rain
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर साधारणतयादेखि पूर्णतया बदलीको अवस्था रहेको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा एकदुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो बागमती, गण्डकी लगायत देशको पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।