
सामान्यतया चाड भन्नासाथ बाह्यदृष्टिले हेर्दा हर्षोल्लास गरी ऋतुअनुसारको खाद्यवस्तु खाईकन मनोरञ्जन गरी मनाउने पर्व भनेर अक्सर बुझ्ने ,ठान्ने गर्दै आएको देखिन्छ तर हरेक चाडपर्वको भित्री दर्शनलाई गहिरिएर हेर्ने हो भने चाहिँ त्यति मात्रै बिल्कुलै होइनन् भनी बुझन् जरुरी हुन्छ ।
हामी नेवार समुदायको हरेक संस्कृति संस्कार तन्त्रोक्त विधिले युक्त छन् भन्ने कुरा यहाँ व्याख्या गरिरहन आवश्यकता छैन, यो सर्वविदित प्रायः नै छन् । ती तन्त्रोक्त विधिको कारणले गर्दा हामी हाम्रा पूर्वजहरूलाई आफ्नै कूलमा पुनर्जन्म गराउने हेतु सम्मतको अन्त्येष्टी काज क्रिया संस्कारहरू गर्दै आइरहेका हुन्छौं भन्ने कुरा पनि यहाँ व्याख्या गरिरहन जरुरी छैन ।
वेद पुराणहरूमा मनुष्यजन्म अति मूल्यबान छन् भनी व्याख्या गरिएको पाइन्छ । त्यसैले हामी नेवार समुदायमा मृत्युपछि ८४ लाख जुनी परिक्रमा गरी पुनः मनुष्य चोला लिनु पर्ने हुन्छ तर त्यसो गर्न नपरोस् र आफ्नै कूलमा सोझै जन्म लिन पाओस् साथै पुनर्जन्म हुँदा उच्चकूलमा स्वस्थसुन्दर देह लिएर जन्म लिन पाओस् भन्ने शुद्ध आकाँक्षा राख्ने गरिरहेका हुन्छौं तर त्यसको उपाय के छ , बाटो कुन हो ? भन्ने कुरा हामी मध्ये धेरैलाई थाहा नहुन पनि सक्छ । वास्तवमा अन्य धर्म कर्म गर्नु भन्दा पनि अति उत्तम उपाय भनेको वर्षै पिच्छे आउने वर्ष भरिको चाडपर्वहरू विधिसम्मत ढंगले नियम मुताविक पालना गर्नु नै सर्वोत्तम उपाय र उत्तमबाटो हो भनी हाम्रा पूर्वजहरूले सिकाएर गएका हुन् । त्यसैले ती चाडपर्वहरू विधिसम्मत ढंगले मनाउँदै गयौं भने यसलोकमा सुख संपत्ति पाइ परलोकमा मोक्ष गति प्राप्त गर्ने अति उत्तम उपायको रुपमा चाडपर्वहरूलाई लिंदै आएका हौं ।
हामी नेवार समुदायले मनाउँदै आएको चाडपर्व मध्ये गथाँमुग चह्रे चाडको विशेष अर्थपूर्ण किसिमको महत्व रही आएको छ । यसलाई छोरा मान्छेको चाड भनेर मात्र बुझेर पुग्दैन कल्पारम्भको प्रतीक चाड भनेर पनि मान्दै आएका छन् । किनकि यसलाई वर्षको शुरुको चाड पनि मानिन्छ । यही गथाँमुग चाडको बारेको अर्थ र अभिप्रायलाई उजागर गर्ने उद्देश्यले यो लेख अघिसार्ने जमर्को गरिएको हो ।
तिथिको कुरा
नेपालसंवत्को क्यालेण्डरअनुसार दिल्लागा चह्रेलाई गथाँमुग चह्रे मानिएको छ । अन्य क्यालेण्डरहरूले चाहिँ यसलाई श्रावण कृष्ण चतुर्दशी मान्नुको साथसाथै घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिँदै आएको छ । यसप्रकार कथित घण्टाकर्ण चतुर्दशीको बारेमा अनेकखालका कथाकथुङ्ग्रीहरू जोडेर चर्चा परिचर्चाहरू गरिएका लेख तथा पुस्तक पत्र पत्रिकाहरूको यहाँ कुनै कमी छ जस्तो लाग्दैन । ती चर्चा परिचर्चाहरूलाई मात्र स्थान दिन थाल्यौं भने वास्तविक यथार्थ ओझेलमा पर्ने त छँदैछ त्यस अलावा पाठकहरू रणभुल्लमा परी दिग्भ्रमित भइरहेको नहोला पनि भन्न सकिन्न । अतः ती चर्चा परिचर्चाहरूलाई एक ठाउँमा थाँति नै राखी केवल तिथिको विशुद्ध अर्थ र अभिप्रायलाई केन्द्र बिन्दुमा राखिएको छ ।
