
प्रदिप सापकोटा
पनौती । उसो त यो ठाउँ देशको राजधानीबाट धेरै टाढा छैन् । उपत्यकाका दुई जिल्ला जोड्छ यो ठाउँले । पनौती नगरपालिका वडा नं १ साविकको रयाले गाविस । केही दिन यता वत्तिमूनिको अध्यारो बनेको छ । यहाँ अविरल परेको पानीको कारण उज्यालो छैन् । पिउने पानीको हाहाकार छ । केही सर्वसाधारण बाढीपहिरोमा परि मारिएका छन् । धेरै भौतिक संरचनाहरुको क्षति भएको छ । सार्वजनिक सडक सञ्जालहरु बन्द छन् । सँचार त परको कुरा खुलेकै छैन् ।
पनौती १ ,भन्जिँगमा पहिरोले दुई छोरी गुमाएका रामप्रसाद सापकोटाको पीडा कसले बुझिदिने / २ छोरी गुमे ,श्रीमति भक्ति सापकोटा घाइते भै अस्पतालमा छिन् । तल बग्ने खोलाले माइली सापकोटा र उनका एकदर्जन पशु बगाए,पुरिए । कहिँ निस्केर जाने बाटै छैन् । निउरेखोला वडा कार्यालय हुँदै पर्खालचौर बजार र बस्तीमा छिरेर अस्तव्यस्त बनायो । शहीद पार्कमा पनि पहिरोले दुख दियो ।

पनौती १, मूलखोला रेन्बो ट्राउड फर्म व्यवसायी रामकृष्ण पराजुलीको निद हराम भएको छ । नजिकैबाट बाढीको बेगलाई नियालेका उनले झण्डै तीन हजार केजी माछा गुमाए्रका छन् । ‘झण्डै आधा करोड रुपैयाँ क्षति पुगेको छ । अब त झन समस्या छ । ब्यवसाय नै मर्कामा पर्ने भो । बाटो तत्काल बन्ने सम्भावना पनि देखिएन ।’ उनले बताए । उनको भन्दा झण्डै सय मिटर माथि महालक्ष्मीका नेत्र तामाँगको भैसी फार्म थियो । ‘त्यहाँ रहेका एक दर्जन भैसी र दुई दर्जन जति पाडापाडी पहिरोमा पुरिए कि बाढीले बगायो पत्तै पाउन सकिएन । उनी बताउँछन् ।’ महामारी हुने डर पनि उनलाई उत्तिक्कै छ । ति चौपायाँको उचित उद्धार नभएकोले दुर्गन्ध फैलन थालिसकेको छ ।

