प्रायःहामी फुटपाथ बजारमा आफनो सामान बेच्नेहरुले ठूलठूलो स्वरले कराएर बेच्ने गरेको देखेका हुन्छौं । जसलाई त्यो सामानको कुनै दरकारै छैन बेच्नेले जतिसुकै ठूलठूलो स्वर पारेर बेचीरहेको देख्दा पनि उसले कुनै चासो राख्दैन । कोही कोही झुक्केर , उपयोगी ठानेर वा प्रयोग गर्न मिल्ला कि भनेर किनेर लाने पनि होला । पछि ती सामान कमसल वा उपयोगी नदेखी फाल्नु पर्दा ठगिए छु वा झुक्किए छु भनिए झैं सुमतितन्त्र भन्ने पनि उस्तै देखियो । किनभने यहाँका पण्डितहरुले सूझबूझ केही नभए पनि सुमतितन्त्रको मुक्तकण्ठले तारिफ गर्दै आएको देखिन्छ र सुनिन्छ ।
जसले सुमतितन्त्रको नाम भजेर खेतीपाती गर्दै आए उनीहरुको निमित्त रोजीरोटीको बाटो नै यही छ उनीहरुले मिलोस् वा नमिलोस् नाम भज्न छोड्दैन । पण्डितलाई दरकार पर्दैमा इतिहासलाई दरकार परेको बिल्कूलै होइन भनी सम्झनू पर्छ । किनभने इतिहासले सुमतितन्त्रलाई कहिल्यै पनि आत्मसात् गरेको छैन । इतिहास कसैको अधिनमा बस्नेपनि होइन र इतिहासलाई पण्डितले जसरी हिंडायो त्यसरी हिड्नेपनि होइन । त्यसकारण सुमतितन्त्र प्रमाणको लीग भन्दा बाहिर परेको हुनाले यथार्थ इतिहास सुमतितन्त्रसित नारिएर हिँडेको छैन । यही कुरा जनमानसले पनि सहजै बुझ्न सकियोस् भनेर यो लेख तयार गरिएको हो ।
(क)प्रसिद्ध पण्डितको उद्गार
……..मानदेवदेखि अंशुवर्मासम्मका नेपालका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् वि.सं १३५ देखि उठेको शकसंवत् हो भन्ने र अंशुवर्माको समयदेखि व्यवहारमा आएको संवत्चाहिं वि.सं ६३३ देखि उठेको मानदेवसंवत् हो भन्ने कुरा देखियो । हामीले स्पष्ट पारेको यस सिद्धान्तको पुष्टि गरिदिने सबभन्दा बलियो प्रमाण सुमतितन्त्र नै हो । सुमतितन्त्र नभेटिएको भए हामीलाई लिच्छविसंवत्को निर्णय गर्न ज्यादै गाह्रो पथ्र्यो ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ १२१)
पण्डित माथि सोझिने प्रश्न यस प्रकार छन्
१. मानदेवको चाँगुको संवत् ३८६ लाई वि.सं १३५ देखि उठेको शकसंवत् भए १३६ जोडेर वि.स.५२२ हुन्छ किन भनेको हो ?
२. सहोत्तरतन्त्रमा भएको संवत् ३०१ लाई वि.सं ६३३ देखि उठको मानदेवसंवत् भए ६३४ जोडेर विसं ९३५ हुन्छ किन भनेको ?
…..मानदेवको चाँगुको अभिलेखको संवत् ३८६ लाई कार्तिकादि शकसंवत् हो भनी मान्दा ( सो अभिलेख ज्येष्ठको भएकोले ३८६+१३५+१=५२२ हुने हुनाले) यसको समय वि.सं ५२२ देखिन्छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ ९६)
यति गणनाबाट अभिलेखको संवत्(मानदेवसंवत्) ३०१ विक्रमसंवत् ९३५ शाके८०० वैशाखशुक्ल आदित्यवार सप्तमीतिथि ३३।घडी १३पला तिष्य नक्षत्र ३७। घडी १४पला ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ २७)
६४० पृष्ठकीय बाक्लो पुस्तकमा शकसंवत्मा १३६ जोड्ने सिद्धान्त कुनचाहिं वैज्ञानिकले आविष्कार गरेको र मानदेवसंवत्मा ६३४ जोड्ने सिद्धान्त पनि कुन वैज्ञानिक वा ज्योतिष का आचार्यले आविष्कार गरेको थियो त्यो कुनै कतै खुलाइएको छैन र सुमतितन्त्र कै कुन श्लोकमा त्यो चर्चा छ त्यसको उद्धरण दिइएको पनि छैन । यो त खसीको मासु भन्दै कुकुरको मासु बेचे जस्तो मनोमानी भएन र?
