कतिपय मान्छेको स्वभाव यस्तो छ कि आफू भ्रम फैलाउने त्यही भ्रमलाई अरु सबैले आत्मसात गर्नै पर्ने मान्यता बोकी रहने देखिंदै आएको छ । यदि उनीहरुले फैलाइ आएको भ्रमलाई आत्मसात गरेन भने “मूर्खशिष्योपदेशेन पण्डितोऽप्यवसीदति” भनी चाणक्यनीति दर्पणको हरफ अघिसारेर त्यसलाई हूर्मत लिने गर्दै आएको कुरा संशोधन मण्डलको पूर्णिमा अंक ७८ मात्र पल्टाएर हेरे पनि त्यसमा प्रत्यक्ष देख्न पाइन्छ । यो कुरा प्रायः सबैलाई थाहा छ तर भ्रम कसरी फैलाइ आएको ख्याल नहुन सक्छ । ती मध्ये एउटा उदाहरण पाटन गचाननीको अभिलेखलाई औंल्याएर हेरौं ।
यो अभिलेख धनवज्र वज्राचार्यको पूर्व मध्यकालका अभिलेखमा संख्या ६, पृष्ठ ३३ मा प्रकाशित रहेछ । अघि यही अभिलेखको संवत् प्रकरण बारेमा लुशियानो पेतेकको मेडिइभल् हिष्ट्री अफ नेपालको ३६ पृष्ठमा पनि चर्चा परेको रहेछ । संशोधन मण्डलको अभिलेख संग्रह नवौं भागको २४—२५ पृष्ठमा पनि यसको अभिलेख पाठ प्रकाशित रहेछ र पूर्णिमा अंक ३० को १२१—१२३ मा पनि थप व्याख्या गरी अमान्तमानको मितिलाई पूर्णान्तमानबाट गणना गर्दा ट्वाक्क मिल्यो भनी दिनेशराज पन्तद्वारा लेखिएको लेख प्रकाशित छ ।
पूर्व मध्यकालका अभिलेखमा दिइएको व्याख्या अनुसार यो अभिलेख उमामहेश्वर मूर्तिको पादपीठ रहेछ । यसमा शिव पार्वती गणेश र कुमार भिन्न प्रकृतिका छन् तर सवै परिवार मिलेर रहेको मतलव संयुक्त परिवारको समाज बलियो भन्ने देखाउनका लागि स्थापना भएको भन्ने व्याख्या छ । यो अभिलेखमा रुद्रदेव र भोजदेवको संयुक्त शासन रहेको बताइएको छ र औंशीको दिन चन्द्र र सूर्य मिलेर रहेको भने जस्तै काका भतिजा मिलेर बसेको सन्दर्भ चर्चा गरिएको छ ।
पेतेकले भोजदेवलाई रुद्रदेवको नाति भनेर परिभाषित गरेको रहेछ । यो अभिलेखलाई ललितपुरको नाम स्पष्ट उल्लेख भएको पहिलो अभिलेख देखियो भन्ने धनवज्र वज्राचार्यको भनाइ छ । हुनत नेसं १०७ को अभिलेखमा ललितेशमहादेवको उल्लेख छ भने यसमा ललितपुरमा त्यतिखेर धेरै कमलपोखरीले भरिएको रमणीय शहर थियो भनिएको छ । यस अभिलेखमा विद्याको स्तर गिरेको तर कलाको स्तर नगिरेको र शैवधर्मको दर्शन पक्षमा केही अन्तर वारे केही संकेतको आशंका गरिएको छ ।
मुख्यतः यस अभिलेखमा साल मिति १३२ छ यो नेपालसंवत् अमान्तमान हो तिथि त प्रथमाषाढ शुक्ल त्रयोदशी छ । यसलाई पूर्णिमान्तबाट श्रावणशुक्ल त्रयोदशी हुन जान्छ भनी पण्डितहरुले जुन व्याख्या गर्दै आएको देखिन्छ । हो यही नै फैलाइ आएको वाहियात भ्रम हो भन्ने कुरा पाठकहरुमा बोध होस भनी यो लेख तयार गरिएको हो ।
