
हरेकवर्ष व्यवहार गर्दै आएको हाम्रो पञ्चाङ्ग पात्रोहरुमा कलेर्गताव्दा भनेर जुन दिइएका हुन्,त्यही नै कलिगतसंवत् हु्न् । यो कुरा सर्वविदित नै छ । यसपालीको पञ्चाङ्ग पात्रो पल्टाएर हेरियो भने सवैमा कलिगतसंवत् ५१२६ दिइएका छन् । यस अलावा पञ्चाङ्ग पात्रोमा शाकेसंवत्,विक्रमसंवत्,इस्वीसंवत् पनि दिइएका छन् भने नेपालसंवत् पनि नहुने कुरै भएन । कलिगतसंवत् ५१२६ भनेको चैत्रादि संवत् भएकोले यो ने.सं ११४५ को चैत्रदेखि ११४६ को फागुनसम्म रहने भए । यता अव आउने कार्तिक शुक्ल प्रतिपदादेखि ने.सं ११४६ लाग्ने पनि सर्वविदित नै छ भने स्वभाविक रुपले ने.सं ११४६ भनेको पनि कलिगत ५१२६ को कार्तिकदेखि ५१२७ आश्विनसम्म रहने हुन्छ । यसलाई आधार मानेर कलिगतसंवत् र नेपालसंवत् बीचको अन्तर कार्तिकदेखि फागुनसम्म ३९८० र चैत्रदेखि आश्विनसम्म ३९८१ रहने स्पष्ट छ । त्यस्तैगरि कलिगतसंवत् ५१२६ र शाकेसंवत् भनिएको १९४७ बीचको अन्तर ३१७९ देखाइएको छ । यहाँ दिइएको शाकेसंवत् १९४७ र नेपालसंवत् ११४५ बीच अन्तर ८०२ देखिएकोले शाकेसंवत् भनेको शकसंवत् होइन । यहीँ निर गम्भीर ध्यानाकर्षण हुनु पर्ने जरुरी छ । गणितज्ञको ध्यान यता जान सकेको छैन ।
सूक्ष्म गणितमा मोटामोटी भन्ने सवाल आउँदैन, इतिहासमा एकदुई वर्ष तलमाथि हुनु स्वभाविक हो भन्नेहरु र गणना भनेको धोइफोइ गर्ने साधन हो भन्नेहरुको कुरा पनि सूक्ष्म गणनामा आकर्षित हुँदैन । लिच्छविसंवत्को निर्णयमा पृष्ठ ११ देखि २७ सम्म जम्मा दुईवटा मितिको गणना देखाइएका छन् । त्यो मोटामोटी होइन सूक्ष्म ढंगले गर्नु पर्दछ भनी देखाउन चाहेर देखाइएको हो । यहाँ सूक्ष्म गणना देखाइएतापनि शकसंवत् त्योबेला कार्तिकादि पनि भन्ने गणना चैत्रादिबाट गरेर जुन दुनियाँको आँखामा छारो हालिएको हो । त्यस्तो गणना काम लागेन निरर्थक छ भन्नु परेको हो । यही कुरा सामान्य जोडघटाउ जानेका व्यत्तिले पनि सहजै बुझोस् भनेर यहाँ सप्रमाण उदाहरण दिई यो लेख तयार गर्नु परेको हो ।
पहिलो उदाहरणः सुमतितन्त्र सारेको मिति
