डा.श्यामसुन्दर राजवंशी
छिमेकीको घरमा पकवान पाकेको मीठो वास्ना सुंघ्न पाए भन्दैमा कोही तृप्त हुने वाला होइन । कतिपय नाम चलेका लेखकहरुले पनि मोटोमोटो पुस्तक लेखियो भन्दैमा त्यो पनि ज्ञानको रसास्वादन हुन योग्य ठहरिनै पर्छ भन्ने छैन ।त्यस भित्रका गुदी केलाउँदा अनेक तर्कहरु देखा पर्छन तर ती सबै प्रामाणिक ठहरिएका हुंदैनन् । अभिलेखको आधारमा कतिपय सिद्ध भइरहेका कुरा पनि कतिले अनेकौं कुतर्क अघिसारेर यथार्थलाई पनि भ्रामक भड्खालोमा हाल्ने कोशिस भइरहेको पनि पाइयो । त्यसको लागि कुन हरकतको कुतर्क प्रयोग हुँदो रहेछ भन्ने कुरा यो लेखबाट प्रकाश पार्न खोजिएको छ ।
अहिलेसम्म प्राप्त भएका सर्वप्राचीन अभिलेखको कुरा गर्दा मालिगाउँमा पाइएको जयवर्माको अभिलेख र पशुपतिनाथ प्रांगणमा भेटिएको खण्डित अभिलेखको कुरा अगाडि आउँछ तर यी अभिलेख भेटिनु भन्दा अघि त धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेख पल्टायौं भने चावहिल धन्दो चैत्यको अभिलेखलाई नै सर्वप्राचीन मानी आएको हो भने त्यस्तै हरिराम जोशीको प्राचीन अभिलेख नामक पुस्तक पल्टायौं भने त्यहाँ स्वयम्भुको अभिलेखलाई सर्वप्राचीन मानी आएको हो ।
पछि मालिगाउँमा संवत् १०७ को राजा जयवर्माको अभिलेख र पशुपतिनाथ प्रांगणमा फेलापरेको संवत् ३८१ को अभिलेख पाइएपछि सर्बप्राचीन अभिलेख कुन चाही मान्ने भन्ने द्विविधा लगभग टरेकै हो । केही वर्ष अघि चावहिल धन्दो चैत्यको अभिलेखको अर्को भाग फेला पर्न आउँदा त्यसमा त संवत् ४२१ प्रष्ट देखिएपछि धन्दो चैत्यको अभिलेख सर्बप्राचीन मानेर बुनिएका जेजति ऐतिहासिक व्याख्याहरु स्वतः गलत सिद्ध हुन पुग्यो ।अर्को स्वयम्भुको अभिलेखमा मानविहार शव्द उल्लेख भएको कारणले यो पनि शंकरदेवको पालाको होइन भन्ने देखियो । त्यो भन्दा पनि संवत् १०७ कै अभिलेख भेटिएपछि सर्बप्राचीन कुन थियो भन्ने कुराको विवाद लगभग समाप्त भइसक्नु पर्ने हो । परन्तु जयवर्माको सालिकको पादपीठमा अंकित अभिलेख पाठमा थोरै अक्षर हुनु र पशुपतिको अभिलेख खण्डित भएको हुनुलाई दूर्वल पक्ष ठान्नेहरु जतिले कुतर्क लडाउन बाँकी राखेनन् । खुद चाँगुनारायणको स्तम्भलेख त विशाल नै हो तैपनि त्यस अभिलेख बारे पनि तर्कहरुबाट मुक्त हुनसकेका छैनन् भन्ने देखिएको छ । त्यसकारण यी नै विषय वस्तुलाई आधार बनाएर सविस्तार चर्चा गरिन्छ ।
(क) संवत् १०७ को जयवर्माको अभिलेख
