दुर्गा लामिछाने
भगवान बुद्धको जन्म, बोधि लाभ तथा महापरिनिर्वाण (स्वाँया पून्ही ) एकै तिथि (बैशाख पूर्णिमाको दिन) परेको दिनलाई बुद्धको जीवनको त्रिसंयोग दिन भन्ने पनि गरिन्छ । जन्मका हिसाबले आज भगवान बुद्धको जन्म भएको २६४९ वर्ष पुग्यो भने उहाँको महापरिनिर्वाण भएको त्यसको ८० वर्षपछि अर्थात् २५६९ वर्ष भयो । सामान्यतयाः कसैको पनि जयन्ती उसको जन्मको दिनलाई गणना गरेर मनाउने गरिएता पनि नेपालले भने बुद्धको महापरिनिर्वाणको दिनलाई गणना गरेर बुद्ध जयन्ती मनाउने गरेको छ । यस बाहेक बैशाख पूर्णिमालाई नै बुद्ध जयन्ती नमानेर यसका आसपासका अन्य दिनलाई आधार मानेर बुद्ध जयन्ती मनाउने चलन पनि धेरै देशहरुमा रहेको छ । कुन दिनलाई बुद्धको जन्मदिन मान्नु ठिक भन्दा पनि महत्त्वपूर्ण कुरा हो बुद्ध र बुद्धका शिक्षाको बुझाइमा हुनुपर्ने स्पष्टता ।
बुद्धलाई आम बुझाइमा शान्ति र अहिंसाको वकालत गर्ने एक समयका सन्तका रुपमा बुझ्ने गरिन्छ । तर बुद्धको शिक्षालाई बुद्धले शरीर छोडेदेखि आजसम्म बँचाएर तथा तिनको समय सान्दर्भिक व्याख्या गरेर संसारभरका मानिसको जीवन रुपान्तरणमा काम गरिरहेका बौद्धहरु यो कुरा मान्न तयार छैनन् । बौद्ध दर्शन अनुसार गौतम बुद्धको कथा सिद्धार्थ गौतमका रुपमा नभई सुमेध ऋषिदेखि शुरु हुन्छ ।
हज्जारौं वर्ष पहिला दीपंकर बुद्ध यस धर्तिमा रहेका बेला यसै क्षेत्रमा सुमेध नाम गरेका स–शरीर देवलोक लगायतका विभिन्न लोकमा पुग्न सक्ने सन्त थिए । उनलाई आफ्नो त्यतिको क्षमताले पनि आफू जन्म र मरणको चक्रबाट पार पुगी नसकेको स्पष्ट थियो । यस्तैमा एकदिन दीपंकर बुद्ध उनको गाउँमा प्रवेश गरेको सुन्नासाथ अरुसँगै उनी पनि बुद्ध आउने बाटो सरसफाइ तथा अन्य तयारीमा जुटे । जति गर्दा पनि बुद्ध आउने बेलासम्म बाटोमा रहेको एउटा हिलो ठाउँलाई व्यवस्थित गर्न भ्याइएन । त्यसपछि जब दीपंकर बुद्ध हिँड्दै त्यहाँ आइपुग्नुभयो तब सुमेध ऋषि आफ्नो ढाडमा टेकेर हिलो पार गर्न बुद्धलाई विन्ति गर्दै हिलोमा सुते । यसो किन गरेको भनेर दीपंकर बुद्धले सोध्दा, म पनि हजुर जस्तै सम्यक सम्बुद्ध बन्न सकूँ भनेर ऋषि सुमेधले प्रार्थना गरे । त्यति नै बेला हालका कपिलवस्तुका राजा शुद्धोधन र महामाया (मायादेवी)का पुत्रका रुपमा जन्मिई विभिन्न प्रकारका साधनाहरु गर्दै अन्तिममा मध्यम मार्ग (अध्यात्मिक अभ्यासका दुई अतिको बीच)को बाटो पहिल्याएपछि बोधि लाभ गरी आफू जस्तै सम्यक सम्बुद्ध बन्ने व्याकरण (भविष्यवाणी) गर्नुभयो ।