लिङ्गपुराणमा श्रावण महिनाको कृष्णपक्षको त्रयोदशीलाई भगाकार र कृष्णपक्षको चतुर्दशीलाई लिङ्गाकार भनी व्याख्या गरिएको पाइन्छ । यहाँ गथाँमुग चह्रे पनि मुख्यतः त्रयोदशी र चतुर्दशीको मिलन हुने तिथिमा पर्दछ । यी दुई तिथिको समायोग हुने बेलामा शिवको पूजागर्ने विधि पनि लिङ्गपुराण मै बताइएको हुनाले त्रयोदशी उप्रान्त चतुर्दशी लाग्ने दिनमा गथाँमुग चह्रे मनाउने गरिएको विश्वास रही आएको छ ।
श्रावण महिनाको कृष्ण पक्षको तिथि भन्दा अघि हरिशयनी एकादशी र गुरुपूर्णिमा आउने त सर्वविदित नै छ । भगवान विष्णुले शयन गर्नु भनेको संसार शून्य हुनुको प्रतीक हो र चाडपर्व समाप्ति भएको सूचनाको द्योतक पनि हो । अतः चाडपर्व शुरु गराउनको लागि गुरुलाई आवाहन गर्नु पर्ने हुन्छ, त्यो भनेको गुरुपूर्णिमाको दिन गुरु आवाहन गरेको प्रतीक हो । हरेक कामको लागि गुरुलाई आवाहन नगरी काम बन्दैन भन्ने पनि विश्वास रहँदै आएको छ । त्यसैले गुरुपुर्णिमा र गथाँमुगकोबीचको सम्बन्ध कल्पसमाप्ति र कल्पआरम्भसँग रहेको छ । यसरी समाप्त पछि आरम्भको क्रम हरेक वर्ष चल्दै आएको हो ।
सृष्टिको बीजारोपण रात्री व्यापी हुने हुनाले गथाँमुग सेलाउने काम सूर्य अस्त नभई गरिंदैन यो कुरा सवैलाई थाहा भएकै कुरा हो । वर्षको ६ महिना उत्तरायण र ६ महिना दक्षिणायन हुने कुरा पनि सर्वविदित कुरा नै हन् । धर्मशास्त्रहरूमा उत्तरायण भनेको देवताको दिन र दक्षिणायन भनेको देवताको रात हुने वर्णन पनि पाइन्छ । त्यसैले गथाँमुग चह्रे जहिले पनि दक्षिणायनमा नै पर्दछ र दक्षिणायनको शुरु श्रावणसंक्रान्ति कै दिनबाट हुने कुरा पनि सर्वविदित नै हुन् । यस्तो ध्रुवसत्य मान्यतालाई खलबल्याउने प्रयास कहीं कतैबाट नहोस् तर खलबल्याउने प्रयत्नमा अनवरत रुपले लागिरहेकाहरू नदेखिएको पनि होइन । तसर्थ त्यसको कुप्रभाव नेवार समुदायमा नपरोस् भन्दै सजग हुनु पर्ने जरुरी छ ।
गथाँमुग चह्रेको कुरा
गणस्थानमूलगढको संक्षेपीकरण नाम गथाँमुग भनेजस्तै गणस्थानकरणको संक्षेपीकृत नाम गंथकरण हो । प्रायः प्राचीन अभिलेखहरूमा गंथकरणको उल्लेख आइरहेको हामी पाउँछौं । यसरी गणस्थानमूलगढ भनौं वा गणस्थानकरण भनौं यसको शाब्दिक अर्थ एउटै हो । किन? यसलाई यो नाम दिइएको भन्ने सम्वन्धमा प्रायः धेरैलाई थाहा नभएको पनि हुन सक्छ र यो के ?को प्रतीकमा बनेको हुन्छ भन्ने बारेमा प्रष्ट पार्न जरुरी छ ।
