काठमाडौं। नेपाल स्रष्टा समाजले ‘रमेश-गंगा स्रष्टा सम्मान’ को घोषणा गरेको छ ।
‘रमेश गंगा स्रष्टा सम्मान -२०८०’ बाट सरस्वती रिजाल तथा ‘रमेश -गंगा स्रष्टा सम्मान- २०८१ ‘बाट वरिष्ठ कवि तथा साहित्यकार विधान आचार्यलाई सम्मानित गर्ने भएको हो ।
सिर्जनात्मक क्षेत्रमा लामो समयसम्म निरन्तरता दिएर उल्लेख्य योगदान गरेका ५० वर्ष उमेर पार गरेका नेपाली स्रष्टालाई प्रदान गरिने उक्त सम्मानको नगदराशी रु.२१ हजार एक सय एघार रहेको छ ।
दुबै स्रष्टाहरुले आधा दर्जन भन्दा बढी विभिन्न विधाका पुस्तकहरु प्रकाशित गरिसकेका छन् ।
हालसम्म यो सम्मानबाट जनार्दनशरण त्रिपाठी,प्रा.डा.वासुदेव त्रिपाठी र नरनाथ लुइँटेल सम्मानित भैसकेका छन् ।
यस सम्मानका संस्थापक रमेशचन्द्र,डा.दिनेशचन्द्र,महेशचन्द्र,सुवासचन्द्र तथा देवेशचन्द्र देवकोटा रहेको अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिए ।