काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ ।
यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने -‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकायलाई पनि भन्न सकिन्छ । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ।’
यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छ । परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ ।
यसअघि परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरे पनि यसपटक शिक्षकहरु आन्दोलनमा भएकाले तालिम समेत भएको छैन ।
शर्माका अनुसार ‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानुहुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं,’ शर्माले भने-‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ । जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुनेगरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ ।’