
चर्चामा पुस्तक
अर्दली
रामेश्वर फुयाल वामपन्थी राजनीतिमा सक्रिय छन् । पूर्वजनप्रतिनिधिको रुपमा विभिन्न जिम्मेवारी समेत वहन गरिसकेका उनका प्रस्तुत कविताकृतिमा ५८ थान कविताहरु समावेश गरिएका छन् । हरेक कवितामा चित्र पनि प्रस्तुत गरिएको छ । सामाजिक जागरण,सांस्कृतिक रुपान्तरण,भुइँमान्छेका कथाव्यथा उनका कविताका विषय बनेका छन् । राष्ट्र र राष्ट्रियता उनका कविताका विषय हुन् । वर्तमान राजनीतिका प्रदुषित दुव्र्यवस्था र विद्रुप चित्रप्रति उनले कवितामार्फत कटाक्ष गरेका छन् । कर्ममा विश्वास गर्ने कवि फुयाल विश्वमा शान्ति कायम होस भन्ने कामना पनि गर्छन् । नारीमुक्ति र सामाजिक विभेद विरुद्ध कवितामा जेहाद छेड्छन् । पर्याचेतमा रमाउँछन् । मानवतावादी रामेश्वर विभिन्न मानवतावादीहरुको स्मरण र तिनका योगदानमा कविता कोर्छन् । समग्रमा दृष्टिचेत गर्दा कविका कविता विचार र यथार्थजनित लाग्छन् । वैचारिक हिसावले वलिष्ठ छन् कविता । निष्कर्षमा भन्नुपर्दा समाज परिवर्तनका हिमायती कविका कविता कविजस्तै छन् ।
सुन्दर बिम्ब र प्रतिकको प्रयोग,सरल र सुलोलित भाषाले कविता पठनीय लाग्छन् ।
अर्दलीलाई विष्णुप्रसाद फुयालले प्रकाशनमा ल्याएका हुन् । यसको मूल्य रु.३००। राखिएको छ ।
सनम
सञ्जु अधिकारीले लेखेको फरक क्षमताकी छोरी हुर्काउन एक पिताले गरेको सङ्घर्षको कथा हो उपन्यास । छोरीलाई हुर्काउने क्रममा पिताले गरेको त्याग,समर्पण र सङ्घर्षको कथा बुनिएको छ । यसमा बाबुले भोग्ने मानसिक,सामाजिक र व्यवहारिक आरोह अवरोह पनि छ । मानवीय संवेदना,सामाजिक उत्तरदायित्व र आत्मीय सम्बन्धको धरातलमा रचिएको जीवन्त कृति हो यो । पिताको निश्छल प्रेम र त्यागलाई केन्द्रीय विषय बनाइएको जस्तो देखिन्छ । यसले फरक क्षमता भएका व्यक्तिप्रति हाम्रो समाजको दृष्टिकोण के छ भन्ने बताउँछ । पाठकलाई सामाजिक चेतना बुझ्न सहयोग गर्छ । उपन्यासमा बाबु छोरीको पवित्र सम्बन्धलाई भावुक तर सशक्त रुपमा उतारिएको छ ।
उपन्यास केवल एउटा पारिवारिक कथा मात्र लाग्दैन् । कृति मानवीय सम्बन्ध,निस्वार्थ प्रेम र सङ्घर्षको दस्तावेजको लाग्छ । उपन्यासको भाषाशैली सरल छ,काव्यिक चेत पनि उपन्यासमा प्रष्ट देखिन्छ ।
सनमलाई विएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५९९। रहेको छ ।
अप्प दीपो भव:
अशोक सिलवालको कैलाश मानसरोवर यात्राको फेहरिस्त हो कृति । तिब्बतको कैलाश कोरा गर्दाका अनुभव र अनुभुति यहाँ पढ्न पाइन्छ । कृतिमा विभिन्न १३ शिर्षकमा लेखिएका नियात्राहरु पढ्न पाइन्छ । झट्ट हेर्दा पत्रकारको रिपोर्ट जस्तो,कता कता कथा पढेजस्तो,कता कता आफैंले यात्रा गरेजस्तो लाग्छ । तथ्यको सत्यापन गरिएको कृतिमा निजात्मक अनुभूति छ । भोगाइलाई पर्गेलिएर कृति आएको छ । भाषा सरल,सुविचारित र सुबोध्य छ । रोचक छ कथाजस्तो,राष्ट्रियता बोकेर हिंडेका स्रष्टाले आध्यात्मिक संसारमा कृतिभर विचरण पनि गराउँछन् । ऐतिहासिक वृतान्त पस्किन्छन् । कैलाश मानसरोवर वरिपरिको प्रकृतिसँग पाठकलाई साक्षात्कार गराउँछन् । प्राकृतिक सुन्दरताको वर्णनले पाठकलाई जाउँ जाउँ गराउँछन् । त्यहाँका विभिन्न तथ्यवोध पनि गराउँछन् ।
अप्प दीपो भव: लाई ज्योती बस्नेतद्धारा प्रकाशनमा ल्याइएको हो । यसको मूल्य रु.५००। रहेको छ ।