पेतेकले मैत्र नक्षत्र भनेको अनुराधा नक्षत्र भनी अर्थ लगाउनु भएकोछ यही कुरा अरुले पनि सकारेको छ ।यसमा विवाद होइन । उनले नेसं १३२ प्रथमाषाढ शुक्ल त्रयोदशी भनेको इ.सं १०१२ जून ५ तारिख बृहस्पतिवार त्जगचकमबथ पर्न आउँछ र यो भेरिफाइद भएको भनी पेतेकले निर्धक्क सित बताएको छ तर कसरी भेरिफाइद भयो भन्ने कुरा गणनाका न्यासका चरणहरु कहीं कतै देखाइएको छैन । हो यही कुरा आपत्तीजनक छ किनभने यसको वास्तविक इसं १०११ हो तर उनले १०१२ भनेको छ । आषाढ महिना भएकोले अंग्रेजी महिना जून भन्न खोजेको देखियो भने आषाढ शुक्ल त्रयोदशी प्राय कति तारिख पर्दो रहेछ भन्ने अडकल गरेर जून ५ भनेको मात्र देखियो तर त्यत्तिकै गणना नै नगरी त्यसरी भन्न पाइने कुरो होइन । त्यसमाथि प्रथमाषाढ भनिएको छ यहाँ अधिमास जनिए पछि जून महिना नभइ जुलाईमा पर्न जाने मिति हो यता उनको कुनै हेक्का रहेन । अभिलेखमा बृहस्पतिवार भनिएकोले थर्सडे भनियो । यो त सामान्य कुरा हो केटाकेटीले पनि भन्न सक्ने कुरो हो । यसको मतलव विदेशी लेखकले तारिख बार लेखेर दिएपछि अवश्य गणना गरेरै दिएको हुनुपर्दछ भनी यसमा आँखा चिम्ली विश्वास गर्दै आएको बुझियो । वास्तवमा यसरी विश्वास गर्नुलाई प्रामाणिक इतिहास भनिंदैन । फेरि नेपालीहरु विदेशीले लेखेको कुरा भयो कि प्रमाणका आधारमा धेरै विचार गरेरै लेखियो होला भनी दृढविश्वास राख्ने गर्दछ । तर विदेशी विद्वानसंग गणनाको हिसाव फिहरिस्त माग्ने आँट भने कसैले गर्दैनन् र आफुले पनि गणना परीक्षा गरेर हेर्ने आँट गर्दैनन् ।
यही अभिलेखको बारेमा संशोधन मण्डलको खम्बा कहलिएका व्यक्तिले पूर्णिमा अंक ३०को १२३ पृष्ठमा व्यक्त गरेका कुरा यस प्रकार छ:-
ने.सं १३२(वि.सं १०६९) प्रथम आषाढ शुक्ल त्रयोदशी बृहस्पतिवार अनुराधानक्षत्रमा देवताको प्रतिष्ठा गरियो ।
यस दिनको गणना यस प्रकारको छ
ने.सं १३२ वि.सं १०६९ आषाढ शुक्ल आषाढ १३ गते वार बृहस्पतिवार घडीपला १०।२ नक्षत्र अनुराधा घडीपला ७।३०
उहाँ संशोधन मण्डलको व्यक्ति भएकोले अहिलेसम्म कसैले उनको कुरामा असहमति जनाउने आँट गरेनन् । किनकि नेपालमा जसको सिङ् छैन उसैलाई तीखे मान्ने चलन छ । यदि कसैले यो तरिका भएन भनी प्रश्न उठाए भने उनीमाथि एक्कासी जाइलागी उनीहरुलाई बुद्धिदरिद्र, बदनियत पूर्ण सोधाइ, मूर्ख फटाहा आदि इत्यादी राष्ट्रियगाली प्रक्षेपण गरी हाल्ने गर्दा पनि होला अहिलेसम्म कोही चुईक्क नबोलेको हो तर सत्य कुरा जनसमक्ष राख्न डराउनु पर्ने होइन निर्भिक भएर राख्न सकिन्छ । जस्तैः
पहिलो प्रश्नः अभिलेखमा आषाढको मिति छ नेसं १३२ र विसं १०६९ बीचको अन्तर ९३७ देखाउनु त भयो । तर के यो सुमतितन्त्रको सिद्धान्त अनुकूल होइन । किन सुमतितन्त्रको प्रतिकूल सिद्धान्त रोजेको ?
दोस्रो प्रश्न: वि.सं १०६९ बाट १३५ घटाइयो भने ९३४ आउँछ । यसको समकालीन शकसंवत् ९३४ हुनुपर्ने हो कि शकसंवत् ९३३ हुनु पर्ने हो ?
