
गणित भनेको मूर्त विषय हो भने तर्क भनेको अमूर्त विषय हो । त्यसैले गणितमा तर्कको कुनै महत्व हुँदैन । तर्क गर्नेले ३ र ३ जोड गर्दा ७ बनाउन सक्ला तर गणितले ६ बाहेक अरु सिद्ध गर्दैन । कृष्ण काले भन्नु र काले कृष्ण एकै हो भन्न सक्ला ताकि काले पनि कालो वर्णको र कृष्ण पनि कालो वर्णको हो भने जस्तै शकसंवत् भन्नु र शाकेसंवत् भन्नु नामोच्चारणले एकै हो जस्तो देखिए पनि एउटै चाहीं बिल्कुलै होइनन् । किनभने शकसंवत् र शाकेसंवत् बीच वर्णको कुरा होइन गणितको कुरा आउँछ ।
नेपालमा दिग्गज विद्वानहरुले समेत शकसंवत् र शाकेसंवत् एकै हुन् भन्दै आएका छन् । तर यसलाई गणित अघिसारेर सिद्ध गरेको भने कसैले होइन । स्वयं इतिहासविद् गणितविद् भनाउँदाहरुले शकसंवत् भनियो कि चैत्रादि वर्ष हुन्छ भने शाकेसंवत् भनियो कि कार्तिकादि हुन्छ भनेर पनि देखाइरहेको पाइन्छ । फेरि उहाँहरु शकसंवत् चैत्रादि मात्रै हुनुपर्छ भन्ने छैन कार्तिकादि पनि छन् भनी शकको ठाउँमा शाकेसंवत्लाई उपस्थित गर्दै आएका पनि छन् । तब त्यहाँ तर्कको आवश्यकता होइन गणितको आवश्यकता पर्छ भनेर बुझ्न खोजेको बिल्कुलै देखिएको होइन । अरु त अरु नै भए स्वयं इतिहास संशोधन मण्डल जुन इतिहास शुद्ध लेखिनु पर्दछ भन्दै उदाएको संस्था हो । त्यसले समेत शकसंवत् र शाकेसंवत् एकै मान्दै आएका छन् । जसले गर्दा दुनियाँ दिग्भ्रमित हुनु स्वभाविक भइ रहेको छ । यो हालसालको कुरा मात्र होइन धेरै वर्ष अघिदेखि दिग्भ्रमित पार्दै आएको कुरा हो । त्यो भ्रमलाई यथावत् राख्ने कि विगतमा भ्रम हो भनी थाहा नपाएर पत्याइयो अब पत्याउनु भएन भन्ने हो ?सवाल यो हो । जसलाई त्यो भ्रम यथावत् राख्दा फाइदा छ उनीहरुले सुधार्ने कुरै गर्दैन । जो भ्रमको भुमरीबाट निस्कन चाहन्छ उनीहरुको लागि आँखा उघारेर हेर्न सहज होस् भनेर यो लेखमा त्यो कुरा औंल्याउने प्रयास गरिएको छ ।
वर्षमा १२ महिना हुन्छ भने लिच्छविकालमा नेपालमा व्यवहार भएको संवत् अमान्तमान भएकोले मध्यकालमा पनि अमान्तमान भइ व्यवहृत थियो भन्ने कुरा सबैलाई थाहा छ । अर्को कुरा त्यसबेला वर्षको शुरु कार्तिकबाट हुन्थ्यो भन्ने पनि थाहा भएकै कुरा हो । त्यसबेला मात्र होइन नेपालसंवत् अहिले पनि अमान्तमान भएकोले त्यसमा कार्तिकशुक्ल अघि र कार्तिककृष्ण पछि आउँछ । यस्तै गरी सबै महिनाको पहिलो पक्ष शुक्ल र पछिल्लो पक्ष कृष्ण भएर व्यवहार भइ आए । पूर्णिमान्तमानमा कृष्णपक्ष अघि र शुक्ल पक्ष पछि आउने गर्छ । त्यही भएर पूर्णिमान्तमा कृष्ण पक्ष एक महिना फरकपर्छ भनी ठान्नेहरु छन् । ठान्नेहरुले जे ठाने तापनि अमान्तमानको मितिलाई गणना गर्दा बार ल्याउन नसक्ने बित्तिकै पूर्णिमान्तबाट ट्वाक्क मिल्यो भनी झुक्याउन चाहिं बिल्कुलै पाईंदैन ।
