अन्धाको देशमा आँखा चिम्लनु पर्ने, लङ्गडोको देशमा खुट्टा खोच्याएर हिड्नु पर्नेलाई पनि कतिले मूलधार ठानीरहेको होला । वास्तवमा यस्तो खालको मूलधार हामीलाई कतइ जरुरत छैन । त्यस्तै इतिहास लेखन कार्यमा संशोधन मण्डलले जे कुरा पस्केको हो त्यही मूलधार र “लिच्छवि संवत्को निर्णय” नै इतिहासको मूलधार सम्झन्छ भने त्यो कुरा महाभूल सिवाय अरु होइन । विश्व विद्यालयहरुमा उच्च शिक्षामा पनि संशोधन मण्डलले जे कुरा इतिहास भनी निर्णय गरिएको हो ,त्यसलाई नै मूलधार मानेर पठनपाठन गराउँदै आएको छ भने त्यसले गलत शिक्षा सम्पे्रषण भइरहेको भन्नुमा कुनै अन्यथा नहोला । यही कुरालाई खुलासा गर्नको लागि यो लेख तयार गरिएको हो ।
वि.सं २०४३ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीबाट प्रकाशित “लिच्छवि संवत्को निर्णय” नामक पुस्तकको आकार हेर्दा ६४० पृष्ठ भएकोले साधारण पुस्तक होइन यो महाग्रन्थ नै ठान्दै आएका होलान् । यसलाई चासो राखेर आद्योपान्त पढ्ने र त्यसमा भनिएको कुरा बुझ्ने ल्याकत यो नेपालमा साँच्चै दूर्लभ ठानिएको पो होकि साँच्चै दूर्लभ नै हो त्यो छुट्याउन सक्ने पनि न कुनै संस्था देखा परे न कोही व्यक्ति नै देखा परे । खासमा यो पुस्तकलाई दायाँबायाँ कतै नहेरी केवल मूलधार भनेर समातेर बस्न चाहनेहरु समातेर नै बसुन् तर सबैले मूलधार भनेर त्यसलाई नै समातेर बस्नु जरुरी भने होइनन् । यसमा सैद्धान्तिक त्रुटि औंल्याइ सकेको देखादेख पनि अझै पनि कतिले मूलधार यही हो भनेर बसेका होलान् । यदि यसलाई मूलधार भनियो भने पनि जो आफुले आफैलाई विवेकशून्य सावित गराउन चाहनेहरु हुन् उनीहरुले मात्रै भन्ने हो अरुले होइनन् ।
प्रस्तुत पुस्तकको ६४० पृष्ठ बाहेक अगाडिको ५३ पृष्ठ त उपोद्घात खण्ड मात्रै भइ हाल्यो यसमा लेखकको आत्मबृतान्त मात्र छन् जुन इतिहासको निमित्त त्यो खासै चासोको विषय छैन । त्यसपछि उत्तर पक्ष भनेर १ देखि १८० पृष्ठसम्म दिइएको छ भने १८२ पृष्ठ देखि ६४० पृष्ठसम्म पूर्व पक्ष भनेर दिइएको छ । उत्तर पक्षको पहिलो अध्यायमा वि.सं ६३३ देखि नेपालमा नयाँ संवत् चलेको थियो भन्ने कुराको प्रमाणको रुपमा नेपालमा र भोटमा गरी जम्मा ४ वटा पाइएका छन् भन्ने कुरा व्याख्या भएको देखियो भने १८ औं अध्यायमा अंशुवर्मा र सुमतितन्त्र रहेको छ । त्यस्तै पूर्व पक्षको पहिलो अध्याय भगवानलाल इन्द्राजीको मतको परीक्षा रहेको छ भने काशीप्रसाद जायसवालको मतको परीक्षा र अन्तमा नामसूची र शुद्धिपत्र दिइएको छ । अव ती अध्यायगत विषयहरु उचित होकि अनुचित हो पाठकहरु स्वयंले आफनो विवेक लगाएर हेर्न सकियोस् भनी त्यतातिर ध्यानाकर्षण गराउन चाहन्छु ।
उत्तर पक्ष
उत्तरपक्षको पहिलो अध्यायमा ४ वटा प्रमाण भनेर अघि सारिएको छ । त्यहाँ विक्रमसंवत् र शकसंवत् बीच १३५ वर्ष फरक देखाउन विक्रमसंवत् २०३५ साल र समान वर्ष शकसंवत् १९०० देखाएर योकुरा पात्रो हेरेथाहा पाइन्छ भनियो तर विक्रमसंवत् र शकसंवत् बीच १३६ फरक भएको पनि उदाहरण देखाई यो कुरा कुन पात्रोमा हेर्ने हो त्यो चाहिं दिन सकेको होइन । किनभने चाँगुको ३८६ को तद्नुसार वि.स ं५२२ भन्ने निर्णायकले १३६ फरक भएको पात्रो किन देखाउन सकेन ?
