काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।
महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिने जनाएको छ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११: ५९ बजेसम्म तोकिएको छ ।
विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा entrance.kathmandu.gov.np मा अनलाइन आवेदन दिन सक्ने महानगरले जनाएको छ ।
महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जानकारी दिइएको छ ।
यसैबीच, विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।