यसरी अमान्तमानबाट पूर्णिमान्तमा हामफाल्नु पर्नाको मूल कारण भनेको शकसंवत् र शाकेसंवत् एकै हुन् भनी मानेको कारणले पनि हो । यसको निमित्त अभिलेखहरुमा भएको मिति औल्याएर हेरौं ।
१. कार्तिक महिनाः
यसमा शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई कछलाथ्व र कछलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा कार्तिकशुक्ल पक्षलाई कछलाथ्व भन्न पाइन्छ र कार्तिककृष्ण पक्षलाई कछलागा भन्न पाइन्छ । तर यसलाई पूर्णिमान्तबाट मंसिरशुक्ल र मंसिरकृष्ण भन्न पाईने किमार्थ होइन । किनभने त्योबेला पूर्णिमान्तको प्रचलन नेपालमा छँदै थिएन ।
राष्ट्रि««य अभिलेखालयमा संग्रहित बौद्धग्रन्थ भद्रकल्पावदान नामक हस्तलिखित ग्रन्थको पुष्पिका वाक्यमा ने.सं १०१४ कार्तिकशुदि ५ शाके १८१६ भनेर दिइएको स्पष्ट छ । ने.सं १०१४ भनेको मध्यकालको मिति होइन तथापि पूर्णिमान्तबाट मंसिरशुदि भन्न पाइने होइन । अर्को ने.सं १०१४ र शाके १८१६ लेखिएको देख्नासाथ यो मूर्त कुरा भयो किनकि यहाँ गणित तड्कारो उपस्थित छ । त्यो गणित भनेको यी दुई बीच ८०२ वर्ष फरक पनि प्रत्यक्ष नै छ ।
१०१४ कार्तिक भएकोले ९३६ जोड्दा वि.सं १९५० कार्तिक हुने भयो र शाके १८१६ लाई शकसंवत् मानेपछि यसमा १३५ जोड्दा वि.सं १९५० नभइ १९५१ किन देखिने भयो ? किनभने नेपालसंवत्मा ८०२ वर्ष फरक देखिने संवत् शकसंवत् होइनन् भन्ने स्पष्ट देखिने भएर हो ।
संशोधन मण्डलको मुखपत्र पूर्णिमा अंक ७८ को पृष्ठ ७ मा
नेपाली संवत्को वत्सरारम्भ कार्तिकशुक्ल प्रतिपदादेखि हुन्छ । शकसंवत् विक्रमसंवत् कलिगतवर्षको वत्सरारम्भ चैत्रशुक्ल प्रतिपदादेखि हुन्छ । यस पद्धतिअनुसार कार्तिकशुक्ल प्रतिपदादेखि फाल्गुनकृष्ण(पूर्णान्तमानले चैत्रकृष्ण) अमावास्यासम्म नेपालीसंवत्मा ८०१ जोडे शकसंवत्,९३६ जोडे विक्रमसंवत् ३९८० जोडे कलिगतवर्ष हुन्छ ।
पुष्पिका वाक्यमा भएको मिति १०१४ कार्तिक भइकन पनि ८०२ जोडेर शाके १८१६ दिइएको हुनु भनेको यो शकसंवत् होइन भन्ने स्पष्ट हुन्छ । १०१४ मा ९३६ जोड्दा वि.सं १९५० आउने शाके १८१६ लाई शकसंवत् मानेर त्यसमा १३५ जोड्दा चाहिं कार्तिक मै वि.सं १९५१ देखिने भएकोले शकसंवत् र शाकेसंवत् एउटै होइन भन्ने प्रष्ट हुन्छ । यो कुरा दृष्टान्त भएकोले मूर्त हो यो तर्क होइन ।
२ मार्ग महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई थिंलाथ्व र थिंलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा मार्गशुक्ल पक्षलाई थिंलाथ्व भन्न पाइन्छ र मार्गकृष्ण पक्षलाई थिंलागा भन्न पाइन्छ ।
