काठमाडौं । विश्वविख्यात ध्यान प्रशिक्षक तथा बौद्ध साधक मिङ्ग्युर रिन्पोछेले यही भाद्र २८ गते शुकबार देखि ३० गतेसम्म काठमाडौंमा “जिउनुको मज्जा” ध्यान कार्यक्रमको प्रशिक्षण दिनेछन्। तीनदिने उक्त ध्यान कार्यक्रम काठमाडौंको स्वयम्भू नजिक तेरगार ओसेल्लिङ् गोन्पामा आयोजना हुने र नेपालीका लागि प्रवेश निःशुल्क रहने आयोजक अरुण पौडेलले इखबर नेटलाई जानकारी दिएका छन्।
पश्चिमी जगतमा “ज्योय अफ लिभिङ्” नामले परिचित उक्त ध्यान प्रशिक्षण मानसिक स्वास्थ्य, शान्ति, एकाग्रताका लागि ज्यादै प्रभावकारी रहेको सहभागीहरूले बताउँदै आएका छन्। नेपालमा यो प्रशिक्षण यसअघि सन् २०१७ मा आयोजना गरिएको थियो। गैर–साम्प्रदायिक र गैर–धार्मिक उक्त कार्यक्रमले सवै क्षेत्रका सर्वसाधारणलाई लाभ पुर्याउने आयोजक संस्था बुद्ध प्रकाश फाउन्डेसनले बताएको छ। “ध्यानको बिलकुलै अभ्यास नगरेका वा वर्षौदेखि अभ्यास गरिरहेका सबैका लागि यो ध्यान उत्तिकै उपयोगी रहने कुरा ” फाउन्डेसनले बताएको छ। ध्यान प्रशिक्षणका अतिरिक्त गोन्पाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत भदौ २८ देखि असोज ५ गतेसम्म संचालन हुने, ङाक्सो ढ्रुब्छेन पूजा पनि आयोजना गरिने भएको छ । ङाक्सो ढ्रुब्छेन, चित्तशुद्धि र विघ्नबाधाबाट मुक्तिका लागि प्रभावकारी हुने विश्वास हिमाली बौद्ध धर्मवालाम्बीहरुमा पाइन्छ ।

अमेरिकास्थित युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनमा ध्यानसम्बन्धी वैज्ञानिक परीक्षणहरूमा संलग्नता र स्नायु वैज्ञानिकहरूसँग निरन्तर सहकार्यका कारण आधुनिक स्नायुविज्ञान र बौद्ध ध्यानलाई जोड्न रिन्पोछेको भूमिका महत्वपूर्ण मानिन्छ। रिन्पोछेद्वारा लिखित “द ज्योय अफ लिभिङ्”, “ज्वोयफुल विज्डम” “टर्निङ्” कन्फ्युजन इन्टु क्लारिटी”, र “इन लभ विथ द वल्र्ड” अन्तर्राष्ट्रिय रूपमा अत्यधिक बिक्री हुने ध्यानसम्बन्धी पुस्तकको सूचीमा पर्छन्।