‘बुद्ध वाज वर्न इन नेपाल’ भन्दा गौरव गर्ने हामीलाई बुद्ध भनेका गौतम बुद्ध मात्रै हुन् भन्ने थाहा छ । तर गौतम बुद्धकै अनुसार अहिलेसम्म लाखौं करोडौं बुद्धहरु यस धर्तिमा आएर गइसकेका छन् । उहाँका अनुसार अहिले भद्रकल्प चलिरहेको छ । यस कल्पमा मात्रै एक हजार २ जना बुद्धहरु आउनेछन् । जसमध्ये उहाँ चौथो बुद्ध हुनुहुन्छ । यसअघि यस कल्पमा आएका अन्य बुद्धहरुमा काश्यप, कनकमुनी र क्रकुछन्द बुद्ध हुन् भने अब निकट भविष्यमा आउने बुद्ध हुन्, मैत्रेय बुद्ध । यति धेरै बुद्धहरुका बारेमा थाहा पाउँदा बुद्ध बन्न त सजिलो रहेछ क्यारे भने झैं लाग्न सक्छ । तर त्यस्तो होइन । यसअघि नै उल्लेख भएका सुमेध ऋषिले दीपंकर बुद्धबाट व्याकरण पाएपछि पनि कम्तिमा तीन असंख्य कल्प दश पारमिता पूरा गर्ने क्रममा विभिन्न सत्त्व (प्राणी)का रुपमा जन्म लिँदै आफ्ना कर्म र क्लेशलाई निमिट्यान्न पार्नु परेको थियो । भनेपछि हामी जस्तो सामान्य मानिसका लागि अहिल्यै देखि बुद्ध बन्ने मार्गको अभ्यासमा लागे पनि अनेकौं असंख्य कल्प लाग्नसक्छ ।
दुःख, अनात्मा, शुन्यता जस्ता अन्य धर्म दर्शनमा पनि मिल्न जाने शब्दहरुका कारण सतही रुपबाट हेर्दा बुद्धका शिक्षा यस क्षेत्रका अन्य दुई धर्महरु हिन्दू र जैनको जस्तै अर्थ दिने होलान् भन्ने धेरैको बुझाइ छ । तर शील पालनाको जगबाट उठ्दै चार आर्य सत्यको दर्शन गरी अघि बढ्ने यो धर्म दर्शनबाट गरिने अभ्यासका तरिका व्यक्तिको विशेषता, रुची र क्षमताका आधारमा केही फरक पर्छन् । जस्तो कि, संसारको दुःखदेखि आत्तिएर अब फेरी यहाँ जन्मिनु नपरोस् भन्ने आशयले आफ्नो मात्रै मुक्तिका लागि अभ्यास गर्ने श्रावकयानको अभ्यासदेखि लिएर ‘६ नै लोक (देव, असुर, मनुष्य, पशु, प्रेत र नरक)मा जतिपनि सत्त्व छन्, ति कुनै न कुनै जन्ममा मेरा आमा बनिसकेका छन् । र यो जन्मकी आमाले जसरी गुण लगाएकी छिन्, त्यसैगरी हरेक जन्मका आमाले लगाएको गुणको ऋण बाँकी छ । जबसम्म उनीहरुलाई यी ६ लोकको जन्म र मरणको चक्रबाट मुक्त गर्न सकिँदैन, तबसम्म म मुक्त नहोऊँ !’ भनेर गरिने महायानको अभ्यास तथा त्यसका लागि बुद्ध, बोधिसत्त्व, धर्मपाल, क्षेत्रपाल, डाक, डाकिनी लगायत विभिन्न अवस्थामा रहेका र बुद्धताको मार्गमा सघाउने प्रण लिएकाहरुको साथ लिँदै अभ्यास गरिने बज्रयानको अभ्यास पनि बुद्धका शिक्षाभित्र पर्दछन् ।
यीमध्ये श्रावकयानको माध्यमबाट अभ्यास गर्दा स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत् हुने प्रणाली छ भने महायानबाट अभ्यास गर्दा दर्शन मार्ग, प्रथमदेखि दशौं भूमिसम्म पार गरी सम्यक सम्बोधि लाभ गर्ने प्रणाली छ । त्यसैगरी, सबैभन्दा छोटो र खतराले भरिपूर्ण मानिने बज्रयानअनुसार राम्रोसँग अभ्यास गरे एकै जन्ममा मुक्त हुन सकिने उल्लेख छ ।
श्रावकयान अनुसार अभ्यास गर्दा अनित्य, दुःख र अनात्मालाई मुल आधार मानेर अभ्यास गरिन्छ भने महायान र बज्रयान अनुसार अभ्यास गर्दा ति तीनका साथै शुन्यताको पनि अभ्यास गरिन्छ । र महायान र बज्रयान अनुसार अघि बढ्नलाई प्रमुख इन्धनका रुपमा मैत्री, करुणा र बोधिचित्तलाई लिइन्छ ।
