ईखबरनेट डेस्क,
काठमाडौं । नियामक निकायबाट नीतिगत सहजीकरण र सहुलियत पाएका वाणिज्य बैङ्कहरुले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका छन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरुले समिक्षा अवधिमा कुल ७१ अर्ब ५१ करोड आठ लाख रुपियाँ आर्जन गरेका हुन् । अघिल्लो वर्ष २०८०/८१ मा बैङ्कहरुले कुल ४९ अर्ब ८७ करोड ११ लाख रुपियाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा बैङ्कहरुको नाफा ४३.३९ प्रतिशतले बढेको छ ।
नियामक निकायबाट नीतिगत सहजीकरणमा सहुलियत पाएका वाणिज्य बैङ्कहरुले गत आर्थिक वर्षको नाफामा उल्लेख्य सुधार गरेका हुन् । जसका कारण चौंथो त्रैमासमा बैङ्कहरूलाई नाफा बढाउन सहयोग पुगेको थियो ।
साथै कर्जा असुलीलाई पनि सुधार्दै लगेका बैङ्कहरूले नीतिगत सहुलियतका कारण खराब कर्जादरलाई घटाएर भविष्यमा हुनसक्ने जोखिमका लागि छुट्याएका केही रकम पनि राइटब्याकमार्फत यो वर्ष बैङ्कहरूले नाफामा देखाउन पाउँदा नाफामा बढोत्तरी आएको हो ।
समिक्षा अवधिमा बैङ्कहरूको नाफाका साथै लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमतामा पनि उल्लेख्य सुधार गरेका छन् ।
बैङ्कहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १६ वटा वाणिज्य बैङ्कले नाफा बढाएका छन् भने चार वटाले घटाएका छन् ।
सर्वाधिक नाफा आर्जन गर्ने नबिल
अघिल्ला वर्षमा जस्तै समीक्षा वर्षमा पनि सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैङ्क नै रहेको छ भने नाफा बृद्धिदरको हिसाबले कुमारी बैङ्क अगाडि आएको छ ।
गत आर्थिक वर्षमा नबिल बैङ्कले सात अर्ब १२ करोड ७५ लाख रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष छ अर्ब १९ करोड ७१ लाख रुपियाँ नाफा कमाएको बैङ्कले अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले बढाएको हो ।
यस्तै नबिललाई पछ्याउँदै समीक्षा वर्षमा दोस्रो धेरै नाफा आर्जन गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क रहेको छ । बैङ्कले छ अर्ब ७५ करोड ६६ लाख रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैङ्कले चार अर्ब १० करोड ८८ लाख रुपियाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैङ्कले ६४.४४ प्रतिशतले नाफा बढाएको हो ।
नाफा आर्जनका हिसाबले तेस्रो स्थानमा आएको छ ग्लोबल आइएमई बैङ्क । बैङ्कले छ अर्ब २० करोड ४७ लाख रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैङ्कले छ अर्ब १३ करोड ७४ लाख रुपियाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैङ्कको नाफा १.१० प्रतिशतले बढेको छ ।
बृद्धिदर कुमारीको अग्रता
नाफा आर्जनको बृद्धिदरका हिसाबले सबैभन्दा अगाडि देखिएको छ । समिक्षा अवधिमा कुमारी बैङ्कले दुई अर्ब ११ करोड ६४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । कुमारीले अघिल्लो वर्षको तुलनामा ४५८२९.०१ प्रतिशतले नाफा बढाएको हो । यो बृद्धिदर वाणिज्य बैङ्कहरुमा सबैभन्दा बढी हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा प्रभु बैङ्कले पाँच अर्ब ४४ करोड २६ लाख रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैङ्कको नाफा ५१ करोड आठ लाख रुपियाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा बैङ्कको नाफा ९६५.