सुमतितन्त्रमा शकसंवत् ४९८ सम्म चल्यो मानदेवसंवत् चाहीं ३०४ वर्षसम्म चल्यो भनेको छ र त्यही ४९८ मा १३५ जोडेर वि.सं ६३३ भन्ने गरियो । सहोत्तरतन्त्रको ३०१ संवत्मा चाहिं ६३४ जोडेर वि.सं ९३५ भयो र ३०१ मा ४९९ जोडेर शक ८०० भयो पनि भनेको छ त्यो चाहीं सुमतितन्त्रमा कहाँ निर ४९९ जोड्ने प्रावधान उल्लेख छ किन देखाउन सकेन ?
लिच्छविकालमा चलेको संवत्को निर्णय गर्न वि.सं १७१२ मा सारिएको हरिवंशको कुरा उठान गर्नुपर्ने किन ? त्यस्तै वि.सं १२३९—१३०८ मा तयार गरिएको भोटको स सक्य पान चेनको वाक्य उठान गर्नु प¥यो किन ? यसरी वाहियात कुरा अघिसारेर ४ वटा प्रमाण पाइएको भनी दुनियाँलाई उल्लू बनाउने किन ? भनी थुप्रै प्रश्न उठेका छन् ।
दोस्रो अध्यायमा दुईवटा अधिमास उल्लेख भएको अभिलेखको मिति र दुईवटा बार नक्षत्र उल्लेख भएको अभिलेखको मितिको गणना गर्दा वि.सं ६३३ देखि उठेको संवत्बाट ट्वाक्क मिलेको भनी दुनियाँलाई उल्लू बनाइएको छ । किनभने संवत् ३१ र संवत् ३४ मा ६३३ जोडेपछि एउटा वि.सं ६६४ र अर्को वि.सं ६६७ हुने भयो । तर विक्रमसंवत् ६६४ र ६६७ को वर्षमा अधिमास परेको भनेर देखाउन कुनै शास्त्र अघिसार्न सकेको होइन किन ?
केरो लक्ष्मणछत्रेको अधिमास क्षयमास सारणी अघिसारिए पछि त्यसमा विक्रमसंवतको अधिमास तालिका दिइएको त होइन । संवत् ३१ भनेको कार्तिकादि भएपछि विसं ६६४ को कार्तिकदेखि ६६५को आश्विनसम्म बस्ने भएकाले ६६४ र ६६५ बाट १३५। १३५ घटाएपछि शक ५२९ र ५३० हुने होनि भन्नु दुनियाँलाई उल्लू बनाउनु हो ।
पहिलो त त्यतिबेलाको शकसंवत् कार्तिकादि भएपछि शकसंवत् पनि ३१ जस्तै ५२९ किन कायम भइरहेन ? प्रश्न उठ्छ । दोस्रो कुरा सुमतितन्त्रले शक संवत् ४९८ सम्म चलेको भने पछि संवत् ३१ मा ४९८ जोडे पनि शक ५२९ आउने कुरा किन बूझपचाउन आवश्यक प¥यो ? प्रश्न उठ्छ ।
तेस्रोकुरा ४९८ जोडेको शकसंवत् ल्यायो भने शकसंवत् पनि कार्तिकादि भनेको आफनै भनाइले गर्दा आफैलाई त्यसले बाटो छेक्ने भएर हो कि ?
चौथोकुरा संवत् ३८६ लाई शकसंवत् मानेको ठाउँमा कार्तिकमा वि.सं ५२१ हुने र जेठमा आएर वि.सं ५२२ हुने देखाउने गरियो । त्यसमा चाहीं १३५ र १३६ फरक रहेको देखाउने र ६६४।६६५ मा चाहि १३५।१३५ फरक देखाउने यो तरिकालाई गणकको मनखुसी पारा भन्न सकिन्छ । त्यसकारण दुनियाँमा सबैजनालाई सँधै उल्लू बनाइ रहन सक्दैन भनेर पनि बुझ्नु पर्दथ्यो तर बुझेनन् भन्ने नै गणकको यो ठूलो कमजोरी हो ।
यही दोस्रो अध्यायमा दुइटा मिति बार नक्षत्र उल्लेख भएका मध्ये पहिलो संवत् ३१ को अर्को संवत् ३०१ को गणना गरी ट्वाक्क मिलेको दावि गरिएको छ । त्यो गणितमा गरिएको कैफियत बारे दुनियाँ सधै बेखबर भइरहन्छ ठान्नु यो पनि गणकको ठूलो कमजोरी हो ।
यहाँ कैफियत यो हो कि पहिलो कुरा संवत् ३१ माघ भनेको वि.सं ६६४ माघ पनि हो र शक ५२९ माघ पनि हो भन्ने गरियो तर शक ५२९को वर्षमा अधिमास परेको देखाउन सकेनन् । केरो लक्ष्मण छत्रेको सारणी तिर गएपछि ५३० जेठको अधिमास देखाउनको लागि शक ५२९को कार्तिकदेखि शक ५३०को आश्विनसम्म रहन्छ भन्न ६६४ र ६६५ को सहारा लिएको प्रष्ट बुझियो । पहिला त त्यसबेलाको शकसंवत् कार्तिकादि भन्नेले ५२९ र ५३० भन्नै पाउँदैन भने शक ५३० जेठको अधिमास समावेश गर्न ५२९ माघ मै अधिमास जोड्न ल्याउनू कैफियत हो । यस्तो खुल्लेआम कैफियत गर्दा एकदिन नदेख्ला दुइदिन नदेख्ला कालान्तर सम्मै कसैले चालपाउने छैन भनी ठान्नु गणकको ठूलो कमजोरी हो ।
अर्को संवत् ३०१ वैशाखको गणनामा पनि कैफियत नै गरी गणना ट्वाक्क मिलेको दावि गरेको छ । गणकले भन्ने बेला चारैवटा मितिको गणना वि.सं ६३३ देखि उठेको संवत् बाट मिल्छ पनि भन्ने यता संवत् ३०१ वैशाखमा ६३४ जोडेर वि.सं ९३५ गर्ने र सुमतितन्त्रले भन्दै नभनेको युक्ति प्रयोग गरेर ३०१ मा ४९९ जोडेर शक ८०० बनाइएको छ । यसमा पनि गणकले आफनो धर्म इमान सबै छोडेर लाजै नमानी गणना ट्वाक्कै मिलेको दावा गरेको छ । त्यसकारण यो दोस्रो अध्यायमा चारैवटा गणनामा गणकको कुनै इमान्दारिता प्रदर्शन भएको छैन ।
तेस्रो अध्यायमा तिथिमिति ट्वाक्क मिल्छ भनी सारणी बनाएर अरु मत प्रवर्तकको चारैवटा गणना मिलेको छैन भने आफनोचाहींं सुमतितन्त्र अपनाएर चारैवटा मिल्छ भनी दुनियाँलाई उल्लू बनाइएको छ । किनकि उनको कैफियत लुकाएर लुक्न सकिने होइन भनी ख्याल राख्न नसक्नु उनको ठूला कमजोरी हो ।