भक्तपुर नगदेश स्थित गणेश मन्दिरको अभिलेखमा संवत् ८८९ मार्गशिल शुदि ४ श्रीशाके १६९१ विक्रमाव्द १८२६ कलि ४८७० भनेर दिइएको छ । यसमा मार्ग महिना भइकन पनि नेपालसंवत ८८९ र श्रीशाके १६९१ बीच ८०२ वर्ष कै फरक छ । नेपालसंवत् ८८९ मा ९३६ जोड्दा वि.सं १८२५ आउने श्री शाकेलाई शक मानेर १३५ जोड्दा अभिलेखमा भनिएकै वि.सं १८२६ आउने भनेको संशोधन मण्डलको सिद्धान्त अनुकूल देखिएन । फेरि ने.सं ८८९ मा ३९८० जोडे कलिगत वर्ष आउँछ भनिएकोमा कलिगत ४८६९ मात्र आएको छ अभिलेखमा भने ४८७० दिइएको छ । यसको मतलव अभिलेखसंग संशोधन मण्डलको सिद्धान्त कहीं पनि तादात्म्य मिलेको होइन ।
३ पौष महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई पोहेलाथ्व र पोहेलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा पौषशुक्ल पक्षलाई पोहेलाथ्व भन्न पाइन्छ र पौषकृष्ण पक्षलाई पोहेलागा भन्न पाइन्छ ।
भक्तपुर टुँडिखेल पोखरीनिरको पाटीको अभिलेखमा श्रीशाके १५५२ नेपालसंवत् ७५० पौषकृष्ण एकादशी बुधानुराध भनेर दिइएको छ । यसमा पौष महिना भइकन पनि नेपालसंवत ७५० र श्रीशाके १५५२ यी दुई बीच पनि ८०२ वर्ष कै फरक छ । नेपालसंवत् ७५० मा ९३६ जोड्दा वि.सं १६८६ आउने हुन्छ । १५५२ श्री शाकेलाई शक मानेर त्यसमा १३५ जोड्दा वि.सं १६८७ आउने हुन्छ । यहाँ पनि संशोधन मण्डलको सिद्धान्तमा तालमेल आएन ।
४ माघ महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई सिल्लाथ्व र सिल्लागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा माघशुक्ल पक्षलाई सिल्लाथ्व भन्न पाइन्छ र माघकृष्ण पक्षलाई सिल्ंलागा भन्न पाइन्छ ।
भक्तपुर टुँडिखेल ढोकानिरको सत्तलको अभिलेखमा नेपालसंवत् ७९८ श्रीशाके १६०० कलिगत ४७७९ विक्रमसंवत् १७३५ माघमासे शुक्लपक्षे पञ्चम्यांतिथौ रेवती नक्षत्रे वृद्धियोगे बृहस्पतिवासर भनेर दिइएको छ । यसमा माघ महिना भइकन पनि नेपालसंवत ७९८ र श्रीशाके १६०० यी दुई बीच पनि ८०२ वर्ष कै फरक छ । नेपालसंवत् ७९८ मा ९३६ जोड्दा वि.सं १७३४ आउने हुन्छ । श्री शाके १६०० लाई शक मानेर त्यसमा १३५ जोड्दा वि.सं १७३५ आउने हुन्छ । ने.सं ७९८ मा ३९८० जोड गर्दा कलिगत ४७७८ आउँछ तर अभिलेखमा ४७७९ दिइएको छ । तसर्थ संशोधन मण्डलको सिद्धान्तमा तालमेल देखिएन । यसरी तालमेल नहुनुको कारण शकसंवत् र शाकेसंवत् एकै हुन भनेकोले पनि हो ।
५ फाल्गुन महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई चिल्लाथ्व र चिल्लागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा फाल्गुनशुक्ल पक्षलाई चिल्लाथ्व भन्न पाइन्छ र फाल्गुनकृष्ण पक्षलाई चिल्लागा भन्न पाइन्छ ।
