
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी अभिव्यक्ति नदिन आदेश दिएको छ।आदेशमा सर्वोच्चले वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने स्मरण गराएको छ । संसदबाहिर दिइने अभिव्यक्तिमा समेत अझ संवेदनशील हुनुपर्ने आदेशमा उल्लेख छ।
अधिवक्ता अनन्त लुइँटेलसहितको अवहेलना निवेदनमा मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासले अदालतमा विराधीन मुद्दामा सदनमा समेत छलफल गर्न नपाइने संविधानको व्यवस्था सम्झाएको छ ।
अदालतले आदेशमा भनिएको छ, “विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको संवेदनशीलता विचार गरी प्रतिकूल असर पर्ने अभिव्यक्ति नगर्नू र नगराउनू।”
महामन्त्री थापाले केही दिनअघि ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा सर्वोच्चमा डिल भइरहेकाे’ भन्दै दिएको अभिव्यक्तिलाई लिएर अदालतको ध्यानाकर्षण भएको हो।



