काभ्रे । विपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ।
जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ।
उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो ।
मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा बिपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन् ।