काठमाडौं ।विगत तीन दशकदेखि नेपालको विकास क्षेत्रमा सक्रिय नेटवर्क संस्था नेपाल सहभागीमूलक कार्य समूह
(नेपान) को नयाँ अध्यक्षमा अश्विनकुमार पुडासैनी चयन भएका छन्।
शनिवार राजधानीमा सम्पन्न नेपानको ३१औं साधारणसभाले नयाँ कार्यसमिति बनाएको हो । संस्थाको ११ सदस्यीय नवगठित
कार्यसमितिमा उपाध्यक्ष कर्णबहादुर नेपाली, सचिव श्रीराम केसी, कोषाध्यक्षमा पद्मा शाक्य रसदस्यहरूमा डा. गिरी पन्थी, डा. जानुका न्यौपाने, डा. मेनुका कार्की, विजया खनाल दाहाल, रामहरिअधिकारी, कृष्ण शर्मा र हरिबहादुर देवकोटा रहेका छन्। यसअघि नेपानका अध्यक्ष भोला भट्टराई थिए । २०५१ सालमा स्थापित नेपानमा हाल देशभर छरिएर रहेका करिब साढे तीनसय सदस्य रहेका छन्।
नेपालमा सहभागीमूलक विकास प्रक्रियाको उत्थान र अधिकारमुखी समावेशी विकास प्रक्रियालाई सहजीकरण गर्दै यस संस्थाले हालसम्म हजारौं व्यक्तिलाई प्रशिक्षण तथा दर्जनौं व्यक्तिलाई इन्टर्नसिप प्रदान गरेको छ । साथै अनुसन्धानमा आधारित नतिजाका आधारमा नेपाल सरकारको नीति तथा थिति परिवर्तनमा पनि वकालती भूमिका सशक्तरुपमा खेल्दै आएको छ । ज्येष्ठ नागरिकका सवालको अनुसन्धान गर्नमा यो संस्था नेपालमा नै अग्रणी रहेको छ । साथै, ‘सहभागिता’ नामक विकास म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक वार्षिक अंग्रेजी जर्नल प्रकाशन पनि नेपानको विशेषता रहिआएको
छ । ३१औं साधारणसभाको अवसर पारेर ‘सहभागिता’को ५९औं अंक (जलवायुपरिवर्तन विशेष अंक) र ‘पार्टिसिपेसन’को २५औं अर्थात्रजत अंक (अंक १ देखि २४ सम्मका १६३ लेखका सारांश विशेष) पनि लोकार्पण गरिएको थियो ।
सोही अवसरमा नेपानले वार्षिक रूपमा प्रदान गर्दै आएको २०८२ सालको ‘प्रसिद्ध विकास लेखन पुरस्कार’ वरिष्ठ लेखिका तथा साहित्यकार सुलोचना मानन्धर धिताललाई र २०८२ सालकै ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ कैलाली धनगढीका वातावरण अभियन्ता तथा वकास सहजकर्ता रविन्द्र लामिछानेलाई प्रदान गरिएको थियो । दुबै पुरस्कारको राशि दश–दश हजार र सम्मानपत्र रहेको छ । नेपानका सदस्यहरूमध्ये वर्षभर स्वयंसेवीरूपमा उत्कृष्ट कार्य गर्ने सदस्य दीपक जोशी पोखरेललाई पनि वार्षिक साधारणसभाको अवसर पारेर सम्मान गरिएको थियो ।
नेपानलाई विश्वकै एक जीवन्त विकास नेटवर्किङ संस्था मानिन्छ र यसले सदस्यहरूकै मुठीदानबाट कोटेश्वरको जनतामार्ग, सहयोगीनगरमा एक दशकअघि आफ्नै घर (‘नेपान–घर’) समेत बनाएको छ ।
नेपानले अहिले पनि दिगो विकासका लागि अक्षयकोषको अवधारणालाई अघि बढाइरहेको जानकारी पूर्वअध्यक्ष तथा प्रसिद्ध विकास लेखन पुरस्कारका संस्थापक एवं भोला दाहाल स्मृति पुरस्कारका प्रवद्र्धक डा. चेतनाथ कणेलले बताए ।