]काठमाडौ । आज मधेशका विभिन्न स्थान सहित देशभर राखी पर्व मनाइदैछ ।
साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा,धागो) बाँधिदिने परम्पराको यो पर्वलाई ‘राखी’ पर्व भनिने गरिएको हो ।
विशेषत मधेशमा मनाइने यो पर्वलाई अहिले देशभर मनाउन थालिएको छ ।
आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो कटाएर राखी बाँधिनुपर्ने पुरोहितहरु बताउँछन् ।आज भद्रा करणको भोग अपराह्न १ः३१ सम्म रहने हुँदा सो समय कटाएर राखी बाँधिनुपर्ने उनीहरुको भनाइ छ ।
बलिका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी यो पर्व मान्न थालिएको काहावत रही आएको छ ।
दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् ।