
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन् ।
ताप्लेजुङको फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले प्रधानमन्त्रीका अभिव्यक्ति गैरजिम्मेवार भएको बताए ।
“ओलीजीले जथाभावी बोलिरहनुभएको छ,” डा. कोइरालाले भने- “प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन । उहाँले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साइरहनु भएको छ ।”
सोही बेला उनले नेपाली काँग्रेसका कार्यकर्तालाई निष्ठाको राजनीतिमा लाग्न र झोले नबन्न पनि आग्रह गरे ।
उनले भने-“नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्र हुँदैन,कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ।”