गथाँमुग भनेको कल्पारम्भको प्रतीक मानिएको चाड हो । ब्रम्हाको दिनलाई एक कल्प भन्छ । ब्रम्हाको दिनमा सृष्टि हुन्छ भने रातमा प्रलय हुन्छ । जसरी मानिसहरू दिनभरी काम गर्छ रातमा विश्राम गरी सुत्छ त्यसरी नै ब्रम्हा पनि सुतेपछि सृष्टि हुंदैन । प्रलय भए पछि केवल प्रकृति र पुरुष बाँकी हुन्छ अरु सबै नष्ट भएर जान्छ ।
प्रकृतिमा सत्व,रज र तम यी तीन गुण हुन्छ । तीन गुणमा महाकाली, महालक्ष्मी र महासरस्वती अन्तरनिहित भएर रहेको हुन्छ । त्यसैमा परमात्मा परमेश्वर प्रतिबिम्वित भएपछि परमेश्वरले ब्रम्हा,विष्णु र महेश्वरको रुप लिन्छ । त्यसपछि फेरि कल्पारम्भ भइ सृष्टि शुरु हुन्छ । पृथ्वीमा जहाँजहाँ त्रिगुणतत्वका अधिष्ठात्री देवीहरूले वास गर्छन् तीती ठाउँहरूमा भूतप्रेतहरूले पनि वास गर्छन तव त्यो स्थानलाई गणस्थानमूलगढ भनिएको हो र यसलाई छ्वास पनि भन्ने गर्दछ । त्यही छ्वासका अधिष्ठात्री देवीलाई छ्वासअजिमा पनि भन्छन् । मान्छेको मृत्यु भएपछि प्रेत आत्मा बन्छ ती प्रेत आत्मालाई छ्वासअजिमाले जिम्मा लिन्छ । त्यही भएर मान्छे मरेपछि छ्वासमा मृतकको लुगाफाटो फाल्नुकोअर्थ छ्वासअजिमालाई जिम्मा दिएको प्रतीक हो । ती मृतक आत्मालाई प्रेत भनिन्छ र ती प्रेतलाई सृष्टिको क्रममा ल्याउनका लागि नै गथाँमुग चाड मनाउनु परेको हो भन्ने दर्शन लुकेर रहेको छ ।
त्यसैले गथाँमुग भन्ने शव्द गणको ग,स्थानको थाँ, मूलको मु र गढको ग यी चार अक्षरलाई लिएर गथाँमुग हुन गएको हो । त्यसकारण जहाँजहाँ छ्वास भनेर मानेको ठाउँ हुन्छ त्यहीत्यही ठाउँलाई नै गथाँमुग भनिने हुनाले त्यहीँ नै नरकटको त्रिखुट्टी बनाएर ठडाइन्छ । कतिपय तत्व अर्थ थाहा नपाएकाहरूले नरकटको त्रिखुट्टी लाईनै गठाँमुगः गठाँमुगल, गठेमंगल, घण्टासुर,घण्टाकर्ण राक्षसको प्रतीक भन्दै आएका देखिन्छन् । त्यसैले जब मान्छेले तत्वकुरा बुझ्ने प्रयास गर्दैन त्यतिबेला चाडपर्व भनेकै अन्धविश्वास भन्दै बिस्तारबिस्तारै छोड्दै लोप हुँदैआएका हुन् । यसरी गथाँमुगको अर्थ राम्ररी बुझे पछि चह्रे भनेको के हो ? बुझ्न गाह्रो छैन । यहाँ घण्टाकर्ण राक्षस, घण्टासुर राक्षस लगायत अनेक अनेक अपभ्रँशलाई भित्र्याइएको छ त्यतातिर ध्यान दिन कुनै जरुरी छैन । यो विशुद्ध नेवारसमुदायले मनाउने चाड हो । चतुर्दशीलाई नेपालभाषा भाषीहरूले चह्रे भन्ने गर्दछ । यसरी चह्रे भनिएतापनि बिहान त्रयोदशी र बेलुका चतुर्दशी तिथिले छोइरहेको तिथि हुनु जरुरी छ ।
गथाँमुुग चह्रेको दिन गरिने क्रियाकलाप