भक्तपुर दरबार मालती चोकको अभिलेखमा नेपालसंवत् ८१८ कलिगत ४७९९ श्रीविक्रम १७९९(१७५५), श्रीशक १६२० फाल्गुन मास शुक्लपक्ष नवम्यां तिथौ मृगशिर नक्षत्रे विस्कुंम्भयोगे यथाकरण मुहूत्र्तके बुधवासरे भनेर दिइएको छ । यसमा फाल्गुन महिना भइकन पनि नेपालसंवत ८१८ र श्रीशक १६२० यी दुई बीच पनि ८०२ वर्ष कै फरक छ । यहाँ शक नै भनेको छ भनेर हुँदैन गणित फरक छ । नेपालसंवत् ८१८ मा ९३६ जोड्दा वि.सं १७५४ आउने हुन्छ । तर अभिलेखमा १७९९ र १७५५ तर १७५४ छैन । नेपालसंवत्मा ३९८० जोडे भने कलिगत आउँछ भन्ने सिद्धान्त हो त्यसको पनि तालमेल देखिएन । किनभने ने.सं ८१८ मा ३९८० जोड्दा ४७९८ आउँछ तर अभिलेखमा ४७९९ दिइएको छ । यसरी सिद्धान्त छ एउटा यथार्थ छ अर्को हुनुको मतलव शकसंवत् र शाके संवत् एकै हुन् भनेकोले हो ।
६ चैत्र महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई चौलाथ्व र चौलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा चैत्रशुक्ल पक्षलाई चौलाथ्व भन्न पाइन्छ र चैत्रकृष्ण पक्षलाई चौलागा भन्न पाइन्छ ।
ललितपुर सुनधारा स्थित शिवमन्दिरको अभिलेखमा कलिगतवर्ष४४०१ श्रीविक्रमराजवर्ष १४६१ श्रीशकराजवर्ष१३२६ श्रीमत नेपालिक श्रयोस्तु ५२४ चैत्रकृष्ण अष्टमी तिथौ उत्तराषाढा नक्षत्र साध्ययोग बृहस्पतिवासरे भनेर दिइएको छ । यसमा चैत्र महिना र नेपालसंवत ५२४ छ । ने.सं ५२४ र श्रीशकराजवर्ष १३२६ बीच ८०२ वर्ष कै अन्तर छ ।
संशोधन मण्डलको मुखपत्र पूर्णिमा अंक ७८ को पृष्ठ ७ मा
नेपालीसंवत्मा ८०२ जोडे शकसंवत्,९३७ जोडे विक्रमसंवत् ३९८१ जोडे कलिगतवर्ष हुन्छ ।
यहाँ शकराजवर्ष १३२६ दिइएको र विक्रमसंवत् १४६१ दिइएको मा ८०२ र ९३७ फरक त देखियो । नेपालसंवत्मा ३९८१ जोडे कलिगत आउँछ भने मुताविक ४५०५ आउनु पर्ने ४४०१ किन भएको यसबारे कसैको ध्यान गएको छैन ।
सबभन्दा आश्चर्य भनेको चैत्र शुक्ल प्रतिपदादेखि कार्तिककृष्ण अमावास्यासम्म नेपालसंवत्मा ८०२ जोड्नुपर्ने कुरा स्पष्ट देखिन्छ भन्दै नेपालसंवत्मा ८०२ जोडे शकसंवत्,९३७ जोडे विक्रमसंवत् आउँछ भन्ने पनि सिद्धान्त पूर्णिमा अंक ७८ को पृष्ठ १५ मा छ । फेरि नेपालसंवत्को प्रारम्भ कार्तिकशुक्ल प्रतिपदादेखि हुने हुनाले तथा त्यस समयमा नेपालसंवत् र शकसंवतको अन्तर ८०१ हुने भनेर १३२+८०१ =९३३ हुने गरी पाटन गचाननीको आषाढको मितिको कुरा पनि छ । यसबाट संशोधन मण्डलको वास्तविक सिद्धान्त के हो ? त्यो स्पष्ट छैन भन्न सकिन्छ ।
७ वैशाख महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई बछलाथ्व र बछलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा वैशाखशुक्ल पक्षलाई बछलाथ्व भन्न पाइन्छ र वैशाखकृष्ण पक्षलाई बछलागा भन्न पाइन्छ ।