तेस्रो प्रश्न: लिच्छविसंवत्को निर्णय सकारियो भने असारको मितिमा १३५ होइन १३६ घटाउनु पर्दछ भनिएको छ । तब कुन बाटो अपनाउने हो त ?
चौथो प्रश्नः पूर्णिमा अंक ७८ को पृष्ठ १५ मा ने.सं १३२ मा ८०१ जोडेर आषाढ कै मितिलाई शक ९३३ को दावा पनि गरेको छ भने फेरि ने.सं १३२ भनेको शक ९३३ को कार्तिकशुक्ल प्रतिपदादेखि शकसंवत् ९३४ को आश्विन (पूर्णान्तमानले कार्तिककृष्ण अमावास्यासम्म) रहन्छ पनि भनेको दृष्टान्त छ । के नेपालसंवत् १३२ को कार्तिकदेखि चैत्र बीच पनि अर्को आषाढ महिना छ ?
पाँचौं प्रश्नः नेसं १३२ आषाढको समानान्तर शक ९३३ आषाढ पनि हो शक ९३४ आषाढ पनि हो भन्नु के यो बुद्धिमानले दिने तर्क हो?
छैठौं प्रश्नःनेसं १३२ आषाढ भनेको शक ९३३ आषाढ भएपछि नेसं १३२ भनेको शक ९३२को कार्तिकदेखि शक ९३३ को आश्विनसम्म रहने ठहर्छ । तब शक ९३४ जेष्ठको अधिमास त्यो वर्ष भित्र परेन भन्ने थाहा हुँदाहुँदै त्यसको जिकिर किन गरेको ?
सातौं प्रश्नः पूर्णिमा ७८ को पृष्ठ १२ मा हेरियो भने सुमतितन्त्रमा नेपालसंवत्सरे कम्र्मभूमौ स्थाप्य। नयनाभ्रनागा। ८०२। संयोज्यं शककालम्भवति।। भनेको उल्लेख गरिएकै हो । चौथो ,चौधौं र पन्ध्रौं अभिलेख पृष्ठ १७ र १९ मा पौषमा परेको अधिमास छ । यहाँ आषाढ र पौष दुवै तिर नेपालसंवतमा ८०१ नै जोडेर शकसंवत् बनाइएको छ । वर्षको पूर्वार्ध र उत्तरार्ध दुवैमा ८०१ मात्रै जोडेपछि ८०२ जोड्नु पर्ने महिना कुन हो त ?
आठौं प्रश्न: इतिहास र इतिहासकारहरु के मदारीको बाँदर झैं संशोधन मण्डलले जसरी नचायो त्यसरी मात्रै नाचेर बस्नु पर्ने हो त ? नाचेर बस्ने सौख हुनेहरु नाचेर बसे भन्दैमा अरुले किन त्यसको सिको गर्ने ?
नवौं प्रश्नः अब कुरो आयो शंकरमान राजवंशीले शकसंवत् कार्तिकादि हुँदैन चैत्रादि मात्र हो भनेर राखेको भनाइ माथि इतिहास संशोधन ५१ मा शाकेसंवत् कार्तिकादि मानेर गणना गरेको औल्याइ आफैले लेखी सकेकोले उहाँलाई जानाजान बदमासी गर्ने नियतले लेखेको भनी आरोप लगाइएको छ र पूर्णिमा अंकको अधिकाँश अंकमा उहाँलाई राष्ट्रिय गाली खर्च नगरेको अंक नै छैन । आफ्नै पुस्तकहरु त परै जाओस् यही पूर्णिमा अंक ७८ को पृष्ठ १५ मा कार्तिकशुक्ल प्रतिपदादेखि चैत्रकृष्ण अमावास्यासम्म नेपालसंवत्मा ८०१ जोड्नु पर्ने र चैत्रशुक्ल प्रतिपदादेखि कार्तिककृष्ण अमावास्यासम्म नेपालसंवत्मा ८०२ जोड्नु पर्ने भनेर बताइएको पनि यसमै छ भने अधिमास भएको मितिको गणना भनेर दिइएको पनि यसमा छ तर ८०२ हिसाव भने एउटा पनि देखाउन नसक्नुलाई उहाँहरुको बदमासी भन्ने कि बदनियत भन्ने त ?
