काठमाडौं । आज विश्व वातावरण दिवस । हरेक वर्ष जुन ५ लाई विश्वव्यापी रुपमा वातावरण दिवस मनाउने गरिन्छ ।
मानव सिर्जित विभिन्न समस्याहरुले विश्वको वातावरण नै मानव र प्रकृति प्रतिकूल छ । वातावरण संरक्षणका लागि विश्वमा जे जति प्रयास छन् कम छन् । वातावरणको प्रदुषण मानव निर्मित समस्याले सिर्जित समस्या भएकोले यसले जनस्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभावको वारेमा जनचेतनामा अभिवृद्धि गरिनु जरुरी छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई मौलिक हकको रुपमा स्वच्छ वातावरणको हकलाई सुरक्षित गरेको छ । सुरक्षित गरिएको हकलाई ब्यवहारिक कार्यान्वयनमा लैजानु आजको आबश्यकता हो । यसको लागि वातावरण स्वच्छ राख्न पहलु हुनुपर्दछ । मानव सिर्जित फोहोरमैला,प्रदुषणविहिन समाज बनाउन सबैले आआफ्नो तर्फबाट लागिपर्नु पर्दछ ।
बढ्दै गएका मानवका असिमित चाहाना,आकांक्षाहरुले यो प्रकृतिको चरम दोहन भएको छ । विश्वव्यापी जलवायु परिवर्तन भएको छ । जैविक विविधताको विनास र क्षयिकरण भएको छ । बढ्दो धूवाँधूलो,प्रदुषण आजको विश्वको निम्ति प्रमुख चूनौती रही आएको छ । यसले मानव जीवन र पृथ्वीकै विनासको खतरा बढेको छ । औद्योगिकीकरणको बढवा र तिनवाट उत्सर्जित विषालु ग्याँस,आणविक भट्टी,कोइलाजन्य इन्धनको अत्याधिक प्रयोग र ति बाट निस्किएका विभिन्न हरित गृह ग्याँसले वायुमण्डल पुरै प्रदुषित छ ।
हाम्रो भूमी हाम्रो भविष्य भन्ने नाराका साथ दिवस मनाइरहँदा बातावरण दिवसको अबसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैलीका वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दीगो बनाउनेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिंदै वातावरण सुधारकालागि सबैमा लाग्न शुभकामना दिएका छन् ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न सवैलाई उत्प्रेरित गर्न जोड दिंदै विश्व वातावरण दिवसको शुभकामना दिएका छन् ।