सूक्ष्म गणित गर्न खोज्ने व्यक्तिले सुमतितन्त्रको ४९८ वाला शकसंवत् र विक्रमसंवत्मा १३५ घटाउँदा आउने शकसंवत् किन भिन्नता आई विकर्षण भइरहेको छ यतातिर ध्यान दिइएन भन्ने नै हो । त्यतातिर गणितज्ञले भेउ पाउन नसकेको कारण निर्णयमा त्यो कुरा औंल्याउन सकेन । सुमतितन्त्रले ४९८ सम्म शकसंवत् चले त्यसपछि ३०४ वर्ष मानदेवसंवत् चले भन्छ भने त्यही ३०४ पछि चलेको नेपालसंवत्मा एकरुपता नभएको कुरा सुमतितन्त्र सारिएको मितिमा परीक्षण गरेर हेर्नु पर्दथ्यो तर हेरिएन । भनाईको मतलव ने.सं ४९५ पौषमा सुमतितन्त्र सारी सिध्याइएको हो । ४९५ मा ३०४ जोड्दा ७९९ वर्ष हुने त्यही ४९५को समकालीन वि.सं १४३१ मा ६३३ घटाउँदा चाहिं ७९८ मात्र आउने गर्छ । जबकि ४९८ र ६३३ एउटै वर्ष हो भनेको छ र ४९८ मा १३५ जोडेर ६३३ बनाइएको छ । यसैबाट लिच्छविसंवत्को निर्णयमा सूक्ष्म गणना हुनसकेको छैन भन्ने शंका उत्पत्ति हुन्छ ।
दोस्रो उदाहरणःसुमतितन्त्रको मूलवाक्य
यसको मूलवाक्यका मुताविक दुर्योधन राजा भएपछि कलियुग लाग्नेछ । राजा युधिष्ठिर र राजा दुर्योधनको संवत् २००० वर्षसम्म चल्नेछ । त्यसपछि ८०० वर्षसम्म राजा नन्दको संवत् चल्नेछ ।त्यसपछि १३२ वर्षसम्म राजा चन्द्रगुप्तको संवत् चल्नेछ । त्यसपछि २४७ वर्षसम्म राजा शूद्रकदेवको संवत् चल्नेछ । त्यसपछि ४९८ वर्षसम्म शकराजाको संवत् चल्नेछ ।
यसलाई थप खुलासा गर्न भनिएको
(१) कलिगत २००० वर्षसम्म युधिष्ठिरसंवत्
(२) कलिगत २००० वर्षको अन्त्यदेखि कलिगत २८०० वर्षसम्म नन्दसंवत्
(३) कलिगत २८०० वर्षको अन्त्यदेखि कलिगत ३९३२वर्षसम्म चन्द्रगुप्तसंवत्
(४) कलिगत ३९३२ वर्षको अन्त्यदेखि कलिगत ३१७९ वर्षसम्म शूद्रकदेवसंवत्
(५) कलिगत ३१७९ वर्षको अन्त्यदेखि कलिगत ३६७७ वर्षसम्म शकसंवत् चल्नेछन्
सुमतितन्त्रको मूलवाक्य अनुसार कलिगत ३६७७ र शक ४९८ बीचको अन्तर ३१७९ मात्र रहेको प्रत्यक्ष छ । गणितज्ञले त गणितको अंशअंश फरक नपर्नेगरि सूक्ष्म गणना गरेर मात्र निर्णय गर्नु पर्ने हुन्छ । पात्रोमा कलिगतसंवत् र नेपालसंवत् बीचको अन्तर कार्तिकदेखि फागुनसम्म ३९८० फरक र चैत्रदेखि आश्विनसम्म ३९८१ फरक देखी रहेकै छ । यसमा नेपालसंवत् सितको अन्तर ८०२ समेत गाभिएको छ । यो झिक्दा ३१७८।७९ मात्र भेटिन्छ । शकसंवत् र कलिगतको अन्तर ३१८० हो । ३१८० र ३१७८।७९ बीचको अन्तर १ वर्ष ५ महिना हो । त्यसकारण शाके भनेको शक भन्दा १ वर्ष ५ महिना अघि शुरु भएको संवत् भनेर स्पष्ट औंल्याउन सकिन्छ ।
तेस्रो उदाहरण: सुमतितन्त्रमा पछिपछि थपिएको वाक्य
