काठमाडौं । : अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न अङ्ग भएकाले समाजलाई अगाडि बढाउने सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विश्व सङ्गीत दिवसका अवसरमा आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तरक्रियामा उहाँहरुले सङ्गीतलाई छुटाएर मानव जीवन पूर्ण हुन नसक्ने तर्क गरेका छन् |
सन् १९८१ जुन २१ मा फ्रान्सबाट सङ्गीत दिवस मनाउन थालिएको हो । नेपालमा भने २०४५ सालदेखि दिवस मनाउन थालिएको हो ।सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो ।
सांसद एवं लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्ण घर्तीले नाच, गान, बाजाका धुन प्रतिविम्बित ध्वनि र सुरको संयोजनबाट निर्मित अलग्गै भाषा नै सङ्गीत भएको र यो मानव जीवनका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले सङ्गीतलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै सामाजिक चेतनालाई उन्नत बनाउन तथा भ्रम चिरेर समाज विकासमा योगदान दिने महत्वपूर्ण माध्यम गीत सङ्गीत भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भू राईले नेपालमा सङ्गीत अनियन्त्रित हुने क्रममा देखिएको भन्दै प्रतिष्ठानले प्रतिष्ठानले नियन्त्रित गर्नै प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ ।
गायक तथा सङ्गीतकार रामकृष्ण दुवालले भन्नुभयो, “विश्व सङ्गीत दिवसमा सङ्गीतसँगै मेरो बिहानी सुरु भयो । योग दिवस पनि परेको हुनाले बिहानी मधुर धुनसँगै योग गरेँ ।” उहाँले भन्नुभयो, “म र गीत/सङ्गीतको पर्यायवाची जस्तै भएका छौँ । मेरो जीवन नै सङ्गीतका लागि भएकाले हरेक दिन सङ्गीत दिवस हो ।” सङ्गीतको शक्ति अतुलनीय छ । त्यसैले त सङ्गीतले मानिसलाई धरधरी रुवाउन सक्छ । पेट मिचुन्जेल हँसाउन सक्छ । एक तमासले आफ्नो काममा सक्रिय पाँच इन्द्रियलाई समेत चलाएमान बनाउन सक्छ ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञापरिषद्का सदस्य एवं सङ्गीत विभाग प्रमुख कर्ण गौतमले सङ्गीत मानिसको अभिन्न अङ्ग भएको स्मरण गर्दै विरामी हुँदा उपचारका लागि, दुख विसाउनका
लागि पनि सङ्गीतको प्रयोग भइरहेको बताउदै उहाँले अहिलेको समाजमा सङ्गीत नेतृत्वदायी साधन बनिरहेको जिकिर गर्नुभयो ।
अमेरिकी नागरिक जोन कोहल्गीले गरेको विश्व सङ्गीत दिवसको परिकल्पनालाई फ्रेन्च नागरिक सङ्गीतकार तथा नृत्य निर्देशक मोरिसा ल्केरनलको अथक् प्रयासपछि साकार गरेको इतिहासमा उल्लेख छ । नेपालमा भने यो दिवस विसं २०५४ सालबाट मनाउन थालिएको हो । फ्रेन्च कल्चर सेन्टरको सहयोगमा सांस्कृतिक संस्थानले काठमाडौँमा पहिलो पटक विश्व सङ्गीत दिवस मनाउन शुभारम्भ गरेको हो । नेपालमा भने २०४५ सालदेखि दिवस मनाउन थालिएको हो ।