नेवार समुदायले मनाउने सबै चाडपर्व बिहान शुरु भएर बेलुका मध्यरातसम्म कायम हुन्छ । त्यसकारण यसले यो पनि बोध गराउँछ कि बिहान एउटा तिथि र बेलुका अर्को तिथि सबभन्दा उत्तम पर्व मानेर चाड मनाउँने चलन प्राचीन कालदेखि चलेर आएको हो । त्यसैले जुनजुन तिथिमा जेजे पर्व पर्छ त्यहीत्यही तिथिमा चाड मनाउने सिद्धान्त नेवारसमुदायको चाडपर्वमा लागू हुँदैन । तत्वकुरा नबुझ्नेहरू चाहिँ जहाँजहाँ पानी उतैउतै माछा भने जस्तै गर्दै आएका हुनाले बेलाबेलामा चाडपर्वमा पनि अनेकौं विवादहरू आउने गर्दै आएको हो ।
बिहान सूर्योदय सँगसँगै उठेर नुहाइधुवाई गरी शुद्ध भइ घरभरी सबै ठाउँमा लिपपोत गरी नजिकको देवस्थलमा गई पूजा दर्शन गरी बेलुकाको लागि पनि बिहानै पूजा तयार गराई राख्ने गरिन्छ । गथाँमुग स्थानमा नरकटको त्रिखुटी राखियो कि राखिएन हेरी रुन्चे लागेको बच्चाहरूलाई लगेर ढोगाउने र कसैले पुतली समेत झुण्डाउने गरिन्छ । यसले बच्चाहरूलाई सुरक्षा गर्छ भन्ने विश्वास रही आएको छ । त्यही दिन बिहान फलामको औँठी नरकटको त्रिखुटीमा छुवाइकन लगाउने चलन छ । यो भनेको गथाँमुग चाड मनाएको प्रमाणको प्रतीक हो ।
टोलका केटाकेटीहरूले गथाँमुगको लागि भनेर डोरीले बाटो छेकी सवारी साधन लिएर आउने सँग जगात लिने गरिन्छ । बेलुका भोज सरह खानकोलागि गृहीणीहरूले दिनभरिमा बिभिन्न परिकार तयार गर्ने गरिन्छ ।
बेलुका सूर्यास्त हुनु अगावै आजुजे भनी कराउने मान्छे तयार गरिन्छ । उसको जिउमा एकातिर पुरुष जनेन्द्रीय र अर्को तिर स्त्री जनेन्द्रीय चित्र लेखी कालो रातो रंग मुखमा जिउमा पोतेर नर कपालको प्रतीक स्वरुप हातमा दहीको कतारो लिन लगाई टोल परिक्रमा गराइन्छ । उसको पछिपछि टोलको बाठो मान्छेहरू र केटाकेटीहरू पछि पछि लाग्ने गर्छन् । आजुजे ले आजुजे भनेर बोल्यो कि केटाकेटीहरू हाऽऽऽ भन्ने र ओमशान्ति भन्योकि जयनेपाल भन्दै साथ दिने चलन छ । यसरी टोलको घरघरमा डुलाए पछि हरेक घरले पैसा लुगाहरू आजुजेलाई दान दिने चलन छ ।
सूर्यास्त पछि गरिने क्रियाकलाप
त्यो दिन सूर्यास्त हुन लागेपछि नरकटको ठूलो भारी ल्याई ,त्यसबाट विशाल त्रिखुट्टे तयार गरी उभ्याइन्छ । त्यसमा क्रोधरुपको शिवकोचित्र र जनेन्द्रीय चित्र राखिन्छ कतै चाहिं क्रोधरुपको छ्वासअजिमाको चित्र र स्त्री जनेन्द्रीय राख्ने चलन पनि देखिन्छ । यसरी त्रिखुट्टे रुपको गथाँमुग तयार भएपछि आजुजेलाई त्रिखुट्टे मुनी राखेर दही,चिउरा,सख्खर खुवाउने गरिन्छ । आजुजेले ती कुरा खाइसकेपछि उसलाई छ्वालीको मुठ्ठा समात्न लगाई , आगो बाली तीनफेरा घुमाई सकेपछि नरकटको गथाँमुग ढाल्न लगाइ लिंगचित्रलाई समात्न लगाई डोरीले तानेर लगी खोलामा सेलाए पछि आजुजेलाई भगाइन्छ र अरु टोलबासी सबै शिवशिव नारायण नारायण बोली घरतिर फर्कन्छन् । घर भित्र पस्नु भन्दा अघि आँखामा पानी राखी मुख धोए जस्तै गरी कुल्ला गरेर मात्र घर पस्ने चलन छ ।
