
काठमाडौं। नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि फराकिलो जित निकालेको छ।
नेपालले श्रीलंकालाई ७-० गोलअन्तरले हराएको हो ।
बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा भएको खेलमा नेपालका लागि मीनाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १-१ गोल गरे ।
खेलको आठौं मिनेटमा मीनाले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । १३औं मिनेटमा समिक्षाले नेपालको अग्रता दोब्बर पारिन् ।
४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रतामा पुर्याइन् । इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल गर्दै अग्रता अझ फराकिलो बनाइन् ।
७०औं मिनेटमा मीनाले गोल गर्दै ह्याट्रिक पनि पूरा गरिन् र नेपाल ६-० ले अघि बढ्यो । इन्जुरी समयमा सरिता कुमारीले फ्रिकिकमा गोल गर्दै नेपाललाई ७-० को अवस्थामा पुर्याइन् ।
बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने नेपालको ३ खेलमा ६ अंक भएको छ ।


