
काठमाडौं । रसुवा जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ । यहाँका १३ वटा पुल बुधबारको भीषण बाढीले बगाएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोशी बाढीले कुल ४१ पुलमा क्षति पुगेको छ । रसुवा बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
रसुवामा मात्र ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बन्दा पूरै जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको हो ।
मन्त्रालयले अबको प्राथमिकता पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने रहेको छ । पृथ्वी राजमार्गमा १३ किलोमिटर बराबर लेदोले पुरिएको छ ।
सडक विभागको तथ्यांक अनुसार नेपाल–चीन सीमा नाकास्थित मितेरी पुलदेखि मुग्लिनको पुरानो सस्पेन्सन पुलसम्म प्रभावित बनेका छन् । मितेरी पुल पूर्णरूपमा बगेको छ भने मुग्लिन पुल जोगिएको छ ।
रसुवामा टिमुरेस्थित दुई बेलीब्रिज बगाएको छ । रसुवाको भोटेकोशी पक्की पुल बगेको छ । रसुवामै चिलिमे पक्की पुलसमेत बाढीको शिकार भएको छ । रसुवाकै स्याफ्रबँेसीमा हाइड्रोपावर बेलिब्रिज बगेको छ । सोही स्थानको पक्की पुलसमेत बाढीका कारण बगेको सडक विभागको तथ्यांक छ ।
सुवामै हाकु प्रथम र हाकु द्वितीय बेलिब्रिज बगेका छन् । माथिल्लो त्रिशूली हाइड्रोमा बनेको बेलिब्रिज र मैलुङ बेलिब्रिज समेत पूर्णरूपमा बगेको छ । रसुवा मैलुङमा त्रिशूली ३ ए ड्याम नजिकको पक्की पुलसमेत बगेको छ ।
त्रिशुली ३ ए ड्याम २ नजिकको पक्की पुलसमेत बगेको छ । खाल्टेस्थित रसुवा-नुवाकोट सीमाको भोटेकोशी नदी पुलसमेत पूर्णरूपमा बगेको छ । साथै, बेत्रावतीको पुरानो र नयाँ दुवै पक्की पुल बाढीले बगाएको छ ।
नुवाकोटतर्फ त्रिशूली तुप्चेस्थित पक्की पुल पूर्णरूपमा बगेको छ । त्रिशूली बजारको पुरानो र नयाँ दुवै पक्की पुल बाढीको चपेटामा परेका छन् । सिमचौरस्थित त्रिशूली नदीको पक्की पुलसमेत पूर्णरूपमा बगेको छ ।
सिमचौरस्थित त्रिशूली नदीको पक्की पुलसमेत पूर्णरूपमा बगेको छ ।
देवीघाटस्थित झोलुङ्गे पुल बगेको छ । देवीघाटस्थित त्रिशूली नदीको पक्की पुलसमेत बगेको छ । देवीघाटको तादी खोलाका पुरानो र नयाँ दुवै पक्की पुल बगाएको छ ।
त्यस्तै श्रीखालीस्थित त्रिशूली नदीको पुलसमेत बाढीमा परेको छ । बुद्धसिंहघाटस्थित त्रिशूली नदीमाथिको पुल बगेको छ । रातमाटेको त्रिशूली नदीमाथिको पुलसमेत बाढीको चपेटामा परेको छ । केउरेनीस्थित त्रिशूली नदीमाथिको पुल पनि बाढीले बगाएको छ ।
ह्यामलेट रिसोर्ट नजिकै त्रिशूली नदीमाथिको पक्की पुल क्षतिग्रस्त बनेको छ । धादिङकै जरे बगैँचास्थित त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको छ ।
यस्तै धादिङ घाटबेँसीस्थित त्रिशूली नदीमाथिको पुल बगेको छ ।