२६ सय वर्षअघिदेखिका बुद्धका शिक्षा सुत्र र शास्त्रका रुपमा उहाँका चेला, चेलाका चेला हुँदै आजसम्म पनि शुद्ध सिद्ध परम्पराका रुपमा कायम रहेका छन् । र तिनले मानिसलाई दुःखबाट पार हुँदै गएको अनुभव यसै जीवनमा दिनदेखि अन्तिम क्षणमा उनीहरुले लाभ गरेका अवस्थाका लक्षण छोडेर जानेसम्मका उदाहरण भेटिन्छन् ।
आज विश्वका कम्बोडिया, थाइल्याण्ड, म्यानमार, श्रीलंका, लाओस्, भियतनाम, चीन, जापान, दक्षिण कोरिया, ताइवान, मंगोलिया, भूटान, लगायतका कतिपय देशहरुमा बुद्ध धर्मलाई नै संरक्षण गरिएको छ भने कतिपयमा बुद्धका दर्शनमा आधारित शिक्षा प्रणाली लागु गर्ने काम भएको छ । बुद्धका शिक्षाले २६ सय वर्षभन्दा पनि बढी समयसम्म पनि उस्तैगरी काम गरिरहनुले यसप्रति विश्वका धेरैको ध्यान खिचिएको छ । जसलेगर्दा संसारभर बौद्ध दर्शनको अध्ययन अध्यापन, खोज र अभ्यास दिनानुदिन बढ्दो छ ।
नेपालमा बौद्ध दर्शन अध्यापनकै लागि भनेर समर्पित लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालनमा छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले पनि यो दर्शन अध्यापन गराइरहेका छन् । तर यी विश्वविद्यालयहरुमा खासगरी नेपालीको भर्ना कि त बौद्ध विद्वान बन्नका लागि हुन्छ कि भने आफ्नो शैक्षिक प्रमाणपत्रमा बौद्ध दर्शन अध्ययन उल्लेख गरी सम्बन्धित क्षेत्रका रोजगारीका लागि योग्य प्रमाणित गर्न हुन्छ ।
अर्कोतर्फ बुद्ध जन्मिएको देशमै बौद्ध शिक्षा लिन लालायीत भएर आउने विदेशीहरुको ध्यान भने किताबी विद्वता भन्दापनि बढी यस विषयसँग सम्बन्धित अभ्यासहरुका परम्परा पछ्याई त्यसको गहिराइसम्म पुगी बोल्नु र लेख्नु परे त्यसपछि मात्रै बोल्ने वा लेख्नेमा हुन्छ ।
भगवान बुद्धको शिक्षालाई राम्रोसँग बुझ्न श्रुतमयी (सुनेर, पढेर), चिन्तामयी (चिन्तन गरेर) भावनामयी (ध्यान गरेर) गरेपछि मात्रै सकिन्छ । त्यसका लागि बुद्धदेखि अटूट रुपमा आएका परम्पराका गुम्बा, बिहारहरुमा गई सिक्ने र अभ्यास पनि गर्नुपर्ने हुन्छ । यो दर्शन अनुभवका आधारमा प्रगति प्रमाणित हुने दर्शन भएको हुँदा र अनुभवको प्रमाणिकरण पनि कम्तिमा त्यो अनुभव वा त्योभन्दा माथिल्लो तहको अनुभव गरेकाहरुबाट प्रमाणित भएपछि मात्रै मान्य हुने व्यवस्था बुद्धकै पालादेखि रहँदै आएको छ ।