(ख).पण्डितको नजरबाट उल्लू ठहरिने कुरा
विषुवद्दिन भनेको दिन रात बराबर हुने दिन हो । आजभोलि कसैले वैशाख १ गते तथा कार्तिक १ गते दिनरात बराबर हुन्छन् भनी बोल्यो भने त्यसले उल्लूमा गनिनुपर्छ । त्यसै गरी श्रावण १ गते सबभन्दा लामो दिन हुन्छ तथा माघ १ गते सबभन्दा छोटो दिन हुन्छ भनी बोल्ने मानिस पनि उल्लू नै ठहरिन्छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ १३७)
लिच्छविसंवत्को निर्णयका सन्दर्भमा एक्कासी यो कुरा किन उठ्यो ?बडो विचारणीय छ । फेरि २०३५ को पात्रोको उदाहरण बारम्बार अघि सारिएको पनि देखिन्छ । लिच्छविकालको संवत्को निर्णय गर्दा २०३५ सालको पात्रोको सान्दर्भिकता के हो ? खैर यता तिर नजाऔं ।
अब सुमतितन्त्रमा प्रयोग गरिएको गणनापद्धतिबाट सोही कुरा सिद्ध गरिन्छ । यसकालागि भूमिकाको रुपमा केही कुरा लेख्नुपरेको छ भनीकन यो भूमिका बाँधिएको रहेछ भन्ने बुझियो । यो भूमिकाको तात्पर्य यही कि सायनसङ्क्रान्ति र निरयणसङ्क्रान्तिको झमेलालाई जोड्न खोजिएको रहेछ । यो झमेला कहिलेदेखि उठेको हो । त्यो उनले पनि खुलाउन सकेको होइन । यो झमेलालाई सुमतितन्त्रले पनि निराकरण गर्ने प्रयास गरिएको छ भने त्यो सन्दर्भ र उद्धरण अघिसार्न सकेको पनि होइन । लिच्छविसंवत्को निर्णय गर्न सायन निरयणको झमेला निपटारा गर्नुपर्ने सरोकार कुनै दृष्टिकोणबाट सान्दर्भिकता होइन ।
यस विषयमा छुट्टै अध्ययन अनुसन्धान गरी ज्योतिषाचार्यहरु र खगोलशास्त्रीहरु बीच पटकपटक अन्तरकृया गराइ नेपालसरकारले निचोडमा ल्याउनुपर्ने विषय हो जस्तो लाग्दछ । किनभने चन्द्र सूर्य पृथ्वी लगायतका ग्रह ज्योतिषहरुको लागि पनि उही हो भने खगोल शास्त्रीहरुको पनि उही हो ।
यहाँ ज्योतिषाचार्यहरु र खगोलशास्त्रीहरु बीच कुनै छलफल अन्तरकृया भएकै छैन । सायन निरयण बीच तेइसचौबीस दिनकोअन्तर पर्न आइसक्यो एकदुईदिनको अन्तर भए थाहा नपाइने थियो तेइसचौबीस दिन अन्तर परेको थाहा नपाइने हुनसक्दैन भनेर पण्डितले बोल्ने अधिकार पनि त छैन । अधिकारै नभएको कुरा बोल्नेहरु पनि त उल्लू नै ठहरिनुपर्ने हो नि होइन र ? पण्डितलाई यदि यो कुरा खट्केको थियो भने आफू प्रज्ञा प्रतिष्ठानको सदस्य भइरहेको बेलामा मौकाको सदुपयोग गरी यस विषयमा प्राज्ञिक छलफल गरी ज्योतिष तथा खगोलविद् सहितको विचार गोष्ठी गरी एउटा निचोड ल्याउनु पर्ने थियो । तर त्यसो चाहिं गर्दै नगरी आषाढको ७ गते लामोदिन हुन्छ र पौषको ७ गते छोटोदिन हुन्छ भनेर पण्डितले भन्दैमा त्यो आधिकारिक नै हो भनी विश्वास गर्ने आधार के ? अचम्म यो पो छ ।