त्यसपछि घरघरमा भूतबली पूजाको काम शुरु हुन्छ । त्यो भूतबलीको काम गथाँमुग नसेलाएसम्म गर्नु हुंदैन । माटाको पाँचवटा पालामा भूतबली तयार गरी पूजा गर्दा सबैले रोग व्याधी नाश होस् घरमा खराब तत्व भित्रिन नसकोस् भनी शिरदेखि खुट्टासम्म चामल अक्षता फूल लिएको हातले छोइ पूजा गर्ने गर्छन् । नबोलीकन ती पालाहरू उठाई क्षेत्रपाल, दोबाटो चौबाटो छ्वासमा एकएकवटा राखी घर फर्कँदा कोहीनकोहीसंग बोलेर फर्कने चलन छ र पाला राखेको भाँडा घरबाहिरै बसी पखालेर हात खुट्टा मुख धोएर मात्र घरभित्र पस्ने गर्छन् । त्यसपछि ढोका ढोकामा फलामको किला ठोकेर पूजा गरी सस्र्युं तोरीको धूपबाली ढोका तथा कुनाकाप्चा सबैतिर धूपधुवाँ लगाएपछि भूतप्रेत बाहिर निस्क्यो भन्ने भावना गरी बिभिन्न परिकारको भोज खाई कोही पनि घर बाहिर नजाने र कसैलाई नभित्र्याइ ढोका बन्द गरेर सुत्ने चलन छ ।
यी सबै क्रियाकलापको अभिप्राय
गथाँमुगले तीनवटा खुट्टाले टेकीरहेको हुन्छ ,त्यसरी टेकेको जमीनलाई कुमारी खण्डको प्रतीक मानेको छ र कुमारी खण्डलाई अम्बिका खण्ड पनि भन्ने गर्दछ । त्यसरी त्रिकोणाकार कुमारी खण्ड भनेकै नेपालमण्डल पनि हो । कुमारी खण्डको उत्तरीकोण गोसाईकुण्ड , पूर्वीकोण दुम्जा कुशेश्वर र दक्षिण नटेश्वरलाई मानिएको छ । विशेष गरी नेपालमण्डल भनेको त्यही त्रिकोणाकार कुमारीखण्डमा बस्ने नेवारसमुदायले मात्र यो गथाँमुग चाड मनाउने गर्दछ ।
यो गथाँमुगले सुषुप्त अवस्थामा रहेको प्रकृतिको त्रिगुण तत्वलाई उत्तेजित बनाउन तीनखुट्टाले टेकाई लिंग प्रदर्शन गराउने गरिएको हो ।अतः गथाँमुगलाई सृष्टिको द्योतक भनेर पनि मान्ने गरिएको छ । त्यही भएर यो चाडलाई कायमचा नखः भन्ने गरिएको हो । गथाँमुग विशेष गरी नरकटबाट बनाइन्छ । मार्कण्डेय पुराणमा भनिएअनुसार नरकटलाई आदिसृष्टिको कल्पबृक्षको प्रतीक हो र यसमा अन्तरसले पूर्ण थियो जब पृथ्वीमा सरेपछि ती रस सुकेको भन्ने बर्णन पाइन्छ ।
मार्कण्डेय पुराणमा भनिएअनुसार ब्रम्हाले मनुष्य सृष्टि गर भनी सप्तऋषिहरूलाई अह्राए तर उनीहरूले नमाने पछि स्वयं ब्रम्हाले अर्धनारीश्वर रुप लिएर सर्वप्रथम पुरुष र नारी सृष्टि गरेर संसार चलाए भनेर दिइएको छ । त्यसैले आजुजे भनेको अर्धनारीश्वरको प्रतीक हो । त्यही भएर आजुजेलाई रातोकालो रंग पोत्ने र एकातिर पुरुषलिंग र अर्कोतिर स्त्रीलिंग चित्र बनाउनु परेको हो । उसलाई शिवशक्तिको भावना गर्दै हातमा खप्परको प्रतीक स्वरुप दहीको कतारो लिन लगाउने गरेको हो । जस्तो परमेश्वरको जातगोत्र थर हुंदैन त्यस्तै आमाबावुको कुनै ठेगान नभएको अनाथलाई ल्याएर आजा जुजे बनाउने गरेको हो । परमेश्वर परब्रम्हको जयजयकार गराएको प्रतीक स्वरुप आजा जि जुया को नारालाई घन्काउन आजुजेलाई बोल्न लगाउँने गरेको हो । ॐ शान्तिजय नेपालको नारा चाहिँ २००७ सालको प्रजातन्त्र पछि मात्र चलेको हो त्यो भन्दा अघि केवल आजुजे मात्र बोल्न लगाउथे भन्ने बुढापाकाहरूको भनाइ पाइन्छ ।