यी नै प्रश्नहरु सतहमा तैरिएर रहेका छन् जसको हेक्का र ख्याल उहाँहरुले अहिलेसम्म पनि गर्न खोजेको छैन किनकि यो विषयमा विचार गर्ने काम निष्पक्ष एवं बुद्धिजीवि आम पाठकहरुको पनि हो । इतिहास सही ढंगमा लेख्ने सर्बेसर्वा अधिकार संशोधन मण्डलको मात्रै हो भन्ने मानसिकता पाली रहनु केवल बेवकूफी हुनु मात्र हो ।
गणना भन्ने कुरा जसलाई गणनाको ग थाहा छैन उनीहरुले तारीफ गरेको भरमा संशोधन मण्डलले गरेको गणना ठीक भनेर ठहरिने होइन । जसले गणना के हो ? बुझ्छ उसको लागि पाटन गचाननीको अभिलेखमा रहेको संवत् प्रकरणमा रहेको मितिको तारिख र वारको गणना यस प्रकार प्रस्तुत गरिएको छ ।
तारिख गणनाः
संवत् १३२ प्रथमाषाढशुक्लदिवा त्रयोदश्यांबृहस्पतिदिने मैत्रनक्षत्रे ।
अभिलेखमा आएको मितिः संवत् १३२ नेपालसंवत् हो । यो अमान्तमान सिद्धान्तमा आधारित छ । यसमा प्रथमाषाढशुक्ल त्रयोदशी बृहस्पतिवारको उल्लेख छ ।
नेपालसंवत्मा ८०२ जोडियो भने लिच्छविकालमा चलेको संवत् आउछ । १३२ र ८०२ को जोड ९३४ लिच्छविकालमा चलेको संवत् हुन्छ । यो शक पूर्व २ को संवत् भएकोले यसको शक ९३२ को कार्तिकदेखि शक ९३३ को आश्विनसम्म रहने हुन्छ । तव नेसं १३२ आषाढ भनेको तद्नुसार शक ९३३ आषाढ हुन्छ ।
इष्ट शक: शक ९३३( किनकि आषाढमा शक ९३३ हुने भएकोले)इष्ट इश्वीसनः ९३३+७८= १०११ सन् । शक ९३३ मा ७८ जोड्नु पर्ने भएको ) शकमा ७८ जोडे इस्वीसन १०११ हुने सर्वविदित हो ।
तिथिगण:आषाढ सम्म आउन –,चै१,वै२, जे३ +आषाढशुकल त्रयोदशी(१३) =३ गुणन ३०+१३=१०३ दिन । अधिमासक्षयमास सारणीमा शक ९३३ मा अधिमास छैन । अभिलेखमा अधिमास भएपनि शकसंवत्बाट गणना गर्नु परेको कारणले शकसंवत्मा नभएपछि अधिमास लिनु परेन तर गणना तालिकाबाट गतिकोष्ठ प्रयोग गर्दा सन १०११ अभिलेखमा अधिमास आएकोले दिन धकेलिएर नै आउँछ । इष्टसन१०११ लाई ४ले भाग गर्दा शेष आउने भएकोले यो साधारण वर्ष भयो । उपकरण १०३ —१६=८७ ।

परिणामः— नेसं १३२ प्रथमाषाढ शुक्ल त्रयोदशी बृहस्पतिवारको तारिख गणना गर्दा इस्वी १०११ जुलाई १२ तारिख आए साथै बार बृहस्पतिवार पनि आए । गणनाले शक ९३३ आषाढ भएकोले वि.सं बनाउन ९३३ मा १३५ जोड गर्दा १०६८ आयो । जुलाई १२ तारिख भनेको आषाढ २८ गते पर्न आउंछ । यसरी तारिख गणना गर्दा बार सहित न्यास सूक्ष्म ढंगले गरी सबै चरण दिइएबाट प्रष्ट हुन्छ ।
जेहोस् गणनाको तरिका यही मात्र हो भन्दिन तर जुनसुकै पद्धतिबाट गणना गरे तापनि सम्पूर्ण न्यास देखाइएकै हुनु पर्दछ ।
माथि लुशियानो पेतेकले इस्वी १०१२ जून ५ तारिख सित भेरिफाइद भएको दावा गरेको छ तर न्यासका चरण कुनै पनि देखाइएको छैन । त्यस्तै दिनेशराज पन्तले ने.सं १३२ वि.सं १०६९ आषाढ शुक्ल आषाढ १३ गते वार बृहस्पतिवार आयो भनी देखाउनु भयो तर उहाँले पनि न्यासका कुनै चरण देखाउनु भएको छैन । त्यस कारण उहाँहरुले गणना गरेको भनी जतिसुकै फूर्ति गरेतापनि वा आँखा चिम्लेर पत्याउनेहरुले ताली बजाउँदै आएतापनि गणना मिलेको ठहरिने होइन ।