फेरि कतिपय मान्छेहरु यही कुरा लिएर बृथामा दौडीरहेका पनि देखियो । जसलाई २६ मिनेट पछि कुन ग्रह कता सर्छ ,२६ घण्टा पछि कुन ग्रह कतासर्छ २६ दिनमा कुन ग्रह कता सर्छ त्यसको कुनै हिसाव निकाल्ने सामथ्र्य छैन उसले २६ हज्जारवर्ष पछि देखिने ध्रुवतारा अर्कै हुन्छ त्यो अहिलेको होइन भन्दा पत्याउनु पर्ने र नपत्याउनेहरु सबै बुद्धु रे भन्न थालेको पनि देखियो । खैर जोसुकैले जेसुकैभने पनि यस विषयमा ज्योतिषचार्यहरु खगोलविद्यामाआचार्य भइसकेकाहरु सहितको संयोजकतत्वमा विशद अध्ययन अनुसन्धान गराई त्यसको वृहत अन्तरक्रिया गरी निकालेको निचोडलाई सरकारले आधिकारिकता प्रदान नगरिएसम्म जोसुकैले जेसुकै बोलेपनि उनी आफै उल्लू सावित हुन जाने बाहेक अरु हो जस्तो लाग्दैन ।
(ग) पण्डितको बखानको अनुकूल सुमतितन्त्र होइन
यस कारण वि.सं ६३३ देखि९३७ भित्रको कुनै वर्षमा सुमतितन्त्र बनेको हुनुपर्छ भनी हामीले माथि जो लेखेका थियौं,सोकुरा गणितको दृष्टिबाट पनि ठीक देखिन आएको छ । यस कारण सुमतितन्त्र लिच्छविकालमा बनेको ग्रन्थ हो भन्ने कुरामा केही शङ्का छैन ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ १५३)
पण्डित माथि सोझिने प्रश्न यस प्रकार छन्
१. वि.सं ६३३ देखि वि.सं ९३७ बीचको अन्तर ३०६ वर्षको भयो । हाराहारी अनुमान गर्दा दशबीस वर्षको पो गरिन्छ तीनसय वर्ष भन्दा बढीको कसैले गर्दैन । यो त तापक्रम नाप्दा एउटा डिग्री भकभक उमालेको पानीमा अर्को डिग्री बरफमा घुसाएर औसत तापक्रम लिए जस्तो भइ हाल्यो । यसतो कुरा भन्नेले त भन्ला पत्याउनेहरु उल्लू बन्ने कुरा हो । यसरी ३०६ वर्ष भित्र भन्ने अनुमान पनि अनुमान हो र?
२. सुमतितन्त्र नामक ग्रन्थ पनि तााडपत्रमा लेखियो, त्यसमा मसि कस्तो छ लिपि के छ ?आदिइत्यादि सबै कुरा आउँछ त्यसको आधारमा पनि अनुमान गर्न मिल्छ त्यो कुरा पण्डितलाई कसरी थाहा नभएको ?
३. केसरपुस्तकालयमा रहेको सहोत्तर तन्त्र ताडपत्रमा लेखिएको र त्यसमा लिपि लिच्छविलिपि प्रयोग भइरहेको छ । पुष्पिका वाक्यमा मिति पनि लिच्छविकालको अन्तअन्त तिरको छ भन्ने कुरा पण्डित अनभिज्ञ होइन । तब ताडपत्रमा भुजिंमोल लिपिमा लेखिएको सुमतितन्त्रलाई लिच्छविकालको मानियो भने लिच्छविलिपि भन्दा भुजिंमोल लिपि पुरानो ठहराउन के संभव भएको कुरा हो ?
४. सहोत्तर तन्त्रको पुष्पिका वाक्यमा लिच्छविसंवत् कै मिति छ त्यो थाहा भएकै कुरा हो । सुमतितन्त्रको पुष्पिका वाक्यमा नेपालसंवत् ४९५ दिइएको देखादेख लिच्छविकालको कल्पना गर्न के मिल्ने कुरा हो ? यदि सारेको मिति मात्र हो भने पुरानो मिति पनि लेखिन्छ । यसरी सार्नेले इतिहास बिगार्ने नै हेतुले पुरानो मिति लेखेन भनेर के पण्डितले पत्याए भन्दैमा अरुले पनि पत्याउनै पर्छ भन्ने जरुरी छ?