लिच्छविसंवत्को निर्णयको पृष्ठ ३२ देखि पृष्ठ १२० सम्म लामो गनथन वेदाङ्ग ज्योतिष बारे गरिएको छ । माथि दोस्रो अध्यायमा तिथिमितिको गणना सौरार्य ब्राह्मपक्षीय तिथि गणितबाट गरेको सकारी सकेपछि वेदाङ्ग ज्योतिष परित्याग गरेको घोषणा गणक आफैले गरेको भयो । त्यसैले यो केवल उनको पुस्तक मोटो देखाउन लागि त्यो वेदाङ्ग ज्योतिषको प्रयोग गरेको रहेछ भन्ने आफैले स्वीकार गरेको प्रष्ट हुन्छ । यही वेदाङ्ग ज्योतिषबाट प्रभावित भइ कोही घाम नाप्न दौडिरहेका छन् ,कोही एक महिना कटौटी गर्नु पर्यो भनी दौडिरहेका छन् । यसरी लक्ष्यहीन भएर दौडी रहनु भन्दा ३६६ दिन भएको पञ्चाङ्ग बनाउनमा र पौष महिना अन्त्य र माघ शुरु महिना भएको पञ्चाङ्ग बनाउनमा दौडेको भए हुन्थ्यो किनकि वेदाङ्ग ज्योतिषले त्यही भन्छ । त्यतातिर किन आकर्षित भएन ? प्रश्न उठ्छ ।
त्यसपछि १४ औं अध्यायदेखि १८ औं अध्यायसम्म सुमतितन्त्रको बारेमा गनथन गरिएको छ ।भनाईको मतलव पृष्ठ १२१ देखि १८० सम्म हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक भए झैं गणकले पनि सुमतितन्त्रलाई केवल देखाउने दाँतको रुपमा मात्र प्रयोग गरेको प्रष्ट छ । किनभने सुमतितन्त्रमा विक्रमसंवत्को गुञ्जाइस नै छैन भने विसं ६३३ मा मानदेवसंवत् उठेको कुरा ल्याउनु र सुमतितन्त्रमा शक ४९८ सम्म चलेको कुरा गर्ने गणना गर्ने बेला ४९९ जोडेर ३०१ लाई शक ८०० बनाउनु भनेको हात्तीको देखाउने दाँत र चपाउने दाँत भने जस्तै हो । सुमतितन्त्र नेपालसंवत् ४९५ मा सारिएको कुरा दृष्टांन्त हुँदाहुँदै पनि लिच्छविकालको संवत् निर्णय गर्न यो उपयोगी ठान्नु र यसमा भएको सूर्यसिद्धान्त फरक छ भनी बेंकटेश केतकरको सूयसिद्धान्त समात्ने गर्दा भन्ने बेला सुमतितन्त्रबाट गणना गरेको भन्ने गणना गर्दा केतकरको सूर्यसिद्धान्त प्रयोग गरेको पनि देखाउने दाँत र चपाउने दाँत फरक भए जस्तैको कैफियत किन गरेको ? यसको जवाफ पनि अनुत्तरित छ । यस प्रकार उत्तर पक्ष अन्तरगत १८ वटा अध्याय मध्ये कुनै अध्याय पनि इतिहास अनुकूल छैन । माथि उठेका कुनै पनि प्रश्नको जवाफ यस पुस्तकमा छैन ।
पूर्व पक्ष
पहिलो अध्यायमा भगवानलाल इन्द्राजीको मतको परीक्षा भनेर पृष्ठ १८३ देखि पृष्ठ २३७ सम्म आकासपातालको व्याख्या गरिएको छ । समग्रमा इन्द्राजीको मतअनुसार वि.सं ६६३ देखि उठेको हर्षसंवत् हो । माथि चर्चिएको दुइवटा अधिमास भएको मिति दुइवटा बार नक्षत्र उल्लेख भएको मितिको गणनाबाट परीक्षा गरी हेर्दा ३ वटा मिल्छ एउटा मिल्दैन जसको कारण उनले गरेको कैफियत पूर्ण गणनाको अनुकूल छैन भन्ने मै केन्द्रित छ ।
त्यस्तै गरी दोस्रो अध्यायमा जोन फेथफूल फ्लीटको मत परीक्षा भनेर पृष्ठ २३८ देखि पृष्ठ २६४ सम्म लामो व्याख्या गरिएको छ । समग्रमा फ्लीट्को मतअनुसार वि.सं ६६२ देखि उठेको हर्षसंवत् नै हो । माथि चर्चिएको दुइवटा अधिमास भएको मिति दुइवटा बार नक्षत्र उल्लेख भएको मितिको गणनाबाट परीक्षा गरी हेर्दा ती चारैवटा मिल्दैन जसको कारण पनि उनले गरेको कैफियत पूर्ण गणनाको अनुकूल छैन भन्ने मै केन्द्रित छ ।