वि.सं २०४९ साल वैशाखको तेस्रो हप्ता तिरको कुरा हो । मालिगाउँमा रामभक्त खड्काको जग्गामा घर बनाउन जग खन्ने क्रममा प्राचीन खण्डित शिलामूर्ति फेला परेको हो । त्यस शिलामूर्तिको पादपीठ भागमा अभिलेख अंकित देखिए पछि अभिलेख पढ्ने काम सर्वप्रथम पुरातत्व विभागबाट भएको हो । अभिलेखको पाठ पढिए पछि त्यसबाट संवत् १०७ भनेर पनि जानकारी भयो र राजसी भेषभूषाको पूर्णकदको मानव मूर्ति राजा जयवर्माको हो भनेर पनि थाहा हुन आएको हो ।
त्यसबेला नेपालका घघरान विद्वानहरुले पढ्नु भन्दा पहिले मामुली कर्मचारीले पढेको धेरैलाई निको लागेको थिएन । अहिलेसम्म पनि कुनै प्राचीन अभिलेख भेट्दा अन्तर्राष्ट्रिय जगतमा ख्याति पाएका व्यक्तिहरुलाई पढाउनु पर्दथ्यो भन्ने मानसिकता छ भने त्यतिबेलाको त कुरै अर्कै थियो । अभिलेखको पहिलो प्रकाश २०४९ जेठ २ गतेको गोरखापत्र दैनिकबाट भएको हो । त्यसको लगत्तै अरु पत्रपत्रिका पुस्तक जर्नल आदिमा पनि जयवर्माको बारेमा निरन्तर रुपमा लेखहरु प्रकाश भएको देखापरे । खुसी कै कुरा भन्नु पर्दछ संवत् १०७ भनेर पढेको कुरा र राजा जयवर्मा भनेर पढेको कुरामा कसैले बिमति औंल्याउन सकेन । ती मध्ये एक जनाले चाहिं संवत् २०७ भनेर पढे त्यसको प्रभाव इटालीका लिपिविशेषज्ञ रिकार्डोले समेत संवत् २०७ भनेर विश्वास गरे । कालान्तरमा जसले पहिले २०७ भनेर पढेका थिए वर्षों दिनपछि आएर उनले पनि संवत् १०७ भनेर सकार्नमा बाध्य हुनु परेको देखियो । यो अभिलेख भेटिए पछि कतिपय लेखकहरुबाट व्यक्त भएका अनेकौं तर्कहरु मध्येबाट दुई वर्गमा विभाजन गरी हेर्दा देखापरेका तर्कहरु यस्तोसम्म पनि देखियोे ।
एक समूह
जब जयवर्माको नाम प्रकाशमा आए त्यो नाम कहाँ के छ खोजीगर्ने क्रममा पुरानो वंशावली गोपालराज वंशावलीमा पल्टाएर हेर्दा त्यहाँ देखा परे । लिच्छविकालमा रचना भएको अर्को वंशावली कुनै देखापरेन । जयदेव द्वितीयको पशुपतिको अभिलेखमा जयदेवको नाम देखा परे । कतिले जयदेव भनेकै जयवर्मा हो भने कतिले होइन भने त्यो सबै आआफनो तर्कको कुरा हो । गोपालराज वंशावली मात्र होइन अन्य वंशावलीहरुमा पनि जयवर्माको नाम देखापरे । एउटा कुरा स्पष्टै छ कि अभिलेखमा देखापरेको नाम वंशावलीमा खोजिएको हो वंशावलीमा देखिएको नामको आधारमा अभिलेख खोजी भएर पत्तालागेको होइन ।
यताबाट अभिलेखमा देखापरेको संवत् १०७ प्राप्त हुनु पहिले नै पाइएको संवत् ३८६को चाँगुको अभिलेख पनि दृष्टान्त भएपछि यी दुई अभिलेखको बीचको अन्तर २७९ वर्ष हो । यसरी २७९ वर्षलाई सालाखाला एकजनाको २० वा २५ वर्षको राज्यकाल मानेर हेर्दा मानदेव भन्दा तेह्र चौध पुस्ता अघिको राजा जयवर्मा देखिन आएको पनि हो । यो कुनै फर्मूला होइन सबैलाई थाहा छ । साधारणतया यसरी हेरिनूलाई अस्वाभाविक पनि मानिंदैन ।