(घ) सुमतितन्त्र सारेको मितिमा पण्डितको मनोमानी
…..यो ग्रन्थ ने.सं ४९५ (वि.सं १४३१) पौषकृष्ण (पूर्णान्तमानले माघकृष्ण) गते माघ ५ गते आदित्यबार,तिथित्रयोदशी५२घडी २८पला ज्येष्ठानक्षत्र६घडी १३पला ध्रुवयोग३०घडी २पला ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ १२३)
यसमा पण्डित माथि सोझिने प्रश्न यस प्रकार छन्
१. पुष्पिका वाक्यमा ने.सं ४९५ पौषकृष्ण भनेर स्पष्ट दिइएको हुँदाहँदै के त्यो माघकृष्ण भन्न पाइन्छ ? नाच्न नजान्ने आँगन तेढो भने जस्तो भएन र ?
२.मध्यकालमा प्रचलित नेपालसंवत् शुरुदेखि अहिलेसम्म अमान्तमानबाट व्यवहार भएर आएको सर्बविदित नै छ । पूर्णान्तमानले माघकृष्ण भनेर लेख्नुभन्दा अगाडि वि.स.२०१९ साल मंसिरमा आफ्नै संस्थाबाट प्रकाशित भएको इतिहास संशोधनको प्रमाण प्रमेयको पृष्ठ ३१२ मा के लेखिएको छ भनेर हामीले संझाउनु पर्ने कि उनी आफैले संझनु पर्ने ?
३. पण्डित त महान गणितज्ञ भनेर प्रख्यात भएको व्यक्ति थियो सबैलाई थाहा छ । सुमतितन्त्रमा के छ हामीले भन्नु भन्दा उनलाई भलिभाँति थाहा भएको कुरा हो तैपनि मानन्देवस्य राज्याव्द ३०४को स्मरण गराउन चाहन्छु । सहोत्तरतन्त्रको मानदेवसंवत् ३०१ वैशाखको तद्नुसार वि.सं ९३५ वैशाख भएपछि ३०४ सम्म चलेको देखाउँदा वि.सं ९३८ सम्मत मानदेवसंवत् नै बसे । तब नेपालसंवत् कहिले शुरुभयो त भन्दा जरुर पनि मानदेवसंवत् ३०४ पछि शुरुभयो भनाइको मतलव वि.सं ९३८ कार्तिकमा भयो । उनकै सिद्धान्त मुताविक भन्नुपर्दा विसं ९३८ मा शुरु भएको नेपालसंवत् ४९५ हुँदा कति हुनु पर्ने भयो त भन्दा ९३८+४९५=वि.सं १४३३ हुनुपर्नेमा उनकै गणनामा ४९५ को समानान्तर वि.सं १४३१ भनेर दिइए पछि बार कसरी मिल्न आउँछ त? त्यसरी बार मिल्न आएन भन्दैमा पौषको मितिलाई माघ भनेर मनोमानी गर्न पाइने होइन । यसको लागि इतिहाससंग क्षमा माग्नु पर्ने होइन र ?
(ङ) सुमतितन्त्रको तारिफ गर्नू गरि सकेपछि खोजीगर्न बाँकी सकारे
सूर्यसिद्धान्तको साररुप सुमतितन्त्र हो भनी यहाँ लेखिएको छ । तर सूर्यसिद्धान्तसंग सुमतितन्त्रका ग्रहभगणहरु नमिलेकोले सुमतितन्त्रको आधारग्रन्थ सूर्यसिद्धान्त अर्कै रहेछ भन्ने देखिन आउँछ । यस कारण यसको खोजी गर्नुपरेको छ ।
(लिच्छविसंवत्को निर्णय पृष्ठ १६९—१७०)
पण्डित माथि सोझिने प्रश्न यस प्रकार छन्
१.सुमतितन्त्रमा भएको सूर्यसिद्धान्त अर्को सूर्यसिद्धान्तसंग मिल्दैन अतःयसको आधारग्रन्थ के हो खोजी गर्नै बाँकी रहेछ भने पछि खोज्ने काम कसले गर्छ त अब?