त्यसपछि ३०४ वर्षसम्म मानदेवको संवत् चल्नेछ । यो सुमतितन्त्रमा पछि थपिएको वाक्यबाट लिइएको कुरा लिच्छविसंवत्को निर्णयको पृष्ठ ३ मा छ । सुमतितन्त्रमा विक्रमसंवत्को उल्लेख छैन तर ४९८ मा १३५ जोडेर वि.सं ६३३ देखाई ३०४ वर्ष मानदेवसंवत् चलेको भनी (४९८+३०४=)८०२ सम्म तथा (वि.सं ६३३+३०४=)९३७ सम्म चल्छ भनिएको छ । यताबाट वि.सं ९३७ सम्म मानदेवसंवत् चलीरहेको देखाइए पछि उता यथार्थ भने वि.सं ९३६ कार्तिक मै नेपालसंवत् शुरु भए । यहाँ आएर पं नयराज पन्त वि.सं ९३७ कार्तिकसम्म मानदेवसंवत चलीरहेको देखाउनमा तल्लिन भई जवरजस्ति ठेलीरहने गर्दै आए । उता यथार्थ इतिहासले वि.सं ९३६ कार्तिकबाटै मानदेवसंवत्लाई अघिबढ्न रोकी सकेकोले यसबाट मानदेवसंवत् ३०४ वर्षसम्म जानै सकेन भन्ने प्रष्टै देखियो । वास्तवमा इतिहास भनेको कसैले ठेलेको भरमा गुड्ने गाडी जस्तो होइन । त्यसकारण सुमतितन्त्रमा थपिएको वाक्य साँचो हो इतिहाससम्मत छ भनीरहने जतिपनि छन् ती वुद्धिजीविको वुद्धि देख्दा उदेक लाग्नु अनौठो होइन । किनभने यति सामान्य गणित पनि बुझ्न सामथ्र्य नभएको व्यक्तिलाई महान गणितज्ञ मानिरहने नै किन ? आश्चर्य छ ।
चौथो उदाहरण: वि.सं १७१२ मा सारिएको हरिवंश पुराणको पुष्पिका वाक्य
……संवत् नेपालिक ७७५ जैष्ठमासे शुक्लपक्षे पूर्णमास्यां तिथौ शुक्रवासरे…….
अथ।। कलिराजवर्ष ४७५६।।….अथ।। श्रीविक्रमाव्द ।।१७१२।। अथ श्रीशकरराजवर्ष ।। १५७७।।…..अथश्रीमानदेवराजवर्ष ।। १०७९ ।। ….अथ ।। स्वस्ति श्रीमतनेपालिक ।। श्रेयोस्तु ।। सम्वत् ।। ७७५।।
( लिच्छविसंवत्को निर्णय,पृष्ठ ४)
यताबाट
कलिगतसंवत् ४७५६–नेपालसंवत् ७७५= ३९८१
विक्रमसंवत् १७१२ – नेपालसंवत् ७७५=९३७
शकसंवत् १५७७ – नेपालसंवत् ७७५ = ८०२
मानदेवसंवत् १०७९ – नेपालसंवत् ७७५ =३०४
हरिवंश पुराणको पुस्पिका वाक्य जेठ महिनामा सारिएको हुनाले सोही मुताविक कलिगत र नेपालसंवत्मा ३९८१ फरक पर्ने भयो तर नेपालसंवत् कार्तिकादि भएकोले व्याख्याकारहरुले चैत्रभन्दा अघि ३९८० फरक हुन्छ भन्न सक्नुपर्दथ्यो भनिएन । त्यस्तैगरि नेपालसंवत्को शुरु नै वि.सं ९३६ कार्तिकमा भएकोले ९३७ फरक देखाउनु असंभव हो । लिच्छविसंवत्का निर्णायक कहलिन चाहने व्यक्तिले यो कुरा बूझ पचाइ आयो भन्दैमा साराले बूझ पचाइरहनु पर्ने जरुरी होइन । यस पुस्पिका वाक्यमा दिइएको शकरराजसंवत् १५७७ यदि यो साँच्चै शकसंवत् हो भने नेपालसंवत् ७७५ संग ८०२ वर्षको फरक किन देखियो ? हरेक गणकले बुझ्नै पर्ने कुरा हो ।