दोस्रो समूह
पहिलो समूहकाले २७९ वर्ष अघिको कुरा देखेर २०। २५ वर्षको राज्यकाल मानेकोलाई नै कमजोरी ठानेर त्यो कुनै फरमूला होइन त्यो जायज होइन भन्दै आफनो धारणा यसरी राखे । वंशावलीबाट वैज्ञानिक इतिहास बन्नसक्तैन । जुन कालको इतिहास लेख्ने हो इतिहासको लागि त्यसैकालमा लेखिएको सामाग्री चाहिन्छ । वंशावली जति धेरैछन् त्यति नै फरक छन् । यिनका वयानहरु ,राजवंश,राजाका नाम क्रम राज्यवर्ष धार्मिक कथा र घटनाहरु वंशावली पिच्छे फरक छन् ।इतिहासका समस्या यिनैमा खोजिन्छ भन्दै जोडदार रुपले कुरा उठाइएको छ ।
जयवर्मालाई दोस्रो शताव्दीको मान्न खोज्नेहरुले आफूलाई पाइक पर्ने गरी राजाहरुको संख्या वंशावलीमा खोज्ने काम जुन गरियो त्यो सरासर बेकाइदा हो भनिएको छ ।
अभिलेखमा आएको संवत् १०७ लाई ठीक मान्यो भने तद्नुसार इस्वी १८५ भन्नु पर्ने हुन्छ त्यसैले २०७ मान्नु उचित हो भनियो तर कालान्तरमा उनी स्वयंले पनि १०७ नै सकार्न पुगेको छ । रिकार्दो जस्ताले उनको कुरा पत्याएर २०७ सकारी हालेको कुरालाई अरुले कसरी मूल्यांकन गर्ने ? अघि २०७ भनेर पढ्नेहरुले यसमा १०७ सकारेर मात्र पुग्दैन भूल सुधार गरेको शव्द पनि हुनु पर्दथ्यो यदि उनी इमान्दार हुनचाहेको भए तर भूल सुधार शव्द अहिलसम्म व्यक्त गरेको देखिंदैन ।
यही पृष्ठभूमिमा कोहीकोही त यस्तो खालको तर्क पनि अघिसारेको देखिन्छ कि जयवर्मा भन्ने राजा नै होइन र यो अभिलेख दोस्रो शताव्दीको पनि नभइ आठौं शताव्दी तिरको हो । अभिलेखमा भएको जयवर्मा वास्तवमा जयवर्मु हो । यही वर्मा शव्द अपभ्रंश हुंदै वर्मु हुन गएको हो अहिले पनि वर्मु वर्मु भन्दछौ. तिनीहरु ब्राम्हण हुन् ब्राह्मणलाई सम्मान पूर्वक बोलाउँदा महाराज भनिने भएकोले जयवर्मालाई महाराज पनि भनिएको हो । त्यसकारण यो जयवर्माको सालिकको मूर्ति कुनै राजाको होइन जस्ता तर्क पनि गरिएको देखिनुलाई साँच्चै भन्ने होभने आश्चर्यको पराकाष्ठा हो भन्न सकिन्छ । यी अभिव्यक्ति कसको हो के भन्ने कुरा जयवर्माको बारेमा प्रकाशित भएका सबै लेखहरु नियालेर हेरियो भने अवश्य यो कुरा त्यहाँ पाइने हुनाले यस प्रकारको अनर्गल तर्कलाई सन्दर्भ खुलाउन उचित ठानिन ।
(ख) संवत् ३८१ को पशुपति प्राँगणकोे अभिलेख
यो शिलास्तम्भको खण्डित एक टुक्रा भाग मात्र हो । यसले इतिहासमा देखापर्ने जिज्ञासालाई धेरै मात्रामा परिपूर्ति गर्न सकिएको छैन तर त्यसमा सालको अंक ३८१ र वैशाख महिना प्रष्ट छ । यसमा चाँगुनारायणको स्तम्भमा जस्तै वृषदेव देखिको वर्णन हुनुपर्ने बुझिन्छ तर खण्डित भएकोले केवल वृषदेवको नाम मात्र पाइएको छ । यो अभिलेख चाँगुको अभिलेख भन्दा ५ वर्ष अघिको मिति भनेर प्रष्टै भएको छ । हामी यसलाई मानदेव प्रथम कै अभिलेख हो भन्दछौं भने घघरान इतिहासकारहरु भने यसलाई मानदेवको बावु धर्मदेवको पालाको हो भन्दै आएका छन् । तमाम इतिहासकारहरु त्यही मान्यतालाई समर्थन गर्दै आइरहेका पनि छन् ।
वंशावलीहरु वैज्ञानिक छैन जुन कालको इतिहास लेखिने त्यही कालको सामाग्री चाहिन्छ भन्ने अर्ति बुद्धिलाई आत्मसात् गर्ने तमाम इतिहासकारले त्यो अर्ति बिर्सेको हो कि अथवा त्यो अर्ति उचित छैन भनी नसकारेको हो बुझ्न सकिन्न । यदि यो कुरा ठिक हो भने धर्मदेवको पालाको सामाग्री त एउटा पनि देखाउन सकिएको होइन । फेरि वंशावली हेर्ने हुंदैन भन्ने हो भने यहाँ वंशावली तिर झाँक्न खोजियो किन भन्ने ? प्रश्न उठ्छ ।
किनभने कुनै वंशावलीले मानदेवको राज्यभोग वर्ष ४१ वर्ष भनेर दिइएको छ भने कुनै वंशावलीले ४९ वर्ष भनेर दिइएको पाइन्छ । इतिहासकारहरुले मानदेवको राज्यभोगवर्ष ४१ लाई ठीक मानेको देखिनु भनेको आफूलाई पाइक पर्ने खालको मानदेवको भोग वर्ष भएको वंशावली खोज्ने काम गरिएकै देखियो । वास्तवमा मानदेवको राज्य भोग वर्ष ४१ होइन ४९ ठीक हो ।
संवत् ३८६ को चाँगुको स्तम्भलेख मानदेवले आफ्नो राज्यारोहण गरेकै वर्षमा राखिएको होइन । एक त अभिलेख तयार गर्नै वर्षाैं लाग्छ, अर्को राज्यारोहण पछि सामन्तहरुले नटेरेको पनि वर्षौं भएकोले सामन्तहरु कव्जा गर्न अभियान तुरुन्ता तुरुन्तै भएको होइन भने मल्लपुरी कव्जा गर्न तुरुन्ता तुरुन्तै संभव हुने कुरा होइन । सिनेमा हेर्दा तीन घण्टामा रामायण महाभारत सकिएको जस्तो कुरा यथार्थ ऐतिहासिक घटना पनि एउटै वर्षमा सम्पन्न भएको होइन । अभिलेखमा भएको वर्णन मै मानदेव राजा हुँदा उनी नाबालक थिए भने अभिलेख राखेको समयमा युवा भइसकेको कुरा खुलस्त रुपले उल्लेख छ ।
मानदेवको मृत्यु संवत् ४२७ मा भएको हो यो कुरा सूर्यघाटको अभिलेखले भन्छ । तव विजय अभियान सकाएर आए पछि राखेको चाँगुको अभिलेख संवत् ३८६ को भएपछि ४२७—३८६=४१ वर्ष हुन्छ । गोपालराज वंशावलीमा मानदेवको भोग वर्ष ४१ नै दिइएको छ । यसरी ३८६ देखि ४२७ सम्म को वर्ष ४१ भएपछि ३८६ भन्दाको अघिको अभिलेख जति सबै धर्मदेवको राज्य भोग भित्र पर्यो भन्छन् भने त्यो इतिहासकारलाई इतिहासकार मान्नु चरम भूल हो । त्यही कोटीको इतिहासकारले एकातिर वंशावली बैज्ञानिक होइन पनि भन्ने