
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)मा सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट) ले बिदामा बसेर विरोध जनाएपछि आइतबार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए । उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट) ले बिदामा बसेर विरोध जनाएपछि परेका थिए । भारतको नयाँदिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ । उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौंमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । यात्रुलाई आइतबार राति मुम्बई र आज बिहान दुबई लगिएको छ । उनले पाइलटको मागका सम्बन्धमा निगम व्यवस्थापन गम्भीर रहेको, यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
निगममा कार्यरतमध्ये केही क्याप्टेनले यही मङ्सिर ६ गतेदेखि ‘सिक रिपोर्ट’ र ‘अर्जेन्ट वर्क रिपोर्ट’ गर्दै आएकामा मङ्सिर ८ गते शनिबारदेखि उडानमा प्रभाव देखिन थालेको थियो । निगममा रहेका ४३ क्याप्टेनमध्ये आठ जनाले विरोध जनाएको बुझिएको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा दुई वाइडबडी र दुई न्यारोबडी विमान छन् । निगमका पाइलटहरूको सेवासुविधा सम्बन्धमा निगम व्यवस्थापनका तर्फबाट विभिन्न चरणमा अद्यावधिक जानकारी गराइएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रक्रियामै रहेको निगमले उल्लेख जनाएको छ ।