जेहोस् गणनाको तरिका यही मात्र हो भन्दिन तर जुनसुकै पद्धतिबाट गणना गरे तापनि सम्पूर्ण न्यास देखाइएकै हुनु पर्दछ ।
माथि लुशियानो पेतेकले इस्वी १०१२ जून ५ तारिख सित भेरिफाइद भएको दावा गरेको छ तर न्यासका चरण कुनै पनि देखाइएको छैन । त्यस्तै दिनेशराज पन्तले ने.सं १३२ वि.सं १०६९ आषाढ शुक्ल आषाढ १३ गते वार बृहस्पतिवार आयो भनी देखाउनु भयो तर उहाँले पनि न्यासका कुनै चरण देखाउनु भएको छैन । त्यस कारण उहाँहरुले गणना गरेको भनी जतिसुकै फूर्ति गरेतापनि वा आँखा चिम्लेर पत्याउनेहरुले ताली बजाउँदै आएतापनि गणना मिलेको ठहरिने होइन ।
निष्कर्ष
लिच्छविकालमा चलेको संवत् ८०२ वर्ष चलेपछि ८०३ हुँदा ८०३ को सट्टा नयाँसंवत् शुरुवात भए । कालान्तरमा यो नयाँसंवत् नेपालसंवत् कहलिए । त्यही भएर नेपालसंवत्मा ८०२ जोडेपछि लिच्छविकालमा चलेको संवत् आउने भएको हो । यही ८०२ वर्षको बीचमा अंशुवर्माले ५२९ हुँदा ५००लाई अव्यक्तगरी २९ मात्र जनाएर अभिलेखमा संवत् अंकित गराइ दिए । फेरि उनकै पालामा ५३५ र ५३६ को वर्षमा राखिएका अभिलेखमा संवत् ३५ र ३६ नगरी पूरा अंक प्रयोग पनि गरे । यो कुरा अभिलेख स्वयं साक्षी भएर रहेको छ ।
लिच्छविकालमा चलेको संवत् ८०२ वर्ष चलेपछि ८०३ हुँदा ८०३ को सट्टा नयाँसंवत् शुरुवात भए । कालान्तरमा यो नयाँसंवत् नेपालसंवत् कहलिए । त्यही भएर नेपालसंवत्मा ८०२ जोडेपछि लिच्छविकालमा चलेको संवत् आउने भएको हो । यही ८०२ वर्षको बीचमा अंशुवर्माले ५२९ हुँदा ५००लाई अव्यक्तगरी २९ मात्र जनाएर अभिलेखमा संवत् अंकित गराइ दिए । फेरि उनकै पालामा ५३५ र ५३६ को वर्षमा राखिएका अभिलेखमा संवत् ३५ र ३६ नगरी पूरा अंक प्रयोग पनि गरे । यो कुरा अभिलेख स्वयं साक्षी भएर रहेको छ ।
कालान्तरमा आएर नेपालसंवत् ४९५ मा सुमतितन्त्र नामक ग्रन्थ रचना भए । त्यस ग्रन्थका ग्रन्थकारलाई अंशुवर्माको पालामा छोटकरी संवत् पनि चले भने पूरा अंक भएको संवत् पनि चले तर यो कुरा ग्रन्थकारले चाल पाएन । यो कुरा ग्रन्थकारलाई त थाहा भएन संशोधन मण्डललाई त अहिलेसम्म यसको हेक्का भएन । सुमतितन्त्रको नाम भज्ने अरु भन्दा पनि संशोधन मण्डल अग्र पंक्तिमा देखिन्छ । तर सुमतितन्त्रको नाम लिएर संशोधन मण्डलले मनपरी गणना गर्ने अधिकार पत्र नै सुमतितन्त्रलाई बनाए ।
मध्यकालका कतिपय अभिलेखहरुमा भ्रमबश नेपालसंवत बीच ८०२ वर्ष फरक भएको संवत्लाई कही शाकेसंवत् भने कहीं शकसंवत् जनाएको देखियो । यसैको आधारमा संशोधन मण्डलले शकसंवत् र शाकेसंवत् एउटै हो भनेर विश्वास गर्दै आए । यसरी विश्वास गर्नुमा त्रुटी छ भन्ने कुरा अहिलेसम्म हेक्का राख्न सकेको छैन ।
