काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।
आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो ।
नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ । छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ । ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।
पहिले ब्याटिङमा आएको यूएईले दिएको ११५ रनको सामान्य चुनौतीलाई नेपालले अन्तिम तीन बल बाँकी हुँदा भेट्टायो । त्यसक्रममा अविजित रहेकी नेपाली कप्तान इन्दु बर्माले ३० रनको योगदान गरिन् ।