२.लिच्छविसंवत्को निर्णय गर्दा चाँगुको अंशुवर्माको अभिलेखको मिति र सहोत्तरतन्त्रको मितिको गणनागर्दा सूर्यसिद्धान्तानुसारी भनेर दिइएको सुमतितन्त्रको सूर्यसिद्धान्त होइन भनेर पण्डित आफैले सकारे पछि सुमतितन्त्र नभेटिएको भए हामीलाई लिच्छविसंवत्को निर्णय गर्न ज्यादै गाह्रो पथ्र्यो भनिएका कुरा सरासर झूठ ठहरिएन त ?
(च) सुमतितन्त्र र लिच्छविसंवत्को निर्णय वेद होइन
कतिपय लेखकहरुले वेद सरह मानेर मुक्तकण्ठले तारिफ गर्दै आएको यसप्रकार छ
१. अहिले आएर सुमतितन्त्रनामक ज्योतिषसम्बन्धी हस्तलिखितग्रन्थको प्राप्तिले अझ पहिलो संवत् शकसंवत् नै हो भन्ने कुरामा कतैबाट शङ्का गर्ने बाटो छैन ।
२.लिच्छिविकालिक अभिलेखहरुमा मानदेव प्रथमको समयदेखि नै शकसंवत्को प्रचलन भएको पाइन्छ । शकसंवत्को पहिलो उल्लेख चाँगुनारायणको गरुडध्वजको अभिलेखमा ३८६(वि.सं ५२२) आएबाट थाहा हुन्छ । लिच्छविकालिक अभिलेखहरुबाट शकसंवत् ४९८(वि.सं ६३३)देखि नेपालमा एउटा नयाँ संवत् चलेको देखिन्छ । त्यो संवत् मानदेवसंवत्को नामबाट व्यवहृत थियो भन्ने कुरा सुमतितन्त्रनामक एउटा प्राचीन ज्योतिषसम्बन्धी ग्रन्थबाट बुझ्न सकिन्छ ।
यो भनाइ कसको हो भन्नु भन्दा जोजस्ले अन्धाधुन्ध तवरले पछ्याए उनीहरु सबैको धारणा यसरी नै विकास भइआएको छ ।
पर्वसुधार राष्ट्रिय कार्यान्वयन समिति नेपाल२०६९ बाट प्रकाशित दोस्रो अंकमा दिइएको कुरा यसप्रकार छ
१…….अधिकमासको औचित्य एवं स्वरुपको बारेमा शास्त्रीय मतको आधारमा आधिकारिक निर्णय दिनुहुने प्रख्यात इतिहासविद् ज्योतिषशास्त्रका प्रकाण्ड विद्वान प्रा. नयराज पन्तज्यूले आफनो लिच्छविसंवत्को निर्णयनामक पुस्तकमा पाँचपाँच वर्षमा दुईदुई वटा मलमास मान्दा ३५ वर्षमा १४ वटा मलमास हुन्छन्,तर सौरमान र चान्द्रमानको समन्वयका लागि ३८ वर्षमा १४ वटा मात्र मलमास मान्नुपर्छ त्यसरी एउटा मलमास त्याग गरिदियो भने सौरगणना र चान्द्रगणना ट्वाक्क मिल्न आउँछ भनी स्पष्ट लेख्नुभएको छ ।
(पर्वसुधारका आधारहरु, पृष्ठ ५)
२.करिव १५०० वर्ष अगाडिसम्म प्रयोग हुनेवेदान्त ज्योतिषमा पनि ३८ वर्षमा १४ वटा मात्र अधिकमास मानेर एक अधिकमासलाई छाड्ने प्रथा रहेको प्रमाण ज्योतषाचार्य पूज्यगुरु स्व.नयराज पन्तज्यूको लिच्छविसम्वत्को निर्णय नामक पुस्तकमा पनि उल्लेख गर्नु भएको हुंदा गणना मिलाउन लामो अवधिमा एक अधिकमास छोड्ने प्रचलन पहिले पनि भइसकेको पूष्टि हुन आउँछ ।
(पर्वसुधारका आधारहरु, पृष्ठ ४०)
यो कुरा फुटपाथ व्यापारीले आफनो कमसल सामान ठूलठूलो स्वरले कराएर ग्राहकलाई झुक्याएर भिडाउने तरिका भन्दा एकरत्ति पनि फरक छैन ।