अर्को जुन कालको इतिहास लेखिन्छ त्यही कालको सामग्री चाहिन्छ भन्नेहरुले संवत् ३८१को अभिलेख राजा धर्मदेवको हो भनेर निर्णय गर्नेले धर्मदेव कै अभिलेख कतिवटा पाएको छ त्यसको निमित्त एउटा उदाहरणसम्म पनि अघिसार्न सकेको छैन । यस प्रकार पुंग न पुच्छरको व्याख्या गर्दै आइरहेका इतिहासकारलाई इतिहासकार मानेर बस्नु परेको भनेको नेपालको दूर्भाग्य हो ।
(ग) संवत् ३८६ को चाँगुनारायणको स्तम्भाभिलेख
चाँगुनारायणको मन्दिर सामुन्ने रहेको गरुडको विशाल मूर्ति एक अहोरात्रमा बन्नसक्ने संभव छैन । त्यो गरुड मूर्ति राजा मानदेवको समकालीन नै हो र मानदेवले चाँगुनारायणको भक्तको रुपमा त्यो मूर्तिमा आफनो स्वरुप झल्काइएको छ । मानदेवको त्यो स्वरुपमा एक बलिष्ठ जवान युवाको रुप दर्शाइएको छ र मुहारमा जुंगा भएको मानव अनुहार प्रष्ट झल्काइएको हुनाले मानदेव त्यो शिलास्तम्भ राखेको बेलामा उनी बालक अवस्थाका अवश्य थिएनन् भन्न सकिन्छ । त्यसकारण गरुडमूर्ति शिलास्तम्भ अभिलेख मानदेव आफु जवान युवा भइसकेको अवस्थामा राखिएको थियो भनी प्रष्ट रुपले भन्न सकिन्छ । त्यसो भएकोले संवत् ३८६ मा राजा मानदेव बालक थिएन र मानदेवले राज्यारोहण गरेकै सालमा विजय अभियान सबै भ्याएर त्यत्रो ठूलो शिलास्तम्भ दुइचार दिनमा तयार गराएर राखेको हुनसक्छ भनी कल्पनासम्म पनि गर्न सकिन्न भने नेपालका घघरान इतिहासकारहरुले चाहिं किन त्यो कुरालाई सहज रुपले विश्वास गर्दै आएका हुन् त्यो बडो आश्चर्य छ ।
अर्को आश्चर्य भनेको शिलास्तम्भको तिथिमितिलाई घघरान इतिहासकारहरु कुन दृष्टिकोणले हेर्दै आएका छन् भन्ने पनि हो । यसमा सालको संवत् अंक ३८६ , मास तिथिमा ज्यैष्ठशुक्ल प्रतिपदा छ र रोहिणी नक्षत्र छ । प्रतिपदा र नक्षत्रको बीचमा बारको प्रतीकमा १ जनाइएको छ । यो १ भनेको साताको पहिलो बार आदित्यबारको सट्टा १ जनाइएको हो । परन्तु इतिहासकारहरु कोही कसैले पनि यसमा ध्यान दिने गरिएको छैन । किनकि उनीहरुलाई शव्दबाटै आदित्यबार ,सोमबार भनेरै व्यक्त गरिएको चाहिने होला । कथंकदाचित १ अंक नजनाइएकै अवस्थामा पनि तिथि ज्येष्ठ शुक्ल प्रतिपदा हुनु र नक्षत्र रोहिणी देखिनासाथ बारको गणना गरेर परीक्षण गरी हेर्न सकिने मार्ग प्रशस्त छ त्यसमाथि बारको अंक १ प्रष्टसंग दिइएको पनि छ ।
धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेखको पृष्ठ १० पल्टाएर हे¥यौं भने त्यसमा