त्यस्तै गरी तेस्रो अध्यायमा सिलभान लेभीको मत परीक्षा भनेर पृष्ठ २६५ देखि पृष्ठ ३१७ सम्म नाना भाँतिको व्याख्या गरिएको छ । समग्रमा लेभीको मतअनुसार वि.सं ६५२ देखि उठेको भोटे संवत् हो । माथि चर्चिएको दुइवटा अधिमास भएको मिति दुइवटा बार नक्षत्र उल्लेख भएको मितिको गणनाबाट परीक्षा गरी हेर्दा ती चारवटा मध्ये दुईवटा मिल्छ दुईवटा मिल्दैन जसको कारण पनि उनले गरेको कैफियत पूर्ण गणनाको अनुकूल छैन भन्ने मै केन्द्रित छ ।
त्यस्तै गरी चौथो अध्यायमा रमेशचन्द्र मजूमदारको मत परीक्षा भनेर पृष्ठ ३१८ देखि पृष्ठ ३४५ सम्म अनेकअनेक व्याख्या गरिएको छ । समग्रमा मजूमदारको मतअनुसार वि.सं ६३५ देखि उठेको संक्षिप्त शक संवत् हो । माथि चर्चिएको दुईवटा अधिमास भएको मिति दुईवटा बार नक्षत्र उल्लेख भएको मितिको गणनाबाट परीक्षा गरी हेर्दा ती चारवटा मध्ये चारैवटा मिल्दैन जसको कारण पनि उनले गरेको कैफियत पूर्ण गणनाको अनुकूल छैन भन्ने मै केन्द्रित छ ।
त्यस्तै गरी पाँचौं अध्यायमा हितनारायण झाको मत परीक्षा भनेर पृष्ठ ३४६ देखि पृष्ठ ३६४ सम्म आकास पातालको व्याख्या गरिएको छ । समग्रमा झाको मतअनुसार वि.सं ६३१ देखि उठेको अंशुवर्म संवत् हो । यसमा माथि चर्चिएको दुईवटा अधिमास भएको मिति दुईवटा बार नक्षत्र उल्लेख भएको मितिको गणनाबाट परीक्षा गरी हेर्दा ती चारवटा मध्ये चारैवटा मिल्दैन जसको कारण पनि उनले गरेको कैफियत पूर्ण गणनाको अनुकूल छैन भन्ने मै केन्द्रित छ ।
त्यस्तै गरी छैठौं अध्यायमा बालचन्द्र शर्माको मत परीक्षा भनेर पृष्ठ ३६५ देखि पृष्ठ ३७९ सम्म नाना भाँतिको व्याख्या गरिएको छ । समग्रमा शर्माको मतअनुसार वि.सं ६२८ देखि उठेको ठकुरी संवत् हो । यसमा माथि चर्चिएको दुइवटा अधिमासभएको मिति दुइवटा बार नक्षत्र उल्लेख भएको मितिको गणनाबाट परीक्षा गरी हेर्दा ती चारवटा मध्ये चारैवटा मिल्दैन जसको कारण पनि उनले गरेको कैफियत पूर्ण गणनाको अनुकूल छैन भन्ने मै केन्द्रित छ ।
त्यस्तै गरी सातौं अध्यायमा शंकरमान राजवंशीको मत परीक्षा भनेर पृष्ठ ३८० देखि पृष्ठ ४१० सम्म ताल न सूरको व्याख्या गरिएको छ । समग्रमा राजवंशीको मतअनुसार वि.सं ६०९ देखि उठेको अंशुवर्म संवत् हो । उनको मतको विपक्षमा दिनेशराज पन्त, माणिकलाल श्रेष्ठ, भुवनलाल प्रधान र ज्ञानमणि नेपाल पनि छन् भनी उनीहरुको टिप्पणी पनि दिइएका छन् ।
मुख्यतः माथि चर्चिएको दुईवटा अधिमास भएको मिति दुईवटा बार नक्षत्र उल्लेख भएको मितिको गणनाबाट परीक्षा गरी हेर्दा ती चारवटा मध्ये दुइवटा मिल्छ दुइवटा मिल्दैन जसको कारण पनि नयराज पन्तले गरेको कैफियत पूर्ण गणनाको अनुकूल छैन भन्ने मै केन्द्रित छ ।