यही लिच्छविसंवत्को निर्णयको पृष्ठ ४१५ र ४१६ पल्टाएर हेर्न सकिन्छ । त्यहाँ वैशाख महिनाको अभिलेखको मितिमा पनि नेपालसंवत् सित ८०२ वर्ष फरक भएको संवत्लाई शकसंवत् मानेको छ भने माघ महिनाको अभिलेखमा पनि नेपालसंवत् सित ८०२ वर्ष फरक भएको उदाहरण दिएर शकसंवत् कार्तिकादि हो भनेर पनि दावा गरिएको छ ।
यही लिच्छविसंवत्को निर्णयको पृष्ठ १२३ पल्टाएर हेरियो भने ने.सं ४९५ पौषमा सारिसिद्ध्याएको सुमतितन्त्रको मितिलाई विक्रमसंवत् १४३१ हुन्छ भनेर दिइएको छ ।
विक्रमसंवत्मा १३५ घटाइयो भने शकसंवत् हुन्छ भनेर पृष्ठ २ मा वि.सं २०३५ मा शक १९०० भएको उदाहरण पनि दिइयो । तव वि.सं १४३१ मा १३५ घटाउँदा शक १२९६ आउने भयो । यही शक १२९६ र ने.सं ४९५ बीचको अन्तर भने ८०१ आएकोले ८०२ देखाउन असंभव किन ? भयो । यति सामान्य कुरा गणकलाई अत्तोपत्तो छैन भने त्यस खालको गणकलाई भास्कराचार्यको योग्यतासित तुलना गर्ने किन ? महान गणितज्ञ भनी तारिफ गर्दै आउने किन ? आश्चर्य छ ।
यहाँ पुस्पिका वाक्यमा मानदेवसंवत् १०७९ र नेपालसंवत् ७७५ दिइएको छ । यसबाट यी दुई संवत् बीचको अन्तर ३०४ वर्ष देखिने गरेको छ । पुस्पिकाले मानदेवसंवत् छ भन्छ भने यही लिच्छविसंवत्को निर्णयको पृष्ठ २७ पल्टायौं भने मानदेवसंवतको अस्तित्व मेटाउने काम पनि आफैले गरे किनभने मानदेवसंवत् ३०१ वैशाख भनेको वि.सं ९३५ वैशाख भनेर निर्णायकले निर्णय दिइएको तड्कारो देख्न सकिन्छ । यो भनेको वि.सं ९३६ कार्तिकमा नेपालसंवत् उठीसकेको कारणले हरिवंश पुराणले ३०४ वर्ष मानदेवसंवत् चल्यो भने तापनि ३०४ वर्ष मानदेवसंवत् चल्न सक्ने संभावनालाई स्वतः निरुत्साहित गराइदिएको छ । यो कुरा साँच्चैको गणितज्ञको दिमागमा अवश्य फुर्नु पर्ने कुरा हो । यसबाट पं नयराज पन्त साँच्चैको गणितज्ञ होइन रहेछ । किनभने आफनो गणनामा ३०१ वैशाख भनेको वि.सं ९३५ र शक ८०० वैशाख हुन्छ भनेर देखाउने भएपछि ३०४ वर्ष मानदेव संवत् चल्नको लागि वि.सं ९३८ कार्तिकसम्म घचेट्नु पर्ने हुन्छ र तबमात्र नेपालसंवत् उठ्ने संभावना हुन्छ भनेर आफैले सिद्ध गरेको भयो । यथार्थमा वि.सं ९३६ कार्तिक मै नेपालसंवत्को उठान भइसकेको हुनाले यहाँ पनि २ वर्षको हिसाव गोलमाल गरी बूझ पचायो भन्ने देखियो । त्यसकारण तारिफ गर्नेहरुले बेढंगले जतिसुकै प्रशंसा गरिरहेपनि यथार्थमा उनी सक्कली गणितज्ञ हो भनी विश्वास गर्ने ठाउँ छैन ।