संवत् ३८६ ज्यैष्ठमासे शुक्लपक्षे प्रतिपदि १ भनेर पढिएको प्रष्ट देख्न सक्छौंं । परन्तु उनले प्रतिपदि पछिको १ लाई उपेक्षा गरी छोडेको छ । उनले त्यो अंक १ लाई बार नै हो भनी खुट्याउन नसकेको त छँदै छ भने १ अंक किन जनाइयो भन्ने अर्थ सम्म लगाउन सकेको देखिएन ।
उनलाई यो पनि भलिभाँति थाहा छ कि यो कार्तिकबाट शुरुहुने कार्तिकादि संवत् भएकोले कार्तिकमा पनि ३८६ थियोभने जेष्ठ महिना हुँदा पनि ३८६ नै भइरहेको हो । तर उनले के बूझपचाएको देखियो त भन्दा जेठमा वि.सं ५२१ भन्यो भने कार्तिकमा ५२० मात्रै हुनुपर्ने हुन्छ भनेरसम्म पनि हेक्का राख्न सकेनन् ।
संशोधन मण्डलको इतिहास संशोधनको प्रमाण प्रमेय २०१९ को पृष्ठ१०२ देखि १०८ पल्टाएर हेर्यौँ भने त्यसमा
संवत् ३८६ ज्यैष्ठमासे शुक्लपक्षे प्रतिपदि १ नै छ तर अंक १ को अर्थ त्यहाँ पनि लगाइएको छैन । यो लेखको अन्तमा संवत् ४२७ कार्तिक शुक्ल त्रयोदशीको दिन मानदेवले पृथ्वीमा राज्य गरिरहेको बेलामा निरपेक्षले सालिक बनाएको कुरा अभिलेखमा दिइएको छ । यसको मतलव संवत् ४२७ कार्तिकसम्म मानदेव जीवित थिए भन्ने कुरा प्रष्ट छ ।
संशोधन मण्डलको इतिहास संशोधनको प्रमाण प्रमेयको पृष्ठ २६६ र २६७ पल्टाएर हेर्यौँ भने त्यसमा
संवत् ४२७ आषाढ शुकल प्रतिपदामा राखिएको पशुपति सूर्यघाटको मानदेवकी छोरी विजयवतीले स्थापना गरेको शिवलिङ्गको अभिलेखमा राजा मानदेव हुनुहुन्थ्यो भनेर उल्लेख भएको हुनाले यसबेला मानदेव दिवंगत भइसकेको प्रष्ट हुन्छ ।
संशोधन मण्डललाई त्यतिबेला गणना गर्न जान्ने जनशक्ति थियो । सायद गणना गरेर हेरियो पनि होला तर यो संवत् यही थियो भनी एकीन गर्न नसकेको कारण पनि हुनसक्छ । संवत् ४२७ को कार्तिकमा जीवित देखिएको व्यक्ति संवत् ४२७ आषाढमा दिवंगत भइसकेको कुरामा भने हेक्का थियो र त्यसबेला कार्तिकादि संवत्को व्यवहार थियो भन्ने पनि एकीन रुपले बुझ्न सकेका थिए ।
संवत् ३८६ को अभिलेखमा रोहिणी नक्षत्र र प्रतिपदिको बीचमा जुन अंक १ देखिएको हो यसबारेमा चाहिं संशाोधन मण्डल मौन रही आएको देखिन्छ ।
पं नयराज पन्तको लिच्छवि संवत्को निर्णय २०४३ को पृष्ठ ९६ पल्टाएर हेर्यौँ भने त्यसमा
अभिलेखको संवत् ३८६ लाई शकसंवत् मानेको आधारमा कार्तिकमा वि.सं ५२१ हुने हुन्छ भने जेठमा वि.सं ५२२ हुन पर्ने भनेर बताउन बाध्य भइ सकारिएको छ तर शकसंवत् मा १३६ जोड्न पाउने प्रावधान भने कुनै शास्त्रले दिएको नभएर ३८६+१३५+१=वि.सं ५२२ हुने युक्ति अपनाएर दुनियाँलाई उल्लू बनाए । दुनियाँ फेरि शकसंवत्मा १३६ जोड्ने कारण सहितको उपाय बताइएको शास्त्र खोज्ने तिर नलागी अन्धाधुन्ध रुपले उनकै कुरा पत्याउने तिर लाग्दै आएको नै सबै भन्दा आपत्तिजनक कुरा हो ।