केही यात्रीहरुका अनुसार कुनैबेला नेपाल, भारतका साथै दक्षिण एसियाको कुल जनसंख्याको करीब ७५ प्रतिशत बौद्ध थिए । तर बुद्ध दर्शन फैलिँदो क्रममा रहेका बेला यसलाई दबाउन खोज्दा नसकेपछि बुद्धलाई हिन्दू देवता विष्णुको नवौं अवतारका रुपमा प्रचार गर्न थालिनाले हिन्दू दर्शनसँग मुलभूत रुपमै अलग रहेको यो धर्म दर्शन ओझेलमा पर्यो । भारत र नेपालबाटै विश्वभर फैलिएको यो धर्म दर्शन बीचमा लामो कालखण्ड यसको अध्ययन र अभ्यासमा विभिन्न आक्रमण तथा राजनैतिक बहिस्करणमा पर्नु परेका कारण यस क्षेत्रबाट विलुप्तप्रायः रह्यो । तर त्यसअघि नै दक्षिणतर्फ पाली भाषा र उत्तरतर्फ भोट, चिनियाँ भाषामा संरक्षण भइसकेको थियो । परिणामतः नेपाल र भारतमा यो धर्म परम्परा नगन्य मात्रामा हुँदा ति क्षेत्रका साथै तिनका आसपासका देशहरुमा पनि बुद्धको शिक्षा फैलँदै गयो ।
नेपालमा काठमाडौं उपत्यकाको केही नेवार समुदायका साथै खासगरी तिब्बतसँग जोडिएको उत्तरी भेगमा बुद्ध धर्मको अभ्यास कायमै थियो । त्यसमाथि जब तिब्बतमाथि चीनको आक्रमण भई तिब्बतीहरु शरणार्थीका रुपमा नेपाल, भारत तर्फ आए त्यसपछि यो क्षेत्रमा तिब्बती संस्कृति मिश्रित बुद्ध धर्म विस्तार हुन थाल्यो । त्यसैगरी, श्रीलंकाबाट श्रावकयान अन्तरगतको थेरावाद पनि भित्रियो । तर लामो समयसम्म तिब्बती भाषामा रहेको उत्तरको शिक्षा र पाली भाषामा रहेको दक्षिणको शिक्षासम्म आम नेपाली तथा अन्य भाषीलाई सहज पहुँच हुन सकेन । पछिल्लो दशकयता आएर भने पाली श्रोतबाट शिक्षा दिने बिहारका भिक्षु, धिक्षुणी तथा भोट स्रोतबाट शिक्षा दिने गुम्बाका लामा, आनीहरुले पनि नेपाली तथा अंग्रेजी भाषा सिकेर तिनमा प्रवचन दिने, ध्यान शिविरहरु सञ्चालन गर्ने प्रचलन बढ्दै गएको छ ।
धर्मसँग सरोकार नराखी बुद्धले दिनु भएका शिक्षा के रहेछ भन्ने जान्न मात्रै चाहनेका लागि उपत्यकाका केही बिहारहरुले भौतिक तथा अनलाइन परियत्ति शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । जसमा नेपाल सरकारले प्रमाणित गरेको कक्षा १ देखि १० सम्मकै पाठ्यक्रमका आधारमा बुद्धको शिक्षा नेपाली भाषामा पढ्न पाइन्छ । त्यसैगरी, व्योमकुसुमा बुद्धधर्म संघ, विशालनगर, काठमाडौंले पहिले संस्कृतबाटै अनुवाद गरी भोट भाषामा लगिएका बुद्धका शिक्षालाई पुनः संस्कृत तथा नेपालीमा उल्था गर्ने र पुस्तकाकार रुपमा प्रकाशन गर्ने कार्य गरिरहेको छ । साथै संघले सिद्ध गुरुहरुबाट शिक्षा लिएर अभ्यास गरेका, २२ वर्ष गुफावासमा बसी अनुभवलाई गहिर्याएका महायोगी विद्याधर आचार्य महायोगी , श्रीधर राणा रिन्पोछे तथा उहाँका शिष्यहरुबाट भौतिक तथा अनलाइनका माध्यमबाट नेपाली भाषामै बुद्धका शिक्षा र अभ्यासमा मार्गदर्शन प्रदान गर्दै आएको छ ।
यसबाहेक अन्य गुम्बाहरुले पनि ध्यान शिविरहरु सञ्चालन गर्दा नेपाली भाषामा दोभाषेको व्यवस्था गर्ने गरेका छन् । विदेशीहरुका लागि लाखौं खर्च लाग्ने खानपिनको समेत व्यवस्था हुने महिनौंका यस्ता शिविरहरु पनि नेपाली लगायत हिमाली क्षेत्रका मानिसका लागि भने निःशुल्क गर्ने गरिएको छ ।