माघ २९, हामीले धर्मको अभ्यास कसरी गर्ने? बुद्धले एकपटक अत्यन्तै सारभूत उपदेश दिनुभएको छ:
सब्बपापस्स अकरणं, कुसलस्स उपसम्पदा।
सचित्त परियोदपनं, एतं बुद्धान सासनं॥
(अर्थात्: कुनै पनि पाप कर्म (अकुशल कर्म) नगर्नु, पुण्यको सञ्चय गर्नु र आफ्नो चित्तलाई पूर्ण रूपमा नियन्त्रण वा शुद्ध राख्नु नै बुद्धको शिक्षा हो।)
यस गाथामा तीनवटा मुख्य बुँदाहरू छन् । पहिलो, सबै प्रकारका पाप कर्म (अकुशल कर्म) लाई त्याग्नु, दोस्रो, सक्दो धेरै कुशल कर्म वा पुण्य सञ्चय गर्नु, र तेस्रो, आफ्नो मनलाई अनुशासित बनाउनु ताकि क्लेशहरूले हामीलाई विचलित नबनाउन् । धर्मको सार भनेकै दश अकुशल कर्मलाई त्यागेर दश कुशल’कर्मलाई अपनाउनु हो; र यसको आधार भनेकै आफ्नो मनलाई वशमा राख्नु हो ।
त्यसैले, हाम्रो मनमा रिस, डाह, अहंकार जस्ता भावहरू आएका छन् कि छैनन् भनेर हामीले निरन्तर जाँचिरहनु पर्छ । यसो गर्नको लागि हामीमा स्मृति, सम्प्रजन्य र अप्रमाद हुनु आवश्यक छ ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ २३-२४ बाट