सूर्यास्त पछि नरकटको अग्लो गथाँमुग मूर्ति बनाइ सके पछि फेरि सृष्टिको क्रम शुरु हुन लाग्यो है भन्ने सूचना स्वरुप आजुजे कराइ सकेपछि आजुजेलाई गथाँमुग मुनि राखी त्रिगुण तत्व सक्रीय गराएको स्वरुप दही चिउरा सख्खर आजुजेलाई खुवाइन्छ । त्यही त्रितत्वलाई खिचेर ज्योतिर्लिंग स्वरुप छ्वालीको मुठ्ठा बाली तीनफेरा गथाँमुगलाई घुम्नलगाई , ढाली त्यसमाथि आजुजेलाई गथाँमुगको लिंग समात्न लगाई तानेर खोलामा लगी सेलाइन्छ ।
मनुस्मृति धर्मशास्त्रमा खोलालाई नारायणको रुपमा वर्णन गरिएको छ । त्यसैले उग्र ज्योतिलिंगलाई शान्त गराउन नारायणमा मिलाएको प्रतीकमा खोलामा लगी सेलाउने गरेको हो । स्कण्डपुराण स्वस्थानीमा शिवकोलिंग पतन हुंदा संसार दग्ध हुनलाग्यो भनी भगवान नारायणलाई आवाहन गर्दा भगवान नारायणले अंकमाल गर्ने बित्तिकै ज्यातिर्लिंग शान्त भयो भन्ने बर्णन पाइन्छ । वास्तवमा यी सबै कुरा सृष्टिको क्रम शुरु भयो भन्ने संकेत हो । गथाँमुगको चाडले यी मुख्य तत्वको सूचना दिने चाड हो भनेर बुझ्न जरुरी छ ।
निष्कर्षः
गथाँमुग चाड नेपालमण्डल भित्रका नेवार समुदायले मनाउने वर्षको पहिलो चाड हो । त्यसपछि लहरै चाडपर्वहरू आउँछन् । नेपालमण्डल याने काठमाडौं उपत्यका भित्र गथाँमुग चाड कान्तिपुर ललितपुर र भक्तपुर भित्र फरकफरक जस्तो देखिए पनि सिद्धान्ततः एउटै हो । यसका अरु थप विशेषताहरू नियाल्ने हो भने कृषकहरूले धान रोपाईको काम यो चाड पछि गरिंदैन । धान रोपाईको कार्य अति कठीन हुने भएकोले त्यसलाई सिनाज्या(मरीमरी काम गर्ने काम) पनि भन्ने गरिन्छ । सिनाज्या शुरु हुनुभन्दा दुई महिना अघिदेखि किसानहरूले आफ्नो मनमस्तिष्कलाई तयार गर्न खोज्छ । त्यसैले वैशाखको अक्षय तृतीयाको दिन मै महादेवलाई आवाहान गरीसकेको हुन्छ ताकि सिनाज्यामा काम गर्न समर्थ बनाई देउ भनी बरदान मागे अनुरुप महादेवले अदृश्य भूत शक्ति पठाई सकेको हुने हुनाले रोपाई सकेपछि ती भूतलाई बिदा दिई पठाउने प्रतीकको रुपमा पनि यो गथाँमुग चाड मनाउनु परेको हो । चाडपर्व भनेको शुभकार्य भएकोले हरेक शुभकार्यमा पहिले भूत पन्छाउनु पर्ने हुनाले पनि गथाँमुग चाडको अत्यन्त महत्व छ । जे होस् यी सबै तपसिलका कुरा मात्रै हुन् मुख्य तत्व भनेको हामीले आफ्नो इहलोक परलोक राम्रा सुधार गर्दै जानु पर्दछ यसको लागि अति उत्तम उपाय भनेकै चाडपर्व नै हुन् । यसलाई राम्रो सँग विधि पु¥याई मनाऔं । यसैमा हाम्रो कल्याणै कल्याण छ । यसलाई अन्यथा नलिऔं दिग्भ्रमित नहोऔं ।