सन्चार नभएको अबस्था छ । कसलाई हारगुहार गरुँ ? नेताहरु जनतालाई दुख पर्दा कता छन् थाहा छैन् । उनको ट्र्राउड फर्मनजिकैबाट पहिरो गएको छ । खोलाले बाटोको नक्सै हराइदिएको छ । अझ माथि रहेको सुरेश तामाँगको खानीखोलामा रहेको सबैभन्दा पूरानो ट्राउड फर्म पनि सब क्षति भएको छ । उनको रेष्टुरेन्टमा प्रयोग हुने सामाग्रीहरु खोलाभरी देखिएका छन् । उनको कार पनि बगाएर मुलखोला कटाएर किनारमा पुरयाएको छ । हेर्दा लाग्छ खेलौना कुच्चिएजस्तो ,पुरै ध्वस्त छ । कुच्चिएका गाग्री,टेवुल कुर्सीका खुट्टा बगरतिर यत्रतत्र छन । उनी पुरै विस्थापित छन् । ठूलो लगानीमा च्याउखेती गर्ने रमेश सापकोटाको च्याउखेतीमा बाढी पसेको छ । माटो र हिलो भरिएको छ । उनले आफ्नो ३० लाख भन्दाको क्षति भएको बताएका छन् । चिसापानीका ठूल्दाई र माइल्दाईको पनि घर गोठको हालत हेरिसक्नु छैन् । यी त भए केही प्रतिनिधिमूलक पात्र र क्षतिका विनासका कथा । यस्ता कथा प्राय:का छन् । सबैका बारीमा पहिरा छन् । खेतको धानबाली डुबेको छ । धेरैका घरआँगन चर्किएका छन् ।
खानी खोला जाने मुल खोलाको पुल पुरै टालिएको छ । आउजाउ मुस्किल छ । उता विजुलीका पोलहरु खोलामा लडिरहेका छन् । तारहरु असुरक्षित भएर झुष्डिएका छन् । हिमपाइपहरु खोलाभरी देखिएका छन् । विहावर रेन्वो ट्राउडको शौचालय सलाईको बट्टा जस्तो पल्टिएको छ ।रेष्टुरेन्टको केही भागमा समेत खोलाले हानेको छ । कृष्णबहादुर थापाको लमतन्ने बारीको पाटो बगरमा परिणत भएको छ ।आनाको ७ लाख दिँदा नबेचेको नबेचको उक्त जग्गा अहिले पुरै ढुँगे बगर भए्रको छ । अरुण कार्कीको ढलान घर सबै बाढीले लडाएको छ । बस्तुभाउ पनि । उता रामकुमार रजितकारको पक्की घरमा पिलर समेत निकालेको छ ।झण्डै पाँचसय किलो ट्राउड माछा मरेको छ उनको ।
छ दिनदेखि सम्पर्क विच्छेद भएको छ यहाँ । हल्ला र अफवाह फैलन्छन् । सत्यता कसैलाई थाहा हुन्न । अझै भनुँ बुझ्न सकिन्न । समय,मौसम सबै यहाँका मान्छेका लागि प्रतिकूल भएका छन् आज । गाउँ पुरै प्रभावित छ बाढीपहिरोले । पहिरोमा नफसेको कुनै बस्ती छैन्। । बाढीले नबगाएको कुने नदी किनारका बस्ती र खेतीपाती छैन् । केही आम्दानी गरौंला भनेर गाई,भैसीं,बाख्रा आदि चौपायाँ पालेर दुख गर्नेहरुको पीडा कसले बुझिदिने ?
‘जनताका आशा र अपेक्षा त्यस क्षेत्रका संघीय साँसद र प्रदेश साँसदप्रति धेरै देखिएको छ । तर उनीहरु बेखवर छन्। नेताहरु सूचनामा पक्कै होलान नि तर पनि आउँदैनन् उद्धार र राहत त परको कुरा सहानुभूति दर्शाउने पनि कोही देखिएन ।’ स्थानीय दिपक सापकोटाको गुनासो छ ।

बाढीले करिव ३ रोपनी खेत बगाएको छ विश्वनाथ सापकोटाको । अहिलेसम्म यस्तो बाढी नझेलेका उनी प्राकृतिक प्रकोपबाट पिडित छन् । त्यही ठाउँमा लहलह सुनौला बाला झुलेको धान सहित खेत पुरै लिलावतीले कटान गरेर बगाएको छ बागमारेका ध्रुव सापकोटाको । यसैगरी भोटेपोले फाँटका खेत प्राय बाडीले लगेको छ । साविक वडा नं ३ मा प्रेम वाइवाको पक्की घर,सुत्केरी भैसी सबै बाढीमा परेको छ । मानेदोभानमा कृष्णबहादुर थापाको पक्की घर खोलामा ढलेको छ । यसैगरी फलामेका तुलसी श्रेष्ठको पनि घरको अबस्था त्यस्तै छ । मुरलीखोलामा पनि धनकुमारी तामाग,कान्छा तामागँको बास उठेको छ । बारीको क्षतिको त तथ्याँक कसले राखोस । नलडेको कहाँ छ र । भिरालेका टिकाप्रसाद हुँमागाईको हालत अरुको भन्दा फरक छैन् । ढाँडाचौरका इन्द्रप्रसाद हुन या छरुवाका कुलप्रसाद सबैको खेत लिलावतीले निलेको छ । रयालेका अधिकाँस शेयर सदस्य रहेको सँस्थाको जग्गामा पनि खोलो पसेको प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले बताए । बागमारेको चौरमा रहेको भर्खरै निर्मित मन्दिरमा पनि क्षति पुगेको छ ।डाडागाउँबाट आएको भेलले केपि सापकोटाको गोठ बगाएर गाईबस्तु मरे भने पक्कीघर जोखिममा पर्यो ।

