
काठमाडौं — २०८३ भदौ। विश्व साक्षरता दिवसको सन्दर्भमा आयोजित साक्षरता सप्ताहअन्तर्गत संस्कृति इन्टरनेसनल स्कुलका कक्षा ८ का विद्यार्थीहरूले चर्चित कवि तथा बालसाहित्यकार कृष्ण बाउसेसँग साहित्यिक साक्षात्कार गरेका छन्। विद्यार्थीहरूलाई साहित्य, पठन र सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कवि बाउसेले आफ्नो साहित्यिक यात्रा, लेखन अनुभव र सिर्जनाका विविध पक्षबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभयो।
वि.सं. २०१३ असोज ५ गते तेह्रथुममा जन्मनुभएका कवि बाउसे नेपाली साहित्यमा कविता, बालकविता र मुक्तक विधामा निरन्तर सक्रिय साहित्यकार हुनुहुन्छ। उहाँका ‘जस्तो उद्घोष गर्छु’, ‘अज्ञात यात्राका पदचिह्नहरू’, ‘देशको बिन्तीपत्र’, ‘नानीको रहर’, ‘माथि माथि चढ्ने हो’, ‘पढ्नै रमाइलो’, ‘हाम्रो चिनारी’, ‘अक्षरका पुतली’, ‘कलम र कापी’ तथा ‘पर्याप्रेमको गुञ्जन’ लगायतका कृतिहरू प्रकाशित छन्। विशेषगरी बालसाहित्य, प्रकृति र पर्यावरणका विषयलाई आफ्ना सिर्जनामा प्राथमिकता दिँदै आउनुभएका बाउसेले साहित्यलाई बालबालिकाको कल्पनाशक्ति, संवेदनशीलता र सिर्जनशीलता विकास गर्ने महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गर्नुभयो। अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले साहित्य, लेखन तथा उहाँका सिर्जनासँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए भने कवि बाउसेले आफ्ना अनुभव र विचारमार्फत ती जिज्ञासाको उत्तर दिनुभयो। प्रत्यक्ष संवाद र प्रश्नोत्तरले कार्यक्रमलाई थप रोचक र जीवन्त बनाएको थियो।
साहित्य सप्ताहको अवसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई पुस्तक र पाठ्यक्रमभन्दा बाहिरको साहित्यिक संसारसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गरेको थियो। शब्द, सिर्जना र साहित्यका माध्यमबाट विद्यार्थीहरूले नयाँ कुरा जान्ने, प्रश्न गर्ने र आफ्ना विचार व्यक्त गर्ने अवसर पाए। कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक अमित मन्त्रीले कवि कृष्ण बाउसेलाई मायाको चिनो प्रदान गर्दै उहाँप्रति सम्मान व्यक्त गर्नुभयो। विद्यालयले यस्ता साहित्यिक संवाद तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीमा पठन संस्कृतिको विकाससँगै साहित्यप्रतिको रुचि, कल्पनाशक्ति र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।