भक्तपुर टुँडिखेल पोखरीनिरको पाटीको अभिलेखमा श्रीशाके १५५२ नेपालसंवत् ७५० वैशाषकृष्ण द्वादशी रेवतीनक्षत्र प्रीतियोग बृहस्पतिवार भनेर दिइएको छ । यसमा पौष महिना र वैशाख दुवैमा नेपालसंवत ७५० र श्रीशाके १५५२ भएकोले यी दुई बीच पनि ८०२ वर्ष कै फरक छ । नेपालसंवत् ७५० मा ९३६ जोड्दा वि.सं १६८६ आउने हुन्छ । १५५२ श्री शाकेलाई शक मानेर त्यसमा १३५ जोड्दा वि.सं १६८७ आउने हुन्छ त भनियो पौषमा वि.सं १६८७ भएपछि विक्रमसंवत् त कार्तिकादि होइन वैशाखदेखि १६८८ हुन नपर्नाको कारण स्पष्ट पार्न सकेको छैन । यसरी शाकेसंवत्लाई घरिघरि कार्तिकादि घरिघरि चैत्रादि बनाउने संशोधन मण्डलको प्रवृत्ति बडा बिचित्र छ ।
८.जेष्ठ महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई तछंलाथ्व र तछलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा ज्येष्ठशुक्ल पक्षलाई तछलाथ्व भन्न पाइन्छ र जेष्ठकृष्ण पक्षलाई तछलागा भन्न पाइन्छ ।
भक्तपुर तलेजु मन्दिरको अभिलेखमा कलिगताव्द ४८०७ विक्रमाव्द १७६३ शाकाव्द १६२८ नेपालसंवत् ८२६ ज्येष्ठ मास कृष्णपक्ष चतुर्थी पर पञ्चमी तिथौ शतभिषा नक्षत्र आयुष्मानयोग बुधवार भनेर दिइएको छ । यसमा ज्येष्ठ महिना र नेपालसंवत ८२६ छ । ने.सं ८२६ र शाकाव्द १६२८ बीच ८०२ वर्ष कै अन्तर छ । यसमा नेपालसंवत्मा ८०२ जोडे शक,१३५ जोडे विक्रमसंवत् र ३९८१ जोडे कलिगत हुन्छ भनी पूर्णिमा अंक ७८ को पृष्ठ ७ मा भनेको कुरा अभिलेखले पनि त्यही देखायो तर नेपालसंवत् सित ८०२ वर्ष भएको संवत् वास्तविक शकसंवत् होइन । नेपालसंवत्मा ८०० र ८०१ जोड्न पाउने मात्र वास्तविक शकसंवत् हो ।
९. आषाढ महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई दिल्लाथ्व र दिल्लागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा आषाढशुक्ल पक्षलाई दिल्लाथ्व भन्न पाइन्छ र आषाढकृष्ण पक्षलाई दिल्लागा भन्न पाइन्छ ।
भक्तपुर दरवार नजिकै हिटीगामा रहेको अभिलेखमा श्रीनेपालसंवत् ७९८ श्रीशकराज १६०० कलिगत ४७७९ विक्रमादित्य १७३५ आषाढमासे शुक्लपक्षे दशम्यां तिथौ स्वाति नक्षत्रे सिद्धियोगे तैतिलकरणे बुधवासरे भनेर दिइएको छ ।
माथि भक्तपुर टुँडिखेल ढोका निर सत्तलको अभिलेख माघ महिनाको छ । त्यसमा नेपालसंवत् ७९८ छ त्यसको शकसंवत् , विक्रमसंवत् र कलिगतसंवत जे दिइएको थियो यहाँ आषाढमा पनि त्यहीत्यही दिइएको छ । यसको मतलव नेपालसंवत् कार्तिकादि भएजस्तै अरुपनि सबै संवत् कार्तिकादि मानेको छ । यो कुनै पनि सिद्धान्तको अनुकूल छैन ।
१०. श्रावण महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई गुँलाथ्व र गुँलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा श्रावणशुक्ल पक्षलाई गुँलाथ्व भन्न पाइन्छ र श्रावणकृष्ण पक्षलाई गुँलागा भन्न पाइन्छ ।