किनभने यो वेदा· ज्योतिषको गणनाअनुसार भनेर दिइएको कुरा हो । स्वयं नयराज पन्तले वेदा·ज्योतिषमा एकवर्षमा ३६६ दिन हुन्छ भनिएको छ वास्तवमा एक वर्षमा ३६५ दिन १५ घडी जति मात्र हुन्छ भनेर उनी स्वयंले भन्नुको मतलव वेदा·ज्योतिष ठीक छैन भनेको हो । फेरि वेदा·ज्येोतिषले ५वर्षमा दुईवटा अधिमास पर्छ भन्छ तर संवत् ३१ र संवत् ३४ को अभिलेखमा अधिमास परेको प्रत्यक्ष प्रमाण अभिलेख नै छन् यो कुरा उनले नकारेर नकार्न सकिने कुरा होइन । फेरि आफैले वार सहित भएको चाँगुको अंशुवर्माको अभिलेख र सहोत्तरतन्त्रको पुष्पिका वाक्यको मिति गणना गर्दा वेदा·ज्योतिष न अपनाइकन सौरार्यब्राम्हपक्षीय तिथि गणित प्रयोग गरेको जग जाहेर छ ।
ध्यानाकर्षण गर्न सकिन्छ स्वर्गीय नयराज पन्तलाई स्व.नयराज पन्तज्यू भनेर भन्नु अचाक्ली तारिफ ठहर्छ भने उनी स्वयंले परित्याग गरेको सिद्धान्त आकर्षित गर्नु नाजायजको पनि घोर पराकाष्ठा भएन र?
निष्कर्ष
फुटपाथका व्यापारीको सरोकार भनेको जसरी हुन्छ आफनो सामान बिकाउने मात्रै हुन्छ । ग्राहकहरुलाई उपयोगी होस् वा नहोस् उनीहरुलाई मतलव हुँदैन । पछि ग्राहकहरुले ठग भन्ला भन्ने डरको पनि कुनै मतलव हुँदैन । ग्राहकले सामान फिर्ता ल्याएछ भने पनि फिर्ता लिंदैन । ठीक त्यस्तै भने झैं पण्डितहरुले पनि सुमतितन्त्र र वेदा·ज्योतिषको नाम भजेर आफनो कुरा बिकाएर आएको मात्र हो त्यो भन्दा बढी केही पनि होइन । फूटपाथको सामान किन्ने वा नकिन्ने बिचार त ग्राहकले गर्ने हो भने झै पण्डितहरुले त्यसरी बिकाएर आएको कुरा ग्रहण गर्ने कि नगर्ने भन्ने पनि नितान्त पाठकहरुको तजबिजमा भर पर्ने कुरा हो ।
फूटपाथका व्यापारीलाई हैट् यस्तो काम नलाग्ने सामान पनि बेचेर बस्ने हो भन्यो भने उसले टेर्न पनि टेर्दैन काग कराउँदै गर्छ पीना सुक्तै गर्छ भने झैं चूपलागेर बस्छ । त्यस्तै गरि पण्डितहरुले पनि आफनो कृतिमा भएको त्रुटि सच्याउन पनि सच्याउँदैन , त्यतिमात्र होइन अझ कानको छेउले पनि सुन्न चाहँदैन । यो कुरा पनि पाठकहरुले बुझेका छन् र भविष्यमा अझ बुझैदै मनन गर्दै जानेनै छ भन्ने लागेको छ । त्यसरी आफैबाट स्थापित मान्यतासंगै खुल्लेआम विरोधाभास हुने त्रुटि नै त्रुटिले भरिएको पुस्तकलाई वेद सरह आदर्श मानेर पठनपाठन गरेर आउनुको के औचित्य रहला ? यस कारण अहिलेसम्म पठनपाठन भई गरी आएकाहरुले नै पुनःविचार गरुन् ।
नेपालको गौरवमय इतिहासको लागि सुमतितन्त्र वेदा·ज्योतिष उपयोगी छँदै छैन र इतिहासले त्यसलाई आत्मसात् गरेको पनि छैन । त्यसरी सुमतितन्त्रमा के कुराको विशेषता छ तथा लिच्छविसंवत् को निर्णय भनेर कृति पाठकहरुको लागि पस्केर आएको जुन छ त्यसको कुनै आसय सम्म पनि बुझ्ने प्रयास नगरीकन हावाको भरमा फोस्रा प्रशंसाहरु भइ आएको देखिनु साँच्चै दुःखद लागेको छ ।