लिच्छविकालमा चलेको संवत् र नेपालसंवत् यी दुवै अमान्तमानमा आधारित कार्तिकादि संवत् हुन् त्यही भएर यी दुइ बीच ८०२ वर्षको अन्तर छ । नेपालसंवत् कार्तिकादि र शकसंवत् चैत्रादि भएकोले यी दुइ बीच ८०० र ८०१ को अन्तर देखिने भएको हो । यो कुरा संशोधन मण्डलका हस्तीहरुले आजसम्म बुझेको छैन । तर उहाँहरुले गणना भनी अघिसार्दा नेपालसंवत्मा ८०२ जोडेर शकसंवत् बनाएको उदाहरण एउटा पनि अघिसार्न सकेको छैन । संशोधन मण्डललाई सुमतितन्त्रको बडो मोह छ तर नेपालसंवत्मा ९३६ र ९३७ जोड्ने उपाय सुमतितन्त्रमा छैन । किनभने सुमतितन्त्रले मानदेवसंवत् ३०४ वर्ष चलीसकेपछि मात्र नेपालसंवत् उठान भएको मानेको छ । तब स्वयं संशोधन मण्डलले वि.सं ९३५ वैशाखमा मानदेवसंवत् ३०१ भइरहेको देखाए यसको मतलव वि.सं ९३८ आश्विनसम्म ३०४ बसेको नदेख्ने आँखाको दृष्टि दोष भन्न सकिन्छ ।
सुमतितन्त्रले वि.सं ९३८ कार्तिक शुक्ल प्रतिपदादेखि नयाँसंवत् शुरु भएको कुरा दिन्छ भने नेपालसंवत् १ भनेको वि.सं ९३८को कार्तिकदेखि ९३९को आश्विनसम्म रहने मान्यता मात्र पस्केको छ । तव यो आधारमा नेपालसंवत्मा ९३७ र ९३८ जोड्नु पर्ने सूत्र अवलम्वन गर्नु पर्ने हुन्छ । वास्तवमा यो मान्यता बिल्कूल वाहियात हो । अतः सुमतितन्त्रले ९३६ र ९३७ जोड्ने अधिकार नै दिएको छैन भन्ने प्रष्ट छ । यसरी सुमतितन्त्रले नदिएको अधिकार संशोधन मण्डलले जबरजस्ति प्रयोग गर्दै आए ।
सुमतितन्त्रले वि.सं ९३८ कार्तिक शुक्ल प्रतिपदादेखि नयाँसंवत् शुरु भएको कुरा दिन्छ भने नेपालसंवत् १ भनेको वि.सं ९३८को कार्तिकदेखि ९३९को आश्विनसम्म रहने मान्यता मात्र पस्केको छ । तव यो आधारमा नेपालसंवत्मा ९३७ र ९३८ जोड्नु पर्ने सूत्र अवलम्वन गर्नु पर्ने हुन्छ । वास्तवमा यो मान्यता बिल्कूल वाहियात हो । अतः सुमतितन्त्रले ९३६ र ९३७ जोड्ने अधिकार नै दिएको छैन भन्ने प्रष्ट छ । यसरी सुमतितन्त्रले नदिएको अधिकार संशोधन मण्डलले जबरजस्ति प्रयोग गर्दै आए ।
दुनियाँको नजरमा संशोधन मण्डलले सुमतितन्त्रको नाम जपिरहेको मात्र देखे । सुमतितन्त्रले भन्दै नभनेको सूत्र प्रयोग गर्दो रहेछ भन्ने चाहीं कसैले देखेको छैन । आफु गलत सिद्धान्त पहिल्याएर बस्ने अरुलाई उनीहरुले रोजेको बाटो लिएन भनी गाली गर्ने भएपछि इतिहास विधा दूषित बन्न थालेको हो । दूर्भाग्यवश नेपालमा वुद्धिजीविहरु समेत संशोधन मण्डलको चङ्गूलमा फस्दै आएको छ । जहिलेसम्म संशोधन मण्डलको चङ्गूल भित्रै वुद्धिजीवि पनि रुमलेर बस्छ त्यो बेलासम्म इतिहास जगतले सन्तोषको सास फेर्न पाउनु असंभव नै छ ।