भक्तपुर दरवार स्थित ढुंगेधाराको अभिलेखमा नेपालसम्वत ८०८ श्रीकलिगत ४७८९ श्रीविक्रम १७८९ श्रीशक १६१० श्रावणमासे शुक्लपक्षे पूर्णिमास्यान्तिथौ श्रवण नक्षत्रे सौभाग्ययोगे यथाकरण मुहूर्तके बुधवासरे भनेर दिइएको छ । यसमा श्रावण महिना र नेपालसंवत ८०८ छ । ने.सं ८०८ र श्रीशक १६१० बीच ८०२ वर्ष कै अन्तर छ । यसरी शाकेमा पनि ८०२ फरक र शकमा पनि ८०२ फरक देखिएका कारण सायद शक र शाके एकै हुन भनिएका होला । वास्तवमा शक ८०१ कार्तिक शुक्ल प्रतिपदादेखि नेपालसंवत् शुरुवात भएकोले शकसंवत् बनाउन नेपालसंवतमा कहिल्यै पनि ८०२ जोड्न पाईदैन । यहाँ वर्णको कुरा गर्ने होइन गणितको कुरा गर्नु पर्ने हुन्छ ।
यसमा श्रीशक भनेर १६१० दिइएको छ यसमा १३५ जोड्दा पनि १७८९ आउँदैन र नेपालसंवत् ८०८ मा ९३७ जोडे पनि विक्रमसंवत् १७८९ आउँदैन तर अभिलेखमा श्रीविक्रम भनेर १७८९ दिइएको छ यो पनि कुनै कसैको सिद्धान्त अनुकूल छैन । यसमा नेपालसंवत्मा ३९८१ जोडे कलिगत आउँछ भनेको चाहिं त्यही ४७८९ दिइएको छ । तैपनि यसमा दिइएको शक र विक्रम नमिलेको कारण कसैले तादात्म्य मिल्यो भन्दै मख्ख पर्नु पर्ने होइन ।
११ भाद्र महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई ञँलाथ्व र ञँंलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा भाद्रशुक्ल पक्षलाई ञँलाथ्व भन्न पाइन्छ र भाद्रकृष्ण पक्षलाई ञँलागा भन्न पाइन्छ ।
भक्तपुर दरवार कुमारी चोकको अभिलेखमा नेपालसम्वत ७९७ विक्रम १७३४ शक १५९९ कलि ४७७९ भाद्रशुदि द्वितीया भनेर दिइएको छ । यसमा भाद्र महिना र नेपालसंवत ७९७ छ । ने.सं ७९७ र शक १५९९ बीच ८०२ वर्ष कै अन्तर छ । यसरी शाकेमा पनि ८०२ फरक र शकमा पनि ८०२ फरक देखिएका कारण सायद शक र शाके एकै हुन भनिएका होलान् । वास्तवमा शक ८०१ कार्तिक शुक्ल प्रतिपदादेखि नेपालसंवत् शुरुवात भएको कारणले शकसंवत् बनाउन नेपालसंवतमा कहिल्यै पनि ८०२ जोड्न पाइने होइन, यो गणित विरुद्ध हो । यहाँ ने.सं ७९७ मा ९३७ जोडे पनि वि.सं १७३४ र शक १५९९ मा १३५ जोडे पनि १७३४ नै आउने भएर संशोधनमण्डल मख्ख पर्दो होला तर नेपालसंवत् ७९७ मा ३९८१ जोडे कलिगत आउँछ भनेको कुरा चाहीं तालमेल मिलेको छैन किनकि ७९७ मा ३९८१ जोड्दा कलिगत ४७७८ मात्र आउँछ । अभिलेखमा त कलिगत ४७७९ दिइएको प्रत्यक्ष छ ।
१२ आश्विन महिना:
यसमा पनि शुक्लपक्ष अघि र कृष्णपक्ष पछि आउँछ । नेपालसंवत्मा यसलाई कौलाथ्व र कौलागा भनिन्छ । अमान्तमानको मितिको बार गणना गर्दा आश्विनशुक्ल पक्षलाई कौलाथ्व भन्न पाइन्छ र आश्विनकृष्ण पक्षलाई कौलागा भन्न पाइन्छ ।
