
हिक्मत डंगोल | कलाकार सविता डंगोलले आधुनिक पुस्ताले कला र प्रकृतिप्रति हार्दिक संवेदना गुमाउँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा नोभेम्बर २६ देखि डिसेम्बर २८ सम्म चलिरहेको आफ्नै कला प्रदर्शनी “Aura to Togetherness” को अवलोकनका क्रममा उनले आजको मानिस ‘चित्र हेर्नेलाई मात्र सीमित भइसकेको’ बताइन्।
डंगोलका अनुसार प्रदर्शनीको मूल थिम वातावरणीय विनाश र त्यसले जीव–जन्तुको जीवनमा पारेको प्रभाव हो। “वातावरणीय क्षतिका कारण प्राणीहरू आफ्नो वासस्थान छोड्न बाध्य छन्। ४० वर्षपहिले काठमाडौं हरियालीले मुग्ध थियो, सुगन्धले भरिएको थियो। आज कंक्रिटले ढाकिएको छ। यो हाम्रो असफलता हो,” उनले दिक्कत व्यक्त गर्दै भनिन्।
कला बजारको अवस्थाले पनि कलाकार निराश बनिरहेको उनले सुनाइन्। “नेपालमा अहिले एउटा चित्र पनि बेचिन गाह्रो छ। कलाकारले निरन्तर सिर्जना गरिरहे पनि घाटा मात्रै व्यहोर्नुपरेको छ। मानिसलाई कलाको महसुस हुन छोड्यो,” डंगोलको कटु टिप्पणी थियो।
काठमाडौंलाई उनले ‘खुला संग्रहालय’ र ‘अध्यात्म बाँचेको शहर’का रूपमा व्याख्या गरिन्। तर, सामाजिक सञ्जालमा डुबेको नयाँ पुस्ताले यस शहरको सांस्कृतिक धड्कन नबुझेको उनको आकलन छ। “सामाजिक सञ्जाल अहिले ड्रग्स जस्तै भयो। यसले मानिसको चेतनालाई भ्रस्ट गरिरहेको छ। कलासँग डुबेर बस्न सक्ने, संवेदनालाई बुझ्न सक्ने क्षमता हराउँदै छ,” उनले थपिन्।
कलाकार डंगोलको बुझाइमा आजको पुस्ता अत्यधिक एक्लोपनमा छ; कला हेर्छ, तर त्यसको गहिराइ महसुस गर्न नसक्ने अवस्था छ। “मानिस कलात्मक जीवन बिर्सियो। संस्कृति र प्रकृतिमाथि आक्रमण भैरहेको छ। कलालाई हामीले बचाउन सकेनौँ भने भविष्यको संवेदनशीलता समेत हराउँछ,” उनले चेतावनी दिइन्।
डंगोलको ताजा प्रदर्शनी मानव, प्रकृति र संवेदनाको अन्तरसम्बन्धलाई पुनःस्मरण गराउने कलात्मक प्रयासका रूपमा हेरिएको छ।







