
वीरगञ्ज ।वीरगञ्जमा हैजा संक्रमितको संख्या एक सय नाघेको छ ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार हैजा संक्रमितको संख्या ११४ पुगेको छ । तथ्यांक अनुसार आईसीयूमा ३१, एचडीसीयूमा ६ र वार्डमा १६९ जना झाडापखाला र हैजाका बिरामी उपचाररत छन् ।
महाशाखाका अनुसार आरडीटी परीक्षणमा नारायणी अस्पतालमा ४३, तराई अस्पतालमा ३८, नेसनल मेडिकल कलेजमा १५ जना झाडापखालाका बिरामीमा हैजा संक्रमण पुष्टि भएको हो ।
यसैगरी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मंगलम प्याथोलोजिमा गरिएको आरडीटी परीक्षणमा समान ३र३ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
यसैगरी अली अर्थो अस्पताल र एड्भान्स सेन्ट्रल अस्पतालमा गरिएको परीक्षणमा समान २र२ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार यता विभिन्न अस्पतालमा ३९० जना झाडापखाला हैजाका बिरामी भर्ना भएका थिए । जसमध्ये १८४ जना झाडापखला र हैजाका बिरामी उपचारपछि अस्पतालहरूबाट डिस्चार्ज भएका छन् ।
वीरगञ्जका विभिन्न १६ वटा अस्पतालमा २०६ जना झाडापखाला र हैजाका बिरामी उपचाररत रहेको महाशाखाले जनाएको छ ।
दिनमा तीन वा सोभन्दा बढी पानी जस्तो पातलो दिसा भएमा झाडापखाला भनिन्छ । झाडापखालाले शरीरबाट पानी, खनीज तत्व वा पोषक तत्व खेर गई समयमा उपचार नभएमा मृत्यु पनि हुन सक्छ ।
झाडापखाला लाग्दा शरीरबाट पानी, खनीज तत्व र पोषकतत्व खेर जाने भएकोले यसले जलवियोजन भई मानिसको मृत्यु हुन सक्छ । त्यसैले झाडापखाला लाग्दा जलवियोजन हुन नदिन पुनजर्लिय झोल, भातको माड, गेडागुडी तथा तरकारीको झोल आदि तुरुन्त र लगातार खानु पर्छ ।