फेरि पं नयराज पन्त गणना गर्न नजान्ने व्यक्ति त होइनन् चाँगुनारायणको यति धेरै महत्व भएको अभिलेखको संवत् ३८६ जेष्ठ शुक्ल प्रतिपदालाई शकसंवत् मान्दा बार के आउँछ यसलाई वि.सं ५२२ मान्दा के आउँछ भनी अवश्य गणना गरेर हेरिएकै होला तर रोहिणी नक्षत्र र प्रतिपदाको बीचको १ अंकको अर्थ के आयो त्यो दिन सकेन । त्यतिमात्र होइन तिथि र नक्षत्र स्पष्ट भए पछि बार गणना सहज रुपले आउने हेक्कासम्म पनि राख्न सकेनन् । उनको निर्णयमा खाली दुनियाँलाई कसरी उल्लू बनाउने त्यही ध्याउन्ना सिवाय केही देखिंदैन भने दुनियाँ पनि आफनो विवेकको ढक्कन उघारेर हेर्ने चेष्टा पनि नगरिने भइ दिनाले उनको निर्णयले प्रशंसा पाएको मात्र हो सही निर्णय थिएन भन्ने स्पष्ट छ ।
बेंकटेश केतकरको सौरार्यब्राह्मपक्षीय तिथि गणितको पद्धतिअनुसार गणना गर्दा चाँगुनारायणको संवत् ३८६ ज्येष्ठशुक्ल प्रतिपदा १ रोहिणी नक्षत्र जुन देखिएको हो सोको गणना परिणाम यसरी आएको छ । जस्तैः
अभिलेखको संवत् ३८६ (लिच्छविसंवत् ) विक्रम संवत् ५२० शक ३८५ ज्येष्ठ शुक्लप्रतिपदातिथि बार आदित्यबार ३१ घडी ३७ पला रोहिणी नक्षत्र ३५ घडी ५७पला रहेको सिद्ध भएको छ ।
( यो गणनाको विस्तृत चरण पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल २०७६ जेठ, अंक १९९ “चाँगुनारायणको स्तम्भ अभिलेखमा बार उल्लेख” शीर्षकको लेखमा छ )
अभिलेखमा रहेको संवत् ३८६ ज्येष्ठशुक्ल प्रतिपदा १ रोहिणी नक्षत्र गणनाको परिणामले पनि त्यही देखिएको आधारमा प्रतिपदा पछि आएको अंक १ आदित्यबार नै भएको सिद्ध हुन्छ । यसबाट यो पनि सिद्ध हुन्छ कि लिच्छविसंवत्को निर्णयले अभिलेखमा भएको संवत् ३८६ लाई नै शकसंवत् मानेको पनि गलत सिद्ध छ भन्ने प्रमाणित हुन्छ ।
निष्कर्ष
मान्छेले भोजन पायो भन्दैमा मात्रा मिलाएर खान जानेन भने खानेकुरा पनि विष हुन सक्छ , लगाउने वस्त्र पाए भन्दैमा जथाभावि ढंगले पहिरण गरियो भने पोशाकको कुनै महत्व हुँदैन भने झैं अभिलेख पाइनु मात्र ठूलो कुरो होइन त्यसलाई सही ढंगले पढिएन भने त्यो अभिलेख पाइनुको केही अर्थ हुँदैन । इतिहासको लागि अति उपयोगी स्रोत सिद्ध भइरहेको अभिलेखको अर्थ पनि माल पाएर के गर्नु चाल नपाए पछि भने झै हुन जान्छ । विद्वान भनाउँदा व्यक्तिहरुबाट जुन प्रकारले अभिलेखको दुरुपयोग हुंदै आइरहेको हो , त्यसले नेपालको इतिहासको फाँटलाई हराभरा तुल्याउनुको साटो सुकेको वृक्षसरि सुष्क बनाउँदै आइरहेको देखियो । यो दूर्भाग्य हो भन्ने सिवाय अरु भन्ने ठाउँ छैन ।