महायानी सूत्र आर्य लंकावतार सूत्रमा मांसको विरोध
महायानी सूत्रग्रन्थ आर्य लंकावतार सूत्रले पनि मांस भक्षण परिवर्तमा ‘बुद्धोभवेयम् जगतो हितायु’ का लक्ष्य लिएका, चित्तमात्रको ध्यानमा लागेका योगीहरूले मद्य, मांस, प्याज, छ्यापी, लसुन आदि दुर्गन्धित वस्तु खानु हुँदैन । त्यस्तै शरीरमा तेल घस्नु पनि हुँदैन भनी निषेध गरेको छ । यसरी विज्ञानवादीहरूले मुख खोलेरै बोधिसत्त्व मात्र होइन श्मशानीक एवं मैत्री विहारी विद्यासाधना गर्ने विद्याधरहरूको निमित्त पनि मांस भक्षणलाई निषेध गरेको छ। ती निषेधित वस्तु खाएमा अर्थात् मासु, मद्य खाएमा रोगी हुने, अहंकारी हुने कुरा पनि औंल्याएका छन् ।
यसरी नव सूत्र ग्रन्थ अन्तर्गतको सम्पूर्ण वस्तुहरू शून्य मान्ने शून्यतावादी र सम्पूर्ण शून्य भए पनि चित्त एउटा विद्यमान छ भनी मान्ने विज्ञानवादी दुवैले मांसभक्षणलाई नकारेको छ । यो संसार चित्तकै परिकल्पना मात्र हुन् भनी मान्ने विज्ञानवादी महायानीहरूको श्रद्धेय सूत्र ग्रन्ध आर्य लंकावतार सूत्रमा मांस भक्षणलाई अत्यन्त निरुत्साहित गरी हिंसा मुक्त धरातल बनाउने अभियान चलाएको पाइन्छ । चित्त मात्रको ध्यान साधना गर्ने महायानीले मांस भक्षण मात्र होइन मद्य, प्याज, लसुन, छ्यापी आदि पनि खान वर्जित गरेको पाइन्छ । उनीहरूको सिद्धान्त अनुसार चित्त मात्रको ध्यान लाभ गर्न यस्ता मांस मद्य आदिको सेवनले एकाग्रता हट्न गई केवल अहंकार, ममकाररूपी अभिमान बढ्न थाल्छ भन्ने अवधारणा रहि आएको पाइन्छ । यही अभिमान, अहंकारले संकल्प अर्थात् नानाथरी तर्क विर्तक उठ्छ र राग, द्वेष, मोह मात्र बढ्छ भनी हिंसाबाट उपलब्ध हुने जघन्य अपराधरूपी मांस भोजनबाट हुने क्षति नोक्सानीलाई औंल्याउन यस्तो उद्गार व्यक्त गरको छ ।
आहाराज्जायते दर्प संकल्पो दर्प संभवः ।
संकल्पजनितो रागस्तस्मादपि नभक्षयेत् ॥
भावार्थः आहारका आधारमा दर्प (घमण्ड ) उठ्ने हुन्छ । घमण्ड र अहंकारले नै संकल्प अर्थात् नानाभाति तर्क वितर्क उठ्ने हुन्छ । अतः रागादि उत्पन्न गर्ने मासु खान उचित छैन भन्ने यसको भाव हो ।
यसरी नै परापूर्वकालमा सिंहसोदास भन्ने राजा थिए । उनले प्राणीहरूमा कसको मासु मिठो हुन्छ होला भन्ने रस तृष्णाले मानिसको मासु पनि खाए । उनको यस कुकृत्यले मानिसहरूले उनलाई विश्वास गर्न छाड्यो । सबैले घृणा गरी राज्यच्यूत समेत गरियो ।
अत्यन्त दुःख पाए भन्ने कुरा जातक अवादानमा उल्लेखित छन् ।