त्यस्तै गरी आठौं अध्यायमा के.जी.शंकरको मत परीक्षा भनेर पृष्ठ ४४६ देखि पृष्ठ ४८१ सम्म बेफ्वाँकको व्याख्या गरिएको छ । समग्रमा के.जी.शंकरको मतअनुसार वि.सं ५९५ देखि उठेको यशोधर्म संवत् हो । यसमा माथि चर्चिएको दुईवटा अधिमास भएको मिति दुईवटा बार नक्षत्र उल्लेख भएको मितिको गणनाबाट परीक्षा गरी हेर्दा ती चारवटा मध्ये तीनवटा मिल्छ एउटा मिल्दैन जसको कारण पनि उनले गरेको कैफियत पूर्ण गणनाको अनुकूल छैन भन्ने मै केन्द्रित छ ।
नवौं अध्यायमा राधागोविन्द बासकको मत परीक्षा भनेर पृष्ठ ४८२ देखि पृष्ठ ५१२ सम्म नाना भाँति व्याख्या गरिएको छ । समग्रमा बासकको मतअनुसार वि.सं ६६३ देखि उठेको हर्षसंवत् हो ।
दशौ अध्यायमा काशीप्रसाद जायसवालको मत परीक्षा भनेर पृष्ठ ५१३ देखि पृष्ठ ५४० सम्म नाना भाँति व्याख्या गरिएको छ । समग्रमा जायसवालको मतअनुसार वि.सं ६५२ देखि उठेको ठकुरी संवत् हो ।
एघारौं अध्यायमा उपसंहार भनेर पृष्ठ ५४१ देखि पृष्ठ ५७५ सम्म दिइएको छ । उपसंहार भनेको ठूलो फोटोको ठाउँमा सानो फोटो राखे जस्तैको कुरा हो । ठूलो फोटोमा रुपरंग आकारप्रकार केही मिल्दैन भने त्यही फोटोको सानो फोटोमा पनि केही मिल्दैन । जस्तो दक्ष प्रजापतिको ठूलो फोटो बनेपनि जिउ मान्छेको टाउको पछिल्तिर फर्काइएको बोकाको टाउको भएपछि त्यसको सानो फोटोमा पनि उही आउने हो । त्यसकारण माथि जुनरुपमा सिद्धान्त नै बाङ्गोटिङ्गो रुपले प्रस्तुत भइरहेको कैफियत मात्र देखिएपछि उपसंहार पनि त्यसको सार संक्षेप नै हुने भएकोले पुंग र पुच्छर कतै तालमेल नमिलेकोे पुस्तकको कुनै औचित्य सावित भएको छैन ।
निष्कर्ष
कैफियत नगरिएको शुद्ध दुध पो दुध हुन्छ । कैफियत गरेको सेतो पानीलाई दुध जस्तो देखाउँदैमा दुध बन्दैन । त्यस्तै भने झैं सिद्धान्त बमोजिम गरिएका गणना पो गणित हुन्छ कैफियत गरेर गरिएका गणनालाई गणना भनिंदैन । त्यसैले लिच्छविसंवत्को निर्णयमा गरिएका गणनालाई सही गणनागत निर्णय मानिंदैन । यही पुस्तकलाई आदर्श मानेर गरिएका यावत् कृयाकलाप सबै गलत सिद्ध छन् । फेरि अघिल्ला मत प्रतिपादकहरुको मत इतिहास अनुकूल छैन भनी सिद्ध गर्न छोडेर उनले आफ्नो कैफियत सित अनुकूल नभएको सिद्ध गर्न खोजियो , त्यो बेकार हो । त्यही भएर शुरुदेखि अन्त्यसम्म कैफियतै कैफियतको थुप्रो मात्रै भएकोले यो ग्रन्थ भूत, भविष्य र वर्तमान तीनै कालको लागि अनौचित्य सिद्ध छ ।
जसले लिच्छविसंवत्को निर्णयको छेउटुप्पो केही बुझेको छैन । उनीहरुले यसलाई आदर्श मानेर त्यस ग्रन्थका गणकलाई उद्भट गणितज्ञ मान्यो भन्दैमा उनका गणित सही ठहरिएको होइन । यो निर्णयमा यति बिघ्न गलत र अशुद्ध होला भनेर सायद अनुमानसम्म पनि नगरिएको अवश्य होलान् । माथि औंल्याइएका दोषलाई जो संग सही के हो गलत के हो ? छुट्याउने विवेक छ उनीहरुले अवश्य बुझ्ने नै छ ।