काठमाडौं शहरको प्रशिद्ध रानीपोखरीको अभिलेखमा नेपालसम्वत ७९० आश्विनमासे शुक्ल पक्ष पूर्णमास्यांन्तिथौ उत्रभद्रनक्षत्र ध्रुवयोग सोमवार र श्रीशाके १५९२ कार्तिक शुदि पूर्णिमा भनेर दिइएको छ । यसमा आश्विन महिना र नेपालसंवत ७९० छ । श्रीशाके १५९२ र कार्तिक शुदि पूर्णिमा पनि छ । ने.सं ७९० र श्रीशाके १५९२ बीच ८०२ वर्षको अन्तर पनि कायेम छ । पूर्णिमान्त र अमान्तमा शुक्लपक्ष दुवैको उही हुनेहो अहिले पनि उही नै छ । केवल कृष्णपक्षमा मात्र फरक हुने गर्छ यो कुरा थाहा नपाएको व्यक्ति इतिहासकार ज्यातिषविद् हुन सक्दैन । किनभने अभिलेखमा आश्विनशुक्ल पूर्णिमालाई कार्तिकशुक्ल पूर्णिमा भनेर अहिलेको पात्रो हेर्दा एक महिना धकेलिएको देखिन्छ । यहाँ शुक्लपक्षमा समेत अमान्त र पूर्णिमान्तमा फरक देखाइयो । जुन अभिलेखमा अंकित गर्दा गराउँदाको त्रुटि मात्र हो ।
निष्कर्ष:
यसरी बाह्रै महिना नेपालसंवत्सित ८०२ वर्ष फरक भएको संवत्लाई इतिहासकारहरुले शकसंवत् तथा शाकेसंवत् ठान्दै आइरहनु गलत हो । अभिलेखहरुमा देखा परेको भनेर पनि हुँदैन गणितले त्यसलाई पुष्टि गर्दैन भन्ने कुरा हृदयंगम गर्न अति आवश्यक छ ।
मध्यकालीन अवस्थालाई मध्यनजर गर्दा कार्तिक अघि आउने र आश्विन पछि आउने हुन्छ । यसबाट अभिलेखमा भएको रानीपोखरी प्रतिष्ठा गरेको मिति एकै दिनको होइन भन्नु पर्ने अवस्था आइपर्छ । तर अभिलेखको आसयले एकै दिनको मिति बताउँछ । रानीपोखरीको वायव्यकोणको अभिलेखमा लेख तयार गर्ने पण्डित कृष्ण मिश्र र नैऋत्य तथा इशानकोणको अभिलेखमा पण्डितको नाम वशिष्ठ शर्मा छ । उनीहरुको दिमागमा पूर्णिमान्त र अमान्तमा एक महिना फरक छ भन्ने रहेकोले त्यही कुरा यो अभिलेखमा प्रतिबिम्वित भएको बुझिएको हो । यथार्थ कुरा राख्दा कोही रिसाउँछ भने रिसाउन् केही छैन । यसमा कसैले हिच्किचाउनु पर्दैन ।
वास्तवमा नेपालसंवतसित ८०२ वर्षको अन्तर देखिएको जति त्यो लिच्छविकालदेखि चलेर आएको संवत् हो र नेपालसंवत् सित ८०० र ८०१ अन्तर देखिएको मात्र शकसंवत् हो । संशोधन मण्डलको सिद्धान्त पहिल्याउन थाल्यो भने एउटा ठाउँमा नेपालसंवत्मा ८०१ र ८०२ जोड्ने कुरा गरेको पाइन्छ भने अधिमासको मामलामा पौषको अभिलेख देखे पनि नेपालसंवत्मा ८०१ र आषाढको मिति देखेपनि ८०१ नै जोड्ने गरेको कुरा पूर्णिमा अंक ७८ को पृष्ठ ७ र पृष्ठ १५ देखि २० सम्म पल्टाएर हेरियो भने तड्कारो देख्न पाइन्छ । यस प्रकारको सिद्धान्त संसारको कुनै शास्त्र र गणितले पुष्टि गर्न सक्दैन । केवल उहाँहरुको आत्मरति तर्क हो । तर्क भनेको मूर्त होइन गणित मात्र मूर्त हो । त्यसकारण शक र शाके एउटै हो भनी सिद्ध गर्न पनि गणितबाटै देखाउनु जरुरी हुन्छ । अमान्तमानको मितिको वार गणना गर्दा वार आएन भनेर पूर्णिमान्तबाट आयो भन्दै ढाँट्न पाइने होइन र अधिमासको कुरा गर्दा अधिमास त कति आए कति गइसके त्यसमध्ये एउटा पंचांगमा ३९० दिन भएको देखाउन कसैले सकेको होइन । त्यसरी पुंग न पुच्छरका कुरा गर्नेहरुबाट संशोधन मण्डल महान भन्दै आउनुको कुनै सार्थक माने राखेको छैन ।