४१ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमामा एभरेष्ट बैङ्कले चार अर्ब ९१ करोड ८१ लाख रुपियाँ, कृषि विकास बैङ्कले चार अर्ब १५ करोड ४४ लाख रुपियाँ, लक्ष्मी सनराइज बैङ्कले चार अर्ब ११ करोड ६९ लाख रुपियाँ, प्राइम बैङ्कले चार अर्ब दुई करोड ४४ लाख रुपियाँ, राष्ट्रिय वाणिज्य बैङ्कले तीन अर्ब ८१ करोड ६७ लाख रुपियाँ, नेपाल बैङ्कले तीन अर्ब ७७ करोड ३० लाख रुपियाँ, सिद्धार्थ बैङ्कले तीन अर्ब ३९ करोड ५२ लाख रुपियाँ, एनएमबी बैङ्कले तीन अर्ब २१ करोड ८७ लाख रुपियाँ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले तीन अर्ब दुई करोड ९३ लाख रुपियाँ, सानिमा बैङ्कले दुई अर्ब ५७ करोड ११ लाख रुपियाँ र माछापुच्छ्रे बैङ्कले दुई अर्ब एक करोड १४ लाख रुपियाँ नाफा आर्जन गरेको छ ।
यता नेपाल एसबीआई बैङ्क, सिटिजन्स र एनआईसी एसिया बैङ्कको नाफामा गिरावट आएको छ । समिक्षा अवधिमा नेपाल एसबीआई बैङ्कले एक अर्ब ८० करोड लाख रुपियाँ, हिमालयन बैङ्कले एक अर्ब ५१ करोड २५ लाख रुपियाँ, सिटिजन्स बैङ्कको एक अर्ब २९ करोड ३३ लाख रुपियाँ र एनआईसी एसिया बैङ्कले १६ करोड १५ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।
बढ्यो लाभांश क्षमता
नियामक निकायको नीतिगत सहजीकरणका कारण वाणिज्य बैङ्कहरुको लाभांश क्षमतामा पनि बढोत्तरी आएको छ । गत आर्थिक वर्ष २०८१/८२क मा बैङ्कहरुको ३८ प्रतिशतसम्मको हैसियत बनाएका छन् ।
लाभांश क्षमताको आधारमा एभरेष्ट बैङ्क पहिलो स्थानमा रहेको छ । एभरेष्टको वितरणयोग्य मुनाफा चार अर्ब ९५ करोड रुपियाँ रहेको छ । जसको आधारमा बैङ्कको लाभांश क्षमता ३८.२७ प्रतिशत देखिएको छ ।
समिक्षा वर्षमा नेपाल बैङ्क, कुमारी बैङ्क, हिमालयन बैङ्क र एनआइसी एशिया बैङ्क भने लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । नबिल बैङ्कको लाभांश क्षमता १७.६४ प्रतिशत, कृषि विकास बैङ्कको १८.४२ प्रतिशत, सानिमा बैङ्कको २०.४७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १९.८५ प्रतिशत, ग्लोबल आइएमईको १४.११ प्रतिशत र एनएमबी बैङ्कको १०.४१ प्रतिशत रहेको छ ।
सात प्रतिशतसम्म खराब कर्जा
समिक्षा अवधिमा वाणिज्य बैङ्कहरुको खराब कर्जा दर पनि उच्च देखिएको छ । सर्वाधिक हिमालयन बैङ्कको खराब कर्जा ७.२८ प्रतिशत पुगेको छ । नाफाको बृद्धिदरमा छलाङ मारेको कुमारी बैङ्कको ६.४२ प्रतिशत खराब कर्जा रहेको छ भने एनआइसी एशिया बैङ्कको ६.२८ प्रतिशत रहेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८५ प्रतिशत, प्राइम बैंकको ५.५६ प्रतिशत, सिटिजन्स बैंकको ४.९४ प्रतिशत, नेपाल बैंकको ४.४७ प्रतिशत, नबिल बैंकको ४.२० प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४.१२ प्रतिशत खराब कर्जा देखिएको छ । त्यस्तै एनएमबी बैंकको ३.७२ प्रतिशत, कृषि विकास बैंकको ३.४० प्रतिशत, नेपाल एसबिआई बैंकको ३.३५ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.१० प्रतिशत, सानिमा बैंकको ३.०१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २.७५ प्रतिशत, सिद्धार्थ बैंकको २.६२ प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको २.४५ प्रतिशत खराब कर्जा दर रहेको छ । सबैभन्दा न्यून भने एभरेष्ट बैंकको ०.३८ प्रतिशत मात्र खराब कर्जा रहेको छ ।