आफ्नो खेत खोलाले बगाउँदा मानसिक सन्तुलन समेत गुमाएको व्यक्तिलाई कति पीडा भयो होला सहजै अनुमान गर्न सकिन्छ ।झण्डै सयको हाराहारीमा किसान परिवारको खेत या त बाढीले बगाएको छ या त खोला पसेर धानबाली नष्ट पारेको छ । भनिसाध्ये छैन् । वडाले पहल गरेर त्रिपाल,खाद्यान्न वितरण गरिरहेको छ । मूल सडकहरुमा पहिरो पन्छाउने काम थालिएको छ पनौतीदेखि मानेदोभान जाने बाटोमा बल्ल यातायात चल्न सक्ने अबस्था सिर्जना गरिएको देखिन्छ ।
‘किसानलाई जहिल्यै मर्का छ । कहिले बधेँलले आतंकित पार्छ । कहिले बाढीपहिरो आउँछ । कहिले पशुमा रोगब्याधीको महामारी । यसो मात्र हैन् उचित मूल्यमा उत्पादित फसलले वजार नपाउँदा अर्के समस्या छ ।’ विक्रम सापकोटाको दुखेसो छ ।
लामदुवालीको फाँट खोलाको किनारका आसपासका सबै जसो खेत,झागमरे कपिल सापकोटाको खेत केही बचेको छैन् । पक्की सडकमा धेरै ठाउँ भासिएको छ ।
उता कमेराखानीमा चित्रप्रसाद सापकोटाको घर पूर्णरुपमा क्षति पुगेको छ । ‘रातभर जाग्राम बसेउँ । पछाडिबाट थुनिएको पहिरो खोल्ने प्रयास गरेउँ । तर घर जोगाउन सकिएन । घरभित्रका सामान पनि त्यस्तै । बल्ल बल्ल गाई बस्तु फुकाएर ज्यान बचाइयो । ‘पीडा पोख्छन् चित्र ।

विद्यालयहरु बन्द छन् ।भालचन्द्र माविको नवनिर्माणाधिन भवनभित्र खोलो पसेको छ । विद्यालय परिसर वरिपरिको बाटो नै छैन् । न्यू राइजिग तर्ने पूल पनि बाढीले बगाएको छ ।
स्थानीय राजनीतिज्ञ रामचन्द्र सापकोटा स्थानीय रुपमा मात्र उद्धार र राहत अभियानले गाउँले त्राण नपाउने बताउँछन् । मानविय क्षति,चौपायाँ क्षति मात्र नभएर यावत भौतिक सँरचनामा भएको बाढीपहिरोबाट पिडितहरुलाई पुर्नस्थापित गर्न संघ र प्रदेशले तत्काल पहल गर्नुपर्ने आवश्यता रहेको बताए । ‘म सर्सर्ती धेरै ठाउँमा घुमेर हेरें । धेरै भौतिक क्षति भएको छ । आउजाउ गर्ने संरचनाहरु तत्काल बनाउनुपर्ने छ । अत्यावश्यक सामाग्रीहरु खानी डाँडा लगायतका गाउँहरुमा लान सकिने अबस्था सिर्जना गर्न यातायात जोड्न पहल गर्नुपर्ने देखिन्छ । एकहप्तादेखि बत्ति छैन् । प्राधिकरणले तदारुकतासाथ विद्युत आपूर्तिलाई सहज गर्न आवश्यक सम्पूर्ण काम गर्नु जरुरी छ । मुख्य कुरा खानेपानीको अभाव भएको छ । मरेका चौपायाहरुको उचित व्यवस्थापन तत्काल गर्नुपर्ने देखिन्छ । अन्यथा महामारी फैलन सक्छ ।’

राजधानी नजिकको एउटा सुन्दर गाउँ चाडपर्वको मुखमा खण्डहरमा परिणत भएको छ । भुकम्पको थिलथिलोबाट त्राण नपाउँदै बाढीपहिरोले गरेको सर्वनासले सर्वसाधारण जनताको जनजीवन अत्यन्तै कष्टकर भएको छ । यस विषम परिस्थितिमा जनताका प्रतिनिधिहरुले स्थलगत निरिक्षण गरुन । तत्काल गर्नुपर्ने उद्धार र राहत पहिचान गरुन । पिडितहरुको घाउ चहरर्याइरहेको छ मल्हम लगाइदिउन । विस्थापितहरुलाई यथोचित पूर्नस्थापित कार्यमा पहलु गरिदिउन रयालेबासीको अपेक्षा रहेको छ ।







