पुरस्कारको राशी ५० हजार ५ रुपैयाँको सिखिमेचा (थैली) सहित रहेको छ ।

सम्मान अर्पणपछि बोल्दै विशिष्ट अतिथि केदारभक्त माथेमाले सम्मानीत स्रष्टाहरुलाई बधाई ज्ञापन गरे । ग्वंग सिरपा सम्मान तेजेश्वरबाबु ग्वंगको मेहनतले र प्राप्त पुरस्कारले प्रदान गर्दै आएकोमा उनले धन्यवाद दिए ।
संरक्षक तेजेश्वरबाबु ग्वंगले आफू लक्ष्मीप्रसाद देवकोटाको चेला भएको प्रशंग उल्लेख गर्दै उहाँसँगको संगतको चर्चा गरे । २०५० सालको असारमा यो संस्थाको स्थापना गरेको उल्लेख गर्दै पहिलो पटक कमलमणि दीक्षितको अध्यक्षतामा केदारमान व्यथितलाई सम्मान गरेको स्मरण गरे ।
धन्यवाद ज्ञापन गर्दै सम्मानीत स्रष्टा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नेपाल संवतको नयाँ वर्षमा शुभकामना दिँदै पुरस्कारका लागि आफूलाई छनौट गरेकोमा छनौटकर्ता र संस्थाप्रति आभार प्रकट गरे ।
अर्का सम्मानीत स्रष्टा ध्रुव मधिकर्मीले धन्यवाद ज्ञापन गर्दै ग्वंगको योगदानको उपलब्धिबाट प्राप्त रकमले स्थापित पुरस्कार आफूले पाउँदा गर्व लागेको बताए ।
सम्मानीत स्रष्टाको बारेमा चर्चाकार मुकुन्दराज शर्माले लामो निबन्धात्मक परिचय प्रस्तुत गरे । सम्मानीत स्रष्टाहरुलाई डा. विजयालक्ष्मी श्रेष्ठले पनि शुभकामना दिइन् ।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सम्मान स्वीकार गरिदिएकोमा दुबै स्रष्टालाई आभार प्रकट गरे । यो सम्मानलाई सार्थक बनाउन उपस्थित सबैप्रति उनले धन्यवाद ज्ञापन गरे । तेजेश्वरबाबु ग्वंगको घर नै निष्ठा छेँ भएको भन्दै यो घर निष्ठा र सम्मानको धरोहर भएको पनि उनले बताए ।
जितेन्द्र रसिकले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार ग्वंगका सुपुत्र संजीव ग्वंगलले अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।