पाँचौं उदाहरणः भक्तपुरको इनायचोको अभिलेख
यो अभिलेखमा संवत् ३१ द्वितीयपौषशुक्लाष्टम्याम् भनेर दिइएको छ । द्वितीयपौष भन्नासाथ यो वर्ष नेपालमा अधिमास मनाएको प्रमाणित भयो । यहाँ सुमतितन्त्रको सहयोग लिइयो भने संवत् ३१ मा ४९८ जोड्ने वित्तिकै शक ५२९ आउने प्रष्ट देखियो । लिच्छविसंवत्को निर्णयको २९४ पृष्ठ पल्टायौं भने शक ५२९ को वर्षमा अधिमास परेको देखाउन सकिंदैन । अझ त्यतिवेला चलेको संवत् चैत्रादि होइन कार्तिकादि थियो भन्ने कुरा चाँगुको निरपेक्षको अभिलेख,सूर्यघाटको अभिलेख र भक्तपुर अनन्तलिंगेश्वरको अभिलेखलाई साक्षात्कार गर्ने बित्तिकै छ्याङ्गै बुझ्नसकिने कुरा हो ।
यदि सक्कली गणितज्ञ कोही छ भने शकसंवत्लाई कार्तिकादि मानेको अवस्थामा उसले संवत् ३१ भनेको शक ५२९ को कार्तिकदेखि शक ५३० को आश्विनसम्म रहन्छ भन्दैन । किनभने लिच्छविकालमा चलेको संवत् कार्तिकादि हो यसलाई शकसंवत् भनेर ठहराउने आधार बनेन । यदि शकसंवत् भनेको चैत्रादि नै हो भनेपछि लिच्छविकालमा चलेको संवत्लाई चैत्रादि ठहराउने आधार बनाउन सकेको छैन ।
लिच्छविसंवत्को निर्णयको पृष्ठ ९ पल्टायौं भने अनन्तलिंगेश्वरको अभिलेखको आधारमा संवत् ३१ भनेको कार्तिकादि मानेको छ । सुमतितन्त्रमा विक्रमसंवत्को उल्लेख छैन तापनि यसमा वि.सं ६३३ जोडेर वि.सं ६६४ बनाइयो । सुमतितन्त्रले उपलव्ध गराउने शक ४९८ जोडे पनि शक ५२९ नै आउने हो र वि.सं ६६४ बाट १३५ घटाएपनि शक ५२९ नै आउने हो । फरक यहाँ यही कि ४९८ जोड्यौं भने कैफियत गर्न पाइएन । किनभने कार्तिकादि शक ५२९ कार्तिकदेखि आश्विनसम्म ५२९ नै भएर रहने भयो । ६३३ जोड्यौं भने संवत् ३१ भनेको वि.सं ६६४ को कार्तिकदेखि वि.सं ६६५ को आश्विनसम्म रहन्छ भन्न पाइयो र ६६४ मा १३५ घटाए शक ५२९ र ६६५ बाट १३५ घटाए शक ५३० हुने भन्न पाइयो । अधिमास सारणीमा शक ५३० को जेठमा परेको अधिमास यही वर्ष भित्र परेको देखाउन पाइयो । तर यस्तो कैफियत गणित सच्चा गणितज्ञले अवलम्वन गर्दैन । किनभने एकातिर शकसंवत् पनि कार्तिकादि भन्ने अर्को तिर त्यही शकसंवत्लाई चैत्रादि गर्ने काम निष्कलंकित गणितज्ञले गर्दैन । भनाइको मतलव सच्चा गणितज्ञले कैफियत गणना गर्दैन र देशको लागि जिम्मेवार व्यक्तिहरुले पनि गणितज्ञ मान्न लायक नभएको व्यक्तिलाई तारिफ गर्दै आयो किन ? आश्चर्य छ ।
छैठौं उदाहरण: चाँगुनारायणको गरुड कवचको अभिलेख
यो अभिलेखमा संवत् ३१ माघशुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतवार दिइएको छ । यो मिति माघ महिनाको हो स्पष्टै छ । संवत् ३१ मा चाहे ४९८ जोडुन् वा ६३३ जोडुन् आखिरकार शक ५२९ बाट गणना थाल्नु पर्ने हुन्छ । लिच्छविसंवत्को निर्णयको पृष्ठ ११ पल्टाएर हेरियो भने शक ५२९ हुन्छ नै भनिएको छ तर शक ५२९ को वर्षमा अधिमास परेको छैन । यसमा कसैको तागत छैन कि शक ५२९ मा अधिमास परेको देखाओस् । यसको मतलव शक ५३० जेठको अधिमास शक ५२९ को माघमा जोड्ने गलत काम सच्चा गणितज्ञले गर्दैन । यही पुस्तकको पृष्ठ ११ मा तिथि गण ल्याउन शक ५२९ को चैत्रदेखि माघसम्म गन्दा अधिमास सहित गरेर ११ महिनाको ३३० र माघशुक्ल त्रयोदशीको १३ समेत गरी कूल तिथिगण ३४३ देखाइएको छ । यो सरासर गलत हो सच्चा गणितज्ञले यस्तो भद्दा गल्ती कुनै हालतमा गर्दैन ।
यहाँ अधिमास भएको वर्षमा ३९० दिन हुने, ३८४ दिन हुने, १३ महिना हुने, दिन भनेको के तिथि भनेको के भन्ने सवाल गर्ने भन्दा पनि शक ५२९ को वर्षमा अधिमास छैन तर अधिमास नभएको वर्षमा अधिमास जोडेर भद्दा गल्ती एक बेजोड प्रकाण्ड विद्वानले गरेकोमा खेदजनक हुनगएको हो । किनभने माघ शुक्ल त्रयोदशीलाई ३४३ तिथिगण मानेपछि चैत्रशुक्ल प्रतिपदा आउनुको अघिल्लो दिनसम्म ४७ दिन भनौं वा तिथि समेत जोड्दा ३९० तिथि वा दिन हुन्छ । अहिलेसम्म जतिपनि प्रकाशित पञ्चाङ्ग पात्रोहरु हुन् सवै एकठाउँमा थुपारेर त्यसमध्ये ३९० तिथि भएको एउटा त भेट्टाउन सकेको छैन । बृथामा तारिफ मात्र गरेर हुंदैन ।
सातौं उदाहरण: सहोत्तरतन्त्रको पुस्पिका वाक्य
यो पुस्पिकामा संवत् ३०१ वैशाखशुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार दिइएको छ । यो मिति वैशाखको हो भन्ने स्पष्ट छ । यसमा सुमतितन्त्र मुताविक ३०१ मा ४९८ जोड्यौं भने शक ७९९ हुन्छ । लिच्छविकालमा व्यवहार भएको संवत् कार्तिकादि हुन् भन्नेमा निर्विवाद सिद्ध छ । यदि यो शक ७९९ लाई कार्तिकादि मानियो भने कार्तिकदेखि आश्विनसम्म नै ७९९ रहनु पर्ने हुन्छ । जस्तो अहिले नेपालसंवत् ११४५ पनि कार्तिकदेखि अर्को कार्तिक नआएसम्म ११४५ नै रहन्छ भने जस्तै यो पनि हो । लिच्छविसंवत्को निर्णयमा लिइएको सिद्धान्तमा शकसंवत् पनि कार्तिकादि र मानदेवसंवत् पनि कार्तिकादि मानेको छ । तव संवत् ३०१ लाई मानदेवसंवत् मानेपछि अर्को कार्तिक नआएसम्म ३०१ रहनु पर्ने भएपछि शक ७९९ पनि अर्को कार्तिक नआएसम्म ७९९ नै कायम रहनु पर्ने हुन्छ । यो कुरा साना बालबालिकाले पनि बुझ्छ भने महान गणितज्ञले नबुझेको त हुँदै होइन अतः उनले बूझ पचाएको हो भन्ने प्रष्ट भन्न सकिन्छ । लिच्छविसंवत्को निर्णयको पृष्ठ २७ पल्टायौं भने कार्तिकमा ७९९ भएको शकसंवत्लाई वैशाखमा ८०० हुने सकारेको मतलव शकसंवत् कार्तिकादि होइनन् चैत्रादि नै हुन् भनी सिद्ध गरेको भयो । जव शकसंवत्लाई चैत्रादि नै सिद्ध गर्नु नै थियो भने मोही माग्ने ढुङ्ग्रो लुकाउनु पर्ने किन ? तव लिच्छविकालमा चलेको संवत् कार्तिकादि हुन् भने शकसंवत् कार्तिकादि होइनन् त्यसैले लिच्छविकालमा चलेको संवत् शकसंवत् होइन है भन्न लाज मान्नु पर्ने किन ? यस्तो काइते पाराको गणना गर्नेलाई गणितज्ञ भनिंदैन ।
निष्कर्ष
भास्कराचार्य जस्ता महान गणितज्ञ यस लोकमा जन्मे तर उनको त्रुटि कसैले औंल्याउन सकेन उनी महान सावित भए । लिच्छविसंवत्को निर्णय गर्दा लेखकले असंख्य त्रुटि मात्र होइन सिद्धान्तमा देखाउने एउटा कुरा र गर्ने अर्को भएकोले उनलाई गणितज्ञ उपमा सुहाउँदो भएन । त्यस निर्णयमा भरमार त्रुटि विद्यमान भएपनि त्यसको परख गर्ने खुवी नभएको समूहले उनलाई महाविद्यावारिधि दिलाए तर त्यो योग्यता दिलाउन लायक व्यक्ति होइन ।
अझ उनलाई १२ वटा विषयका महाविद्यावारिधि धारी भनेर हावादारी तारिफ गर्दै उनका प्रत्येक लेख तथा पुस्तकलाई विश्वविद्यालयको पाठ्यक्रममा राखिनु पर्ने भन्न थालेको छ त्यतिमात्र होइन अझ उनलाई राष्ट्रिय विभूति,नेपालका सुकरात,प्रज्ञा मनीषी आदि अनेकअनेक उपमा दिई आएको देखिनु लज्जास्पद मान्न सकिन्छ ।
हामीले प्रयोग गर्दै आएको पञ्चाङ्गमा शकसंवत्को उल्लेख छैन अझ भन्नु पर्दा नेपालमा शकसंवत् भित्रिएकै होइन । लिच्छविकालमा चलेको संवत् जुन नेपालसंवत्सित हरहमेशा ८०२ फरक हुने गरेको संवत्लाई मनोमानी ढंगले कहिले शाके, कहिले शक नाम दिएर कालान्तरमा कार्तिकादि वर्षलाई समेत चैत्रादि बनाएर हुलिया बिगारी दिए । वास्तवमा शकसंवत् र नेपालसंवत् बीचको अन्तर कहिल्यै पनि ८०२ फरक हुन सक्दैन भन्ने कुरा कसैले मनन गर्न सकेको होइन । सामान्य गणित पनि मनन नगरि दिनाले गणित विषय पनि दूषित बनेको आभास भयो । सामान्य गणित पनि बुझ्न सक्तिन भन्नु केवल पन्छिने दाउ मात्र हो जस्